निर्वाचनमा पराजित भएपनि भण्डारीले गरे जनतासामु गरेको प्रतिबद्धता पुरा

  • १३ फाल्गुन २०७४, आईतवार
  • 3335 पटक पढिएको

म्याग्दी, १३ फागुन । निर्वाचनमा मतदातालाई प्रभावित बनाउन झुटा आश्वासन बाँड्ने र मत मागेपछि नेताहरु गाउँ फर्किएर नजाने गुनासो बढीरहेको छ । निर्वाचनमा बिजयी भएका नेताहरुले नै जनतासामु गरेका प्रतिबद्धता पुरा नगर्ने प्रचलन बढीरहेको सन्दर्भमा म्याग्दीका एक युवा नेताले निर्वाचनमा पराजित भएपनि मत माग्दा जनतासामु गरेको प्रतिबद्धता भने पुरा गरेका छन् ।

गत बैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट रघुगंगा गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवार बनेर पराजीत भएका हरि भण्डारीले रघुगंगा गाउँपालिका–२ ओखरबोटमा सडक निर्माणको लागि सहयोग गर्ने प्रतिबद्धता पुरा गर्नुभएको छ । निर्वाचनको प्रचार प्रसारको क्रममा स्थानीयबासीबाट आएको सडक निर्माण योजनामा सहयोग गर्ने घोषणा गरेका भण्डारीले ८ घण्टा बराबरको डोजरको खर्च सहयोग गरेका हुन् ।

भगवती हुँदै बेग जोड्ने सडकको मौलकाटे देखि ओखले, ओखरबोट, राममन्दिर, च्युरीबोट हुँदै भिरपाटा जोड्ने सडक निर्माणको क्रममा ८ घण्टासम्म डोजर लगाएर सडक निर्माणमा भएको रु ७० हजार बराबरको खर्च युवा नेता भण्डारीले सहयोग गरेको सडक निर्माण समितिका सदस्य तिर्थबहादुर केसीले बताए । मौलकाटेबाट ओखरबोट हुँदै राममन्दिर सम्म पुगेको सडक निर्माण कार्यमा यो बर्ष वडा कार्यालयले समेत रु २ लाख ४५ हजार बजेट विनियोजन गरेको थियो ।

वडा कार्यालयले विनियोजन गरेको बजेट अपुग भैरहेको अबस्थामा भण्डारीले गरेको सहयोगले राहत मिलेको समितिका सदस्य केसीले बताए । यता नेता भण्डारीले भने निर्वाचनमा जनतासामु गरेका प्रतिबद्धता अनुसार आफुले सो सडक निर्माणमा सहयोग गरेको प्रतिकृया दिए । उनका अनुसार, ओखरबोट हुँदै च्युरीबोट जोड्ने सडक निर्माणको लागि समेत वडा कार्यालयबाट रु २ लाख ४५ हजार बजेट विनियोजन भएको छ । अहिले यो सडक निर्माण कार्य जारी रहेको उपभोक्ता समितिले जनाएको छ ।