कृषकलाई गाउँमै सेवा

  • ३० फाल्गुन २०७४, बुधबार
  • 1173 पटक पढिएको

मल्लाज ३० फागुन । पर्वतको जलजला गाउँपालीका ४ फड्केढुङ्गामा बुधबार पशु स्वास्थ्य शिवीर सम्पन्न भएको छ ।गाउँपालीकाको पशु सेवा शाखाले वडा कार्यालयमा आयोजना गरेको शिवीरमा डेढ सय जना भन्दा बढी कृषक लाभान्वित भएका छन् । शिवीरबाट गाउँपालीकाको २, ३ र ४ नम्बर वडाका १६९ घरधुरी कृषकहरुले सुबिधा पाएको शाखाका प्रमुख पशु चिकित्सक बिमल शर्माले जानकारी दिनुभयो ।

एक हजार ६८४ गाई, भैसी, भेडा, बाख्रा, हाँस, कुखुराका लागि निशूल्क औषधी वितरण गरिएको शर्माले बताउनुभयो । उहाँका अनुसार कृषकहरुलाई घरदैलोमै पशु स्वास्थ्य र औषधी उपचार सेवा उपलब्ध गराई पशुपंक्षिको स्वास्थ्यप्रती सचेत बनाउने उद्देश्यले शिवीरको आयोजना गरिएको हो ।वडा अध्यक्ष भिष्म मल्लको अध्यक्षता, पशु सेवा प्राबिधिक नारायण आचार्यको सञ्चालनमा सम्पन्न भएको शिवीरको गाउँपालीकाका उपाध्यक्ष सिमा गर्बुजा पुनले उद्घाटन गर्नुभएको थियो ।

उपाध्यक्ष पुनले जलजलामा तरकारी, फलफुल, खाद्यबाली र पशुपालनको माध्यमबाट जनताको जिवनस्तर र आयआर्जनमा सुधार ल्याउने कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । कृषकको सुबिधाका लागि वडा स्तरमा परिचालीत प्राबिधिकका अलावा शिवीर सञ्चालन गरेर सेवा प्रवाह गरीने उहाँले बताउनुभयो ।गाउँपालीकाले पशु विकासको क्षेत्रमा चालु आर्थिक वर्षमा ५२ लाख ५० हजार रुपैया बजेट बिनियोजन गरेको छ । दूध, मासु, अण्डाको उत्पादन वृद्धी गरी आत्मनिर्भर बनाउने, पोषणमा सुधार, आम्दानी र रोजगारी सिर्जना गर्न सघाउ पुग्ने कार्यक्रम सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले बताउनुभयो ।

मिलनचोकमा रहेको पशु सेवा शाखा मार्फत पशुपालक कृषकहरुलाई ब्यवसायीक बनाउन, उत्पादन र गुणस्तर वृद्धी तथा बजारीकरणका लागि विभिन्न अनुदानका कार्यक्रमको समेत व्यवस्था गरिएको छ ।