म्याग्दी सञ्जीवनी हस्पिटल सञ्चालक समिति अध्यक्षमा सुवासकुमार श्रेष्ठ चयन
- १३ माघ २०७४, शनिबार
- 1634 पटक पढिएको
म्याग्दी, १३ माघ । म्याग्दी सञ्जीवनी हस्पिटल प्रालिले पछिल्लो छ महिनामा गुणस्तरीय सेवामा प्रबाहमा सुधार गरेको जनाएको छ । आर्थिक बर्ष २०७३÷०७४ को एकबर्षको अवधीमा भन्दा चालु आर्थिकबर्षको ६ महिनामा हस्पिटलको हरेक विभागबाट प्रवाह हुने सेवाबाट सेवाग्राही सन्तुष्ट बनेको र सँख्या बढ्दै गएको देखिएको हो ।हस्पिटलले दिएको जानकारी अनुसार, गत आबमा बहिरंग ३ हजार २ सय ३३, निशुल्क गर्भवति परिक्षणमा १ सय ३७, भिडियो एक्सरेमा ९ सय ५६, माइनर अप्रेशनमा १ सय २१ र ल्याबमा ८ सय ४३ जनाले सेवा लिएका थिए ।
चालु आर्थिक बर्षमा ल्याबमा मात्रै २ हजार ७२ जनाले सेवा लिएको हस्पिटलका प्रबन्धक बद्रीप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार, सबै विभागमा बिरामीको सँख्याको बढेको छ ।
हस्पिटलको शनिबार बेनीमा सम्पन्न नबौँ बार्षिकसाधारणको अवसरमा उक्त तथ्यांक सार्वजनिक गरिएको हो । हस्पिटल एकबर्षमा ५१ लाख रुपैयाँको कारोबार गरेको जनाईएको छ । हस्पिटल सञ्चालक समितिका अध्यक्ष शिबकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सेयर सदस्य बेनी नगरपालिकाका नगरप्रमुख हरिकुमार श्रेष्ठ र बेनपा–६ को वडा सदस्यमा निर्वाचित दयासागर शर्मालाई सम्मान गरिएको थियो । साधारणसभाबाट आगामी कार्यकालका लागि अध्यक्षमा सुवासकुमार श्रेष्ठ निर्विरोध चयन भएका छन् ।
सञ्चालकहरुमा प्रमोद श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ, रमेश गिरि, बालकृष्ण सुवेदी, दिपेन्द्र श्रेष्ठ, विजयकुमार श्रेष्ठ, दयासागर शर्मा, शिवकुमार श्रेष्ठ, विमलकुमार श्रेष्ठ र यजनलाल शाक्य निर्वाचित भएको हस्पिटलले जनाएको छ । सञ्चालक सुवासकुमार श्रेष्ठको स्वागत तथा प्रबन्धक बद्री प्रसाद पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सुरुमा बेनी हस्पिटल एण्ड रिर्सच सेन्टरबाट सञ्चालन भएपनि धौलागिरि सञ्जीवनी स्वास्थ्य सहकारी संस्थासँग मर्ज भएपछि म्याग्दी सञ्जीवनी हस्पिटल प्रालिको नामबाट सञ्चालन हुदै आएको छ ।