मुलुकको समृद्धिको लागि हरेक स्थानीय तहमा ‘ग्राम उद्योग’ स्थापना : मन्त्री थापा (भिडियो सहित)
- १७ फाल्गुन २०७४, बिहीबार
- कमल खत्री
- 2636 पटक पढिएको
म्याग्दी १७ फागुन । महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले मुलुकको समृद्धिको लागि सरकारले ग्रामीण क्षेत्रमा उद्योग स्थापना गर्ने बताउनुभएको छ । मन्त्री बनेपछि गृह जिल्ला आउनुभएकी मन्त्री थापाले आज बेनीमा प्रेस चौतारी नेपाल, म्याग्दी शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो ।
मन्त्री थापाले स्थानीय स्रोत, साधन र शिपको उपयोग मार्फत मुलुकको समृद्धि हाँसिल गर्न सरकारले हरेक स्थानीय तहमा ‘ग्राम उद्योग’ स्थापना गर्ने निर्णय गरेको बताउनुभयो । वर्तमान सरकारले मुलुकको समृद्धि, शुसासन, विकास निर्माणलाई प्राथमिकतामा राखेको बताउँदै उहाँले जनताले अनुभुति गर्ने गरि सरकारले काम गर्ने बताउनुभयो ।
‘‘ अहिले दैनिक रुपमा हजारौँको संख्यामा युवाहरु रोजगारिको लागि विदेश जानुपर्ने बाध्यता छ, यसको अन्त्य गर्न स्वदेशमै शिपमा आधारित रोजगारि सिर्जना गर्नु प्रमुख दायित्व सरकारको रहेको छ,’’–मन्त्री थापाले भन्नुभयो । उहाँले हरेक स्थानीय तहमा सञ्चालन हुने ग्राम उद्योगले आफ्नै मुलुकमा श्रम गरि रोजगार बन्ने अवसर सिर्जना गर्नुको साथै मुलुकलाई औद्योगिकरण मार्फत आर्थिक रुपमा बलियो बनाउन सहयोग पुग्ने धारणा राख्नुभयो ।
मुलुकमा शिपयुक्त र दक्ष जनशक्ति उत्पादनको लागि हरेक प्रदेशमा प्राविधिक शिक्षाको विश्वविद्यालय स्थापना गर्ने सरकारको तयारी रहेको उल्लेख गर्दै मन्त्री थापाले प्राविधिक शिक्षाले मात्रै रोजगारीको शुनिश्चितता गर्न सक्ने बताउनुभयो ।
‘‘ अहिले शिक्षामा भएको लगानी अनुसार उपलब्धी हाँसिल हुन सकिरहेको छैन्, हरेक बर्ष शैक्षिक वेरोजगार हुने संख्या बढीरहेको छ, मुलुकका हरेक क्षेत्रमा आवश्यक उपयुक्त जनशक्ति तयार गर्ने र स्वरोजगार बनाउन प्राविधिक शिक्षामा जोड दिनुपर्ने आबश्यक छ,’’–मन्त्री थापाले भन्नुभयो । बाम गठबन्धनको बहुमतबाट बनेको वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार प्रति जनताको ठुलो आसा र भरोसा रहेको बताउँदै उहाँले संविधानको मर्म र निर्वाचनमा घोषणापत्र मार्फत जनतासामु गरिएका प्रतिबद्धता अुनसार सरकारले आफ्नो निति तथा कार्यक्रम तयार गर्ने बताउनुभयो ।
एक फरक प्रसंगमा मन्त्री थापाले म्याग्दी पर्यटन, जलविद्यूत, जडिबुटी, कृषि, पशुपालन, लगायतको क्षेत्रमा सम्भावनायुक्त क्षेत्र रहेकाले यहाँकोे विकासमा आफुले सक्दो पहल गर्नेे प्रतिबद्धता जनाउनुभएको थियो ।
मन्त्री थापाले बजेट कार्यान्वयनको लागि स्थानीय सरकार र प्रदेश सरकारलाई क्रियाशिल बनाउँदै विकास निर्माणमा हुने अनियमितता, अपारदर्शीता र ढिलासुस्तीलाई सरकारले कडाईका साथ नियन्त्रण गर्ने बताउनुभयो । प्रेस चौतारीका कार्यबहाक अध्यक्ष केपी सापकोटाको अध्यक्षता, कोषाध्यक्ष अमित विश्वकर्माको स्वागत र सचिब प्रताब बानियाँको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l