बेनी–दरवाङ सडकः मध्यपहाडी लोकमार्गको विकल्प !
- ६ चैत्र २०७३, आईतवार
- कमल खत्री
- 7421 पटक पढिएको
म्याग्दी, ७ चैत्र। पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले म्याग्दीलाई समेटिएको छैन् । यद्यपि यस लोकमार्गको बागलुङ खण्डको विकल्पको रुपमा म्याग्दीको बेनी–दरबाङ हुँदै ढोरपाटन जोड्ने सडकलाई लिइएको छ । मध्यपहाडी लोकमार्गको सडक विस्तार बेनी–दरबाङ हुँदै हुनुपर्ने भएपनि जिल्लाको केन्द्रिय तहमा पहुँच पुग्न नसक्दा यसअघि उक्त सडकको म्याग्दी हुँदै विस्तार हुनुपर्ने सडक अन्यत्रै सारिएको थियो । ०६२ सालमा बेनीदेखि दरबाङसम्म पुगेको मोटरबाटोको ट्रयाक धारापानी, ताकम हुँदै अहिले मुना सम्म पुगिसकेको छ । पश्चिम म्याग्दी क्षेत्रमा विस्तार गर्ने गरि तोराखेतसम्म पुगेको सडकलाई तत्कालिन माओवादी पार्टीले शसस्त्र द्धन्द्धकै समयमा त्यहाँबाट विस्तार गरि दरबाङसम्म पु¥याएको थियो ।
‘‘ द्धन्द्धकै समयमा माओवादीले विकासका कामहरुहरु पनि संगसंगै अगाडि बढाएको थियो, दरबाङसम्म सडक पु¥याउनका लागि जनताहरुबाटै झण्डै ३० लाख चन्दा संकलन गरि खर्च गरिएको थियो, ’’– माओवादी केन्द्रका जिल्ला संयोजक समेत रहेका पूर्व साँसद गोविन्द पौडेलले भने । अहिले मुना सम्म पुगेको सडकलाई ढोरपाटन हुँदै बागलुङको बुर्तिबाङमा जोड्क सकेमा मध्यपहाडि लोकमार्गको बागलुङ खण्डको बैकल्पिक मार्गको रुपमा यो सडकलाई प्रयोगमा ल्याउन सक्ने सम्भावना रहेको पूर्वसाँसद पौडेल बताउँछन् ।
मालढुंगादेखि बागलुङ हुँदै बुर्तिबाङसम्मको सडकको दुरीभन्दा बेनी–दरबाङ–मुना–ढोरपाटन हुँदै बुर्तिबाङ जोडिने दुरी झण्डै २० किलोमिटरले कम हुने भएकाले मध्यपहाडि लोकमार्गका सवारी साधन म्याग्दी हुँदै ओहोर दोहोर गर्ने वातावरण सृजना गर्न सडकलाई सोही महत्वका साथ ट्याक विस्तार र स्तरोन्नती गर्नुपर्ने पौडेलको भनाई छ। मुनादेखि ट्रयाक विस्तार गरि ढोरपाटन हुँदै बुर्तिबाङमा मध्यपहाडी लोकमार्गसंग जोडिन्छ भने ढोरपाटनबाट ट्रयाक विस्तार गरि रुकुम सम्म पनि जोडिने गरि योजनाहरु बनाइएको छ । हाल सडकको ट्रयाक विस्तार भएको मुना सम्म नै हिउँदको समयमा सवारी साधनहरु सञ्चालनमा आउने गरेको भएपनि सडकको मर्मत र स्तरोन्नती नहुँदा बर्षादको समयमा नियमितजसो सवारी अबरुद्ध हुने गरेको छ ।
भौगोलिक रुपमा जिल्लाको पश्चिम क्षेत्रका दर्जनबढी गाविसका बासिन्दाहरु लाभान्वित हुने र दिर्घकालिन रुपमा राष्ट्रिय महत्व राख्ने भएपनि आबश्यक बजेटको अभाबमा यो सडक अहिलेसम्म ओझेलमा परिरहेको छ । लोकमार्गकै बैकल्पिक सडकको रुपमा विकास गर्न सकिने सम्भावना हुँदाहूँदैपनि अहिलेसम्म केन्द्रिय स्तरबाट यस सडकलाई महत्वका साथ नहेरिएको स्थानीयबासीको गुनासो छ । सडक विस्तारको लागि भौगोलिक भूबनोटको सहजता र दुरिको हिसाबले पनि मध्यमहाडी लोकमार्ग म्याग्दीबाटै विस्तार हुनुपर्ने देखिन्छ । तत्कालिन समयमा केन्द्रिय पहुँच नपुगेकै कारण लोकमार्गबाट म्याग्दीलाई हटाउँदा सिंगो जिल्लालाई नै अन्याय भएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर मिनबहादुर श्रेष्ठले बताए ।
