देशलाई हराभरा बनाउने जिम्मेवारी सहकारीको काँधमा : कोइराला
- २८ पुष २०७४, शुक्रबार
- रविना बोहरा
- 1975 पटक पढिएको
बागलुङ, २७ पौष । राष्ट्रिय सहकारी महासंघका सञ्चालक प्रभा कोइरालाले आर्थिक रुपमा कजमोर अवस्थामा रहेको हाम्रो देशलाई समृद्ध बनाउनका लागि सहकारी क्षेत्रको काँधमा महत्वपूर्ण जिम्मेवारी आएको बताउनु भएको हो । जिल्ला सहकारी संघ लिमिटेड बागलुङको नवौं वार्षिक साधारण सभाको बिहिबार उद्घाटन पछि बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
देशको आर्थिक क्षेत्र संक्रमणमा रहेकोले स्थानीय स्रोत साधनको अधिकतम उपयोग गरी देशलाई हराभरा बनाउने जिम्मेवारी सहकारी क्षेत्रको काँधमा आएको उहाँको भनाइ छ । देशको नेतृत्व असल नेताले गर्दा आर्थिक समृद्धि र सबल राष्ट्र बन्ने भन्दै उहाँले सहकारी क्षेत्रले समृद्धिका विषयमा राज्य सञ्चालकहरुसंग सहकार्य गर्न तत्पर रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै एमाले नेतृ तथा सूचना तथा सञ्चार सहकारी संघकी केन्द्रीय उपाध्यक्ष मनकुमारी केसीले उत्पादनशिल क्षेत्रमा सहकारीहरुको भूमिका राम्रो रहेकाले यसको प्रवद्र्धन आवश्यक रहेको बताउनुभयो ।
राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले राज्य पुनसंरचनासंगै सहकारी ऐन समेत नयाँ आएको सन्दर्भमा स्थानीय तहमा सहकारीको भूमिका बढाउनका लागि सबैको सहयोग र समन्वय आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रमा नेफ्रस्कुुनका केन्द्रीय सञ्चालक चण्डी प्रसाद शर्मा, जिल्ला सहकारी संघ बागलुङका पुर्व अध्यक्ष कृष्ण संकर श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । साधारण सभाले सचिव युक्त प्रसाद कँडेलले प्रस्तुत गरेको प्रगति प्रतिबेदन, कोषध्यक्ष भुपाल चालिसेले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक तोयनाथ गौतमले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन सर्वसम्मतीले पास गरेको छ । साधारणसभाको उद्घाटन कार्यक्रम जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतमको अध्यक्षता उपाध्यक्ष असोक गोविन्द राजभण्डारीको स्वागत र सचिव युक्तप्रसाद कँडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
जिल्ला सहकारी संघ बागलुङको अध्यक्षमा गौतम बागलुङ, २७ पौष जिल्ला सहकारी संघ लिमिटेड बागलुङको नवौ वार्षिक साधारणसभाले दीपक गौतमको अध्यक्षतामा नयाँ सञ्चालक समिति र रुद्रबहादुर केसीको संयोजकत्वमा लेखा समिति सर्वसम्मत चयन गरेको छ ।
सञ्चालक समितिको उपाध्यक्षमा अशोक गोविन्द राजभण्डारी, सचिवमा तेजेन्द्रबहादुर थापा, कोषाध्यक्षमा हुमा कुमारी जिसी (अञ्जु) सर्वसम्मत चयन हुनु भएको छ । समितिका सदस्यहरुमा कविन्द्रप्रसाद शर्मा सापकोटा, ध्रुवप्रसाद शर्मा, खीमबहादुर कार्की, रतनप्रसाद मलेपति, चिन्तामणी शर्र्मा, सीता शर्मा र सुनिता विश्वकर्मा चयन हुनु भएको छ ।
यस्तै लेखा समितिको सदस्यमा लिलादेवी खड्का र उत्तमबहादुर महत चयन हुनु भएको निर्वाचन अधिकृत तथा संघका पूर्व अध्यक्ष रामबहादुर जिसीले जानकारी दिनुभयो । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई संघका पूर्व अध्यक्ष कृष्णशंकर श्रेष्ठले वधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।
नवनिर्वाचित अध्यक्ष दिपक गौतमले प्रतिवद्धता मन्तव्य व्यक्त गर्दै जिल्लाका सबै सहकारी संघ संस्थाहरुको छाता संगठनका रुपमा रहेको जिल्ला सहकारी संघको भूमिकालाई थप प्रभावकारी र समन्वयकारी बनाउन आफ्नो टिम निरन्तर लाग्ने बताउनु भयो । निर्वाचन समितिका तर्फबाट वधाई ज्ञापन गर्दै सयोजक रामबहादुर जिसीले सहकारी अभियानमार्फत समृद्ध समाज निर्माणका लागि जिल्ला सहकारी संघको सक्रियता र निरन्तरताका लागि लाग्न सुझाव दिनुभयो ।