जब श्रीपालीले रिखार मन्दिरलाई ५ हजारमा बेचिदिए ……..

  • १४ माघ २०७४, आईतवार
  • 3677 पटक पढिएको

म्याग्दी, १४ माघ । म्याग्दीको पर्यटकीय धार्मिक स्थल रिखारलाई एक व्यक्तिले रु ५ हजारमा विक्रि गरेका छन् । रघुगंगा गाउँपालिका–८ मा अवस्थित पवित्र धार्मिक स्थल रिखारलाई ति व्यक्तिले रियलमा नभएर हातले कोरेको रिखारको  तस्बिरलाई रु ५ हजारमा विक्रि गरेका हुन् ।

हालै सम्पन्न भएको छैटौँ म्याग्दी महोत्सवमा रघुगंगा गाउँपालिकाको समवय र म्याग्दी उद्योग बाणिज्य संघको सहयोगमा चित्रकला प्रदर्शनी राखेका रघुगंगा गाउँपालिका–३ का युवा चित्रकार अमृत श्रीपालीले रिखार लगायतका धार्मिक, पर्यटकीय स्थलहरुका चित्रहरु विक्रि गरेका हुन् ।

महोत्सव अवधिभर हातले कोरेका दुरुस्तै ६ वटा चित्र विक्रि गरेका उनले प्रति चित्रलाई रु ३ हजारदेखि १० हजारसम्ममा विक्रि गरेको बताए । २२ बर्षिय चित्रकार श्रीपालीले हरेक व्यक्ति र ठाउँको दुुरुस्तै तस्बिर कोर्ने गरेका छन् । उनले व्यक्तिको मात्रै नभईकन भुगोल, जनावर, रुख, लगायतका भू–दृष्यहरुलाई दुरुस्तै चित्रमा उर्तान सक्छन् ।

उनले पेन्सिल र रंगहरुको सहायताले तयार गरेको चित्रलाई धेरैले मन पराउने गरेका छन् । विद्यालय तहमा हुने विभिन्न चित्रकला प्रदर्शनीमा पुरस्काहरु समेत हात पारिसकेका श्रीपालीले आफ्नो कलामा निखार आउन थालेपनि व्यवसायिक रुपमा चित्रकला बनाउन थालेको बताउँछन् ।