घारखोला जलविद्युत आयोजनाको निर्माण कार्य यस्तो छ ! (फोटो फिचर)

  • २४ चैत्र २०७४, शनिबार
  • कमल खत्री
  • 3099 पटक पढिएको

म्याग्दी, २४ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा १४ मेगावाट क्षमताको घारखोला जलविधुत आयोजनाको निर्माण सुरु भएको छ । म्याग्दी आईड्रोपावर प्रा.लिद्धारा निर्माण हुन लागेको यस आयोजनाले पहुँचमार्ग विस्तारको काम सकेर बाँधस्थलदेखि सुरुङ खन्ने तयारी गरेको हो । घारको विरौटादेखि करिब ३ किलोमिटर पहुँचमार्ग (सडक) खनेको आयोजनाले सडकको स्तरोन्नतीको काम संगै निर्माण पूर्वका तयारीलाई तिब्रता दिएको आयोजनाका जनसम्पर्क अधिकृत प्रकाशचन्द्र पौडेलले बताउनुभयो ।

आयोजनाको मुख्य कामको रुपमा हेरिने सुरुङ मार्गमा विष्फोटन कार्यको लागि नेपाली सेनाको क्याम्प राख्न आवास निर्माण भैसकेको छ । ‘‘ सडकबाट प्रभावितहरु अधिकाँशलाई मुआब्जा वितरण गरिसकेका छौँ, बाँकी केहीको पनि कागजी प्रकृया पुगेपछि उपलब्ध गराउँछौँ, निर्धारित समयमै आयोजनाको निर्माण कार्य सम्पन्न गर्ने गरि काम थाल्छौँ’’–उहाँले भन्नुभयो ।

घारको कुरिला बगरमा बाँध रहने यस आयोजनामा विद्यूतगृहसम्म पानी खसाल्नको लागि ३ किलोमिटर ४८ मिटर लामो सुरुङ्गमार्ग निर्माण गरिनेछ । सुरुङ मार्ग हुँदै ल्याईएको पानीलाई करिब १२ सय मिटर पेनस्टक पाईपमार्फत पोखरेबगरमा रहने विद्युत गृहमा खसालेर विद्यूत उत्पादन हुने आयोजनाले जनाएको छ ।

आगामी तीन बर्ष भित्र निर्माण सम्पन्न हुने लक्ष्य रहेको यस आयोजनामा २ अर्ब ४१ करोड रुपैयाँ लगानी अनुमान गरिएको आयोजनाका इनजीनियर जोसेफलाल बज्रचार्यले जानकारी दिए । आयोजनाको परामर्शदाता कम्पनीको रुपमा रहेको हाईड्रो कन्सल्ट इन्जिनियरिङ र सिभिल ठेकेदारको रुपमा रहेको साउथ एशियन इन्फास्टक्चरका टिम कार्यक्षत्रमा परिचालन भैसकेको आयोजनाले जनाएको छ । यस आयोजनाले वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदनको आधारमा स्थानीय स्तरमा सामाजीक क्षेत्रमा समेत सहयोग गर्ने जनाएको छ ।

यस आयोजनाको गत फागुन पहिलो साता औपचारीक रुपमा शिलन्यास गरिएको थियो । यस आयोजनाबाट उत्पादन हुने विद्युतलाई दानामा निर्माण हुने सब स्टेशन मार्फत राष्ट्रिय प्रशारणमा जोडिन आयोजनाले जनाएको छ । यसैबिच जलबिद्युत आयोजनाको सुरुङ खन्दा खानेपानीका मुहान सुक्न सक्ने भन्दै स्थानीय स्तरबाट आवाज उठेपछि खानेपानीको मुहानको अबस्थाबारे अध्ययन गरिएको छ ।

वडा अध्यक्ष कृष्ण प्रसाद बरुवालको संयोजकत्वमा रहेको जलविद्युत सरोकार समिती र जलबिद्युत आयोजनाका इन्जिनियरहरुको टोलीले आयोजनाबाट प्रभावित समुदायभित्र रहेका खानेपानीका मुहानमा पानीको अबस्थाबारे अध्ययन गरेका हुन् ।
स्थानीयको माग बमोजिम खानेपानीको मुहानहरुमा अहिले सुरुङ निर्माण सुरु नहुँदैको स्रोतको नाप लिने र अर्को बर्ष सुरुङ खनेपछी यसै समयको नाप लिने गरि अध्ययन थालिएको वडा अध्यक्ष बरुवालले जानकारी दिनुभयो । ‘‘ हामीले पवर्तमा निर्माण सम्पन्न भएका तीन वटा जलविद्यूत आयोजनाहरुको प्रभावित क्षत्रमा समेत पुगेर अध्ययन गरि आएका छौँ, भबिश्यमा खानेपानीका मुहान भासिन सक्ने तर्फ आयोजना सचेत र जिम्मेवार बन्नुपर्छ’’– वडा अध्यक्ष समेत रहेका सरोकार समितिका अध्यक्ष बरुवालले भन्नुभयो । जलविद्युत आयोजनाको सुरुङ खन्ने क्रममा प्रभावीत क्षेत्रमा रहेका पानीका मुहानमा पर्ने सम्भावीत असर, असर न्युनीकरणका उपाय र खानेपानी आपुर्तीको विकल्पको लागि योजना बनाउन अध्ययन गरिएको बरुवालले बताउनुभयो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l