स्वास्थ्य सेवा प्रवाहमा अवसर र चुनौति बिषयक अन्र्तक्रिया
- १२ माघ २०७४, शुक्रबार
- धिरन खत्री
- 1765 पटक पढिएको
म्याग्दी १२ माघ । स्वास्थ्य अधिकार तथा सुर्तीजन्य पदार्थ नियन्त्रण जिल्ला सञ्जाल म्याग्दीको आयोजनामा शुक्रवार बेनीमा स्वास्थ्य अधिकार बर्ष पुस्तक प्रकाशन एवम् स्वास्थ्य सेवा प्रवाहमा अवसर र चुनौती बिषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा म्याग्दीमा स्वास्थ्य सेवा प्रवाहको अवस्थाको विषयमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, अधिकारकर्मी एवम् सञ्चारकर्मीहरुबीच अन्तरक्रिया भएको थियो ।
सो अवसरमा सरोकारवालाहरुले जिल्लामा रहेका सरकारी स्वास्थ्य संस्थामा निशूल्क वितरण गरिने औषधी र उपचारमा प्रयोग हुने सामाग्रीको अभाव हुन थालेको भन्दै जनप्रतिनिधि र जिल्ला स्थित सरोकारवाला गम्भिर बन्नुपर्नेमा जोड दिएका थिए ।सरकारले जिल्ला अस्पतालमा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ र स्वास्थ्य चौकीमा ४२ किसीमका औषधी निशूल्क उपलब्ध गराउने घोषणा गरेको छ । तर, माथिल्लो निकायले पठाउन र स्थानीय तहले औषधी खरिद गर्न ढिलाई गर्दा औषधी अभाव देखिन थालेको कार्यक्रममा स्वास्थ्य अधिकार तथा सुर्तीजन्य पदार्थ नियन्त्रण जिल्ला सञ्जाल म्याग्दीका संयोजक हरिप्रसाद पौडेलले जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुले औषधी खरिदका लागि न्युन बजेट आएको, सम्बन्धित कर्मचारीले समन्वय नगर्दा बजेट बिनियोजनका क्रममा थप बजेट बिनियोजन हुन नसकेको र समन्वयको अभावमा भएको बजेटबाट पनी औषधी खरिद गर्न नसकिएको बताएका थिए । सरकारले स्थानीय तहमा औषधी खरिदका लागि २ देखि तिन लाख रुपैयाका दरले बजेट पठाएको छ । गत वर्ष ३३ लाख रुपैयाको औषधी खरिद गरेको जिल्ला स्वास्थ्य कार्यालयले हालै यो वर्षका लागि रु चार लाख रुपैयाको मात्र अत्यावश्यक र बढी माग हुने औषधी खरिद गरेको जनाएको छ ।
कार्यक्रममा रघुगंगा गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारी, मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका, मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, धौलागिरि गाउँपालिका उपाध्यक्ष रेशम छन्त्याल, अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष केशमायाँ मगर लगायतले आफ्नो स्थानीय तहले औषधी खरिदको लागि विनियोजन गरेको बजेटको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरक्षक भिमप्रसाद आचार्यले पाँच लाख रुपैया सम्मको औषधी स्थानीय तहले सिधै खरिद गर्न सक्ने भएकाले छिटो औषधी खरिद गरि सेवा प्रवाहमा असर पर्न नदिन आग्रह गर्नुभयो ।
कार्यक्रममा सरोकारवालाहरुले सरकारले कर्मचारी कटनपटनको काम नगरेको कारण स्वास्थ्य संस्थाहरुमा समेत कर्मचारी नहुने समस्या देखिन सक्ने भन्दै सम्बन्धित क्षेत्रबाट यस बिषयमा गम्भिर छलफल गरि समस्या आउन दिन नहुनेमा जोड दिएका थिए । कार्यक्रममा सहभागीहरुलाई सञ्जालका सहसंयोजक दिपक पौडेलले स्वागत र अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष मगरले समापन गर्नुभएको थियो
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l