बेगखोलाकी नरमायाको उपचारका लागि युएईबाट सहयोग

  • १२ फाल्गुन २०७४, शनिबार
  • 2269 पटक पढिएको

बेनी १२ फागुन । रुखबाट लडेर मेरुदण्ड भाँचीएपछि थला परेकी म्याग्दीको रघुगंगा गाउँपालीका १ बेगखोलाकी नरमाया तिलीजाको उपचारका लागि युएईबाट आर्थिक सहयोग प्राप्त भएको छ । मोना युएईका सहकोषाध्यक्ष अर्जुन कटुवालको पहलमा दुवईमा संकलन भएको तिस हजार ३५५ रुपैया कटुवालका भाई भिमसेन केसीले शनिबार तिलीजाकी आफन्त निरादेवी बुद्धुजा र सुमीत्रा पुनलाई हस्तान्तरण गर्नुभयो ।

 

४३ वर्षीया तिलीजाको गत माघ ३ गते घाँस काट्ने क्रममा रुखबाट लडेर मेरुदण्ड भाँचीनुका साथै शरीरका अन्य भागमा चोट पटक लागेको थियो । मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार गराइरहेकी तिलीजाको परिवारको आर्थिक अवस्था कमजोर भएकाले सहयोगको अपिल गरिएको थियो । सुकुम्बासी रहेकी दुई छोराछोरीकी आमा नरमायाले श्रीमानको निधनपछि ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएकी थिईन् ।