पर्यटक पर्खदै प्राकृतिक भ्युटावर ‘ पर्यटकीय बेलढुंगा’ (भिडियो सहित)

  • १४ फाल्गुन २०७४, सोमबार
  • कमल खत्री
  • 5895 पटक पढिएको

म्याग्दी, १४ फागुन । बस्तीको शिरमा अग्लो डाँडो । डाडाँमाथि प्राकृतिक रुपमै बनेको भ्यु टावर । घना जंगलको बिचमा रहेको प्राकृतिक भ्युटावरबाट दृष्य अवलोकन गर्दा मन खुसीले फुरुङ्ग हुने गर्छ । बेनी नगरपालिका–३ मुसुङ गाउँको शिरमा रहेको पर्यटकीय ‘बेलढुंगा’ मा पुग्दा त्यहाँको प्राकृतिक सौन्दर्यले सबैलाई लोभ्याउने गरेको छ ।

मुसुङ र बागलुङको काठेखोला गाउँपालिकाको ओखलेको सिमानामा रहेको बेलढुंगा हिमशृङ्खला, धौलागिरि क्षेत्रका बस्ती एवम प्राकृतिक भू–बनोटलाई एकैठाउँबाट अवलोकनको लागि उत्तम मानिन्छ । समुन्द्री सतहदेखि ३ हजार मिटर उचाईमा घना जंगलको बिचमा बेल आकारमा बनेको पहाडको भ्यु टावरबाट धौलागिरि र अन्नपूर्ण रेञ्जका आधा दर्जन बढी हिमशृङखलाहश्रुलाई अवलोकन गर्न सकिने बेनी गनरपालिका–३ का वडा सदस्य रत्न बहादुर जिसीले बताउनुभयो ।

यहाँबाट हिमशृङ्खलासंगै म्याग्दी, पर्वत, बागलुङ जिल्लाका करिब ३ दर्जन गाउँबस्तीहरुलाई एकै ठाउँबाट अवलोकन गर्न सकिन्छ । ‘‘ विभिन्न ८ वटा जिल्लाका कुनै न कुनै भु–भागलाई यहाँबाट देख्न सकिन्छ, धौलागिरि क्षेत्रका महत्वपूर्ण धार्मिक र ऐतिहाँसिक क्षेत्रहरु पनि सजिलै संग अवलोकन गर्न सकिने भएकाले पर्यटकीय सम्भावना थप बढाएको छ ,’’–वडा सदस्य जिसीले भन्नुभयो ।

पर्यटकीय दृष्टिकोणमा सम्भावनायुक्त भएपनि अहिलेसम्म प्रचार प्रसार र पर्यटन पूर्वाधारको अभाबले ओझेलमा परेको मुसुङ गाउँका स्थानीय युवा तारामिलन छन्त्याल बताउँछन् । सदरमुकाम बेनीदेखि नजीकको दुरीमा रहेपनि सरोकारवालाहरुको बेवास्थाले पूर्वाधार निर्माण गर्न नसकिएको उहाँको गुनासो छ । प्राकृतिक रुपमै भ्युटावरको आकारमा रहेको बेलढुंगाको वरीपरि रेलिङ, माथि चढ्नको लागि पहाडमा सिडी निर्माण गर्नुपर्ने देखिएको छन्त्याल बताउँछन् ।

अहिले मुसुङ र बागलुङको ओखलेको सिमानामा पर्ने देउराली सम्म पुरानो गोरेटो बाटो भएकाले त्यहाँसम्म सहजै रुपमा पुग्न सकिन्छ ।
देउरालीबाट माथि झण्डै १५ मिनेटको पदयात्रा घना जंगल र अक्करे भिरमा बनाईएको साघुरो डोरोमा हिड्नुपर्ने भएकाले तत्काल यस क्षेत्रमा पदमार्ग निर्माणको लागि आबश्यक बजेट विनियोजन गर्नुपर्ने स्थानीयले माग गरेका छन् । मुसुङबाट स्वर्गाश्रम हुँदै देउराली सम्मको गोरेटो बाटोलाई स्तरोन्नती गरि देउरालीबाट बेलढुंगासम्म व्यवस्थित पदमार्ग निर्माण गरि यो क्षेत्रको बारेमा प्रचार प्रसार गरेमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई भित्र्याउन सकिने स्थानीयको आशा छ ।

बाह्रै महिना हिमशृङ्खला र प्राकृतिक भू–वनोटलाई अवलोकन गर्न सकिने यो क्षेत्र फागुन चैतमा फुल्ने लालिगुराँसले सिंगारिने भएकाले पनि पर्यटन विकासमा थप आधारहरु देखिन्छ । आगामी चैत्र÷वैशाखमा गन्तव्य बेलढुंगा अभियान सञ्चालन गर्ने तयारी भैरहेको स्थानीय स्वर्गाश्रम युवा क्लबले जनाएको छ । पर्यटकिय सम्भावना बोकेका बेलढुंगा र स्वर्गाश्रम क्षेत्रको महत्व एवम् सम्भावनालाई उजागर गर्न क्लबले अभियान सञ्चालन गर्ने योजना बनाएको क्लबका सचिब जितबहादुर पुनले बताउनुभयो ।

‘‘ यहाँ पर्यटक भित्र्याउन प्राकृतिक रुपमा कुनै अभाब छैन्, पर्यटन विकासमा न्युनतम आधारहरु प्रचार प्रसार र पदमार्ग लगायतको विकास गर्न सकेमा मात्रै यहाँ हामीले आन्तरिक संगै बाह्य पर्यटकहरुलाई समेत भित्र्याउन सक्छौँ भनेर लागिपरेका छौँ ’’– सचिब पुनले भन्नुभयो । यहाँ लुकेर रहेको सम्भावनालाई उजागर गर्न सके पर्यटन विकास मार्फत ग्रामीण बस्तीको मुहार फेर्न सकिने उहाँको भनाई छ । बेलढुंगा र बेनी नगरपालिका–३ मुसुङ गाउँको शिरमा रहेको स्वर्गाश्रम क्षेत्रलाई एकिकृत रुपमा प्रचार प्रसार र पूर्वाधार निर्माण गर्न सकेमा यस क्षेत्रमा धार्मिक, एवम अन्य पर्यटक आगमन गराउन सकिने सम्भावना छ ।

मुसुङदेखि साढे १ घन्टामा स्वर्गाश्रम र त्यहाँबाट करिब ४५ मिनेटको दुरीमा बेलढुंगा पुग्न सकिन्छ । स्वर्गाश्रम र बेलढुंगाको पदयात्राबाट धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ«े लगाएतका आधा दर्जन हिमश्रंखलाको अवलोकन गर्दा यात्राको क्रममा हुने थकान मेटिने पहिलो पटक यो क्षेत्रको भम्रणमा पुगेका पर्वतका आरेके अदिप्त गिरिले अनुभव सुनाउनुभयो ।

‘‘ एकान्त र प्राकृतिक वातावरणमा रमाउनेहरुको लागि यो क्षेत्र लोभलाग्दो रहेछ, जिल्लाकै मुटुमा रहेर पनि अहिलेसम्म ओझेलमा पर्नु निकै दुखदायी कुरा हो, यो क्षेत्रको विकास गर्न सके ग्रामीण पर्यटनले स्थानीयको आयआर्जनमा सुधारसंगै स्थानीय तहकै आन्तरिक आम्दानीमा समेत बृद्धि ल्याउन सक्छ,’’– गिरिले भन्नुभयो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l