बेनी-जोमसोम सडक अवरुद्ध,पर्यटक र तिर्थयात्री मर्कामा
- ६ चैत्र २०७३, आईतवार
- 3133 पटक पढिएको
म्याग्दी लेतेमा थासाङ गाउँपालीकाको केन्द्र स्थापना गर्नुपर्ने माग गर्दै स्थानीयबासीन्दाले जोड्ने बेनी–जोमसोम सडकमा यातायात सेवा शनिवारदेखि अवरुद्ध पारेका छन् ।
स्थानीयको अवरोधका कारण मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोडने यातायात सेवा अवरुद्व भएको हो । लेतेका बासिन्दाले घाँसादेखि कोवाङको सीमा क्षेत्रसम्मको सडकमा सवारी सञ्चालनमा रोक लगाउँदा मुस्ताङ भ्रमणमा आएका पर्यटक र तिर्थयात्री समस्यामा परेका छन् ।
जिल्लाबाट सर्वसहमतीमा लेतेलाई केन्द्र बनाउन सिफारिस गरीएपनि स्थानीय पुनसंरचना आयोगको सिफारिसमा सरकारले प्रकाशन गरेको राजपत्रमा कोवाङ केन्द्र उल्लेख भएपछि कमजोरी सच्चाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएको पूर्व गाविस अध्यक्ष बुद्धीप्रसाद शेरचनले बताए ।
लेते, कुञ्जो, कोवाङ र टुक्चे गाविसलाई थासाङ गाउँपालीकामा समावेश गरिएको छ । घाँसा, कुञ्जो, पैरोथाप्ला तथा टुकुचे सबै बस्तीलाई पायक पर्ने, पर्याप्त पूर्वाधार भएकाले लेतेमा केन्द्र बनाउनुपर्ने अध्यक्ष शेरचनको भनाई छ ।
उनीहरूले वाणिज्यमन्त्री समेत रहेका सांसद रोमी गौचन थकाली, सांसद श्रीमाया थकाली, महेन्द्र शेरचन, जिल्ला समन्वय समिति, स्थानीय प्रशासन र राजनीतिक दलहरूलाई मागको सुनुवाइ गर्न दबाब दिएका छन् ।
जिल्ला समन्वय समितिका पदाधीकारीहरुले अहिले कायम भएको केन्द्र अस्थाई भएकाले निर्वाचनपछि जनप्रतीनिधिहरुले केन्द्र परिवर्तन गर्न सक्ने भएकाले आन्दोलन फिर्ता लिएर निर्वाचनको वातावरण बनाउन आग्रह गरेका छन् ।