हालै गृहगाउँ सिंगा तातोपानीमा आयोजित कार्यक्रममा उनले बेनी–दरबाङ–धारापानी– ताकम–मुना हुँदै ढोरपाटन सडकलाई बागलुङको बुर्तिबाङमा जोडेर सडकको स्तरोन्नती र कालोपत्रे गर्न सके मध्यपहाडि लोकमार्गका सवारी म्याग्दी हुँदै ल्याउन सकिने बताएका थिए । ‘‘ लोकमार्गले म्याग्दीलाई नछुँदा धेरै घाटा भएको छ, छोटो दुरी हुँदा हुँदै पनि प्राथमिकतामा नपर्नु दुखत हो, अब आबश्यक बजेटको व्यवस्थापन हुन्छ, मध्यमहाडिको बैकल्पिक मार्गकै रुपमा यसलाई विकास गर्नुपर्छ, उपाध्यक्ष श्रेष्ठले बताए । उनले चालु आर्थिक बर्षमा यस सडक खण्डको विभिन्न योजनामा विनियोजन भएको बजेटको प्रभावकारी कार्यान्वयनमा जुट्न जिल्ला स्थित सरोकारवालाहरुलाई आह्वान समेत गरेका छन् ।
यसै बर्ष बेनी–दरवाङ–धारापानी सडकखण्डको कालोपत्रे र स्तरोन्नतिमा ८० करोड बजेट बिनियोजन भईसकेको छ । सदरमु्काम बेनी देखी दरवाङ हुदै ताकमको धारापानीसम्मको करिब २९ किलोमिटर लामो सडक स्तरउन्नती सहित कालोपत्रेका लागि अर्थमन्त्रालयले बहुबर्षिय ठेक्कामा लैजान स्वीकृती दिइसकेको छ । ‘‘ यो बहुबर्षिय योजना हो, अहिलेको बजेटले झण्डै १८ किलोमिटर कालोपत्रे हुने देखिन्छ, यद्यपि यो योजनाको प्रकृयागत कामहरु भईरहेको छ, त्यो पुरा भएपछि स्टीमेट सहित ठेक्का प्रकृया अगाडि बढ्छ,’’– सडक डिभिजन कार्यालय बागलुङका इन्जीनियर चेन्द्रेश्वर शाहले भने । निकै महत्वको पश्चिम म्याग्दीको ‘लाइफलाइन’ मानिएको यो सडक खण्डलाई अहिले निकै चासोका साथ हेरिन थालिएको छ ।
यो बर्ष सडक बिभागले डिभिजन कार्यालय बागलुङ मार्फत नै कार्यान्वयन गर्ने गरि दरबाङ–देविस्थान–ताकम–ढोरपाटन जोड्ने सडकमा रु ४ करोड ८ लाखको योजना सञ्चालन गर्दै छ । पहिले रु ८ लाख मात्रै विनियोजन भएर आएपनी हालै ४ करोड थप बजेट आएको सडक डिभिजन कार्यालयले जनाएको छ । सो बजेटलाई मुनादेखि अगाडी नयाँ ट्रयाक निर्माणमा परिचालन गर्नका लागि साइट भिजिट गरि स्टीमेट गरिसकेको र छिट्टै विज्ञापन प्रकाशन गरि ठेक्का प्रकृया सुरु गरिने इन्जीनियर शाहले बताए । त्यस्तै जिल्ला विकास समिति मार्फत समेत दरबाङ देखि मुना हुँदै ढोरपाटन जोड्ने सडकलाई नै लक्षित गरि दुई योजना कार्यान्वयनको चरणमा रहेका छन् ।
जिविसबाट बेनी–दरबाङ–बिम–ताकम–लुलाङ–जलजला सडक योजनामा बिनियोजीत रु ६० लाख बजेटबाट म्याग्दीखोलादेखि ताकम सम्म नयाँ ट्रयाक निर्माण गरिने प्रमुख जिल्ला ईन्जिनियर शिबमान श्रेष्ठले बताए । ‘‘ अर्को शिर्षकमा पनि रु ६० लाख नै बजेट छ, त्यसलाई पनि दलिय सहमतीमा शंसोधन गरेका छौँ, योजना स्विकृत भएर आयो भने यसै सडकमा नै उक्त बजेट पनि परिचालन हुन्छ ’’ जिल्ला इन्जीनियर श्रेष्ठले भने । बहुआयामिक सडक भएकाले नयाँ सडक विस्तार संगै पहिलेको सडकको स्तरोन्नतीमा पनि जोड दिइएको श्रेष्ठको भनाई छ ।
लामो समयदेखि कच्चि र जोखिमपूर्ण अबस्थामा सवारी सञ्चालन हुदै आएको बेनी–दरबाङ सडकमा यो बर्ष भने धेरै योजनाहरु सञ्चालित छन् । सडकखण्ड अन्तरगत दुखु खोलामा मोटरेबल पुल निर्माण कार्य सुरु भएको छ । जिल्ला विकास समितिले दुई करोड २५ लाख ६० हजार ८२३ रुपैयाको लागतमा २२ मिटर लामो मोटरेबल पुल निर्माण सुरु गरेको हो । ठेक्का सम्झौता गरेको स्वच्छन्त गौचन निर्माण सेवा जेभीले कार्यक्षेत्रमा काम सुरु गरेको जिल्ला प्राबिधिक कार्यालयले जनाएको छ ।
वि.स २०६७ मा सो स्थानमा मोटरेबल पुल निर्माण सुरु भएपनि डिजाईन गलत भएपछि रोकीएको थियो । पुरानो ठेक्का रद्द र पून सर्वेक्षण गरेर पुल निर्माण हुन लागेको हो । त्यस्तै बेनी–दरवाङ सडक अन्तरगत फापरखेत र लाम्पाटाको पहिरो नियन्त्रणका लागि तिन करोड ९३ लाख रुपैयामा ठेक्का सम्झौता भैसकेको छ । यि योजनाहरु बनेपछि बेनी–दरवाङ सडकमा यातायात आवागमन सहज हुने अपेक्षा गरिएको छ ।
बेनी–दरबाङ सडक सुचारु भएपछि म्याग्दीलाई मात्रै होइन यसले बागलुङको पश्चिम भेगका नागरिकलाई समेत सुविधा पुगेको छ । दरबाङदेखि ओखरबोट–सोले हुँदै बागलुङको तमानसम्म सडक पहुँच विस्तार भइसकेपछि तमान र लामेलाका बासिन्दाहरुले समेत यसै सडकलाई प्रयोग गर्दै आएका छन् । उनीहरुले आफ्नै जिल्लाको सदरमुकाम जान समेत सोले – दरबाङ–बेनी हूँदै बागलुङ सदरमुकाम जाने भएकाले यो सडक उच्च महत्वको रहेको जनप्रिय मावि दरबाङका प्रअ दिवाकर सुवेदीले बताए ।
अहिलेपनि म्याग्दीको बेनी र दरबाङबाट तमान क्षेत्रमा यातायात सेवा सुचारु हुदै आइरहेको छ । यसले पनि यो सडक खण्ड म्याग्दीको लागि मात्रै नभई बहुजिल्लाको लागि उपयोगी र आबश्यक छ भन्ने कुरालाई पुष्ट्याई गर्छ । त्यसैले मध्यपहाडी लोकमार्गको बैकल्पिक मार्ग र रुकुम सम्म जोडीने पश्चिम म्याग्दीको लाइफलाइन मानिएको यो सडकको ट्रयाक विस्तार संगै सडकको मर्मत, स्तरोन्नती र कालोपत्रेका लागि आबश्यक बजेटको व्यवस्थापन र योजना कार्यान्वयनमा जुट्नुपर्ने देखिन्छ ।
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l
दर्बाङ देबिस्थान सिस्नेरी लाम्मेला तमान बोङादोभान हुँदै बुर्तिबाङ जोदिदा झन सजिलो पो हुदो रैछ । सुबिधा सबैको रोजाइ हो सबैको भलो होस बिकासको काममा सबैले हाते मालो गर्न सिकौ