म्याग्दी जिल्लालाई माघ ८गते साक्षर जिल्ला घोषणा गरिने

  • २६ पुष २०७४, बुधबार
  • 1523 पटक पढिएको

म्याग्दी, २६ पुस । जिल्लालाई आगामी माघ ८ गते साक्षर जिल्ला घोषणा गरिने भएको छ । जिल्लामा बसोबास गर्ने १५ देखि ६० वर्ष उमेर समूहका कुल जनसंख्या मध्ये ९६ दशमलब २७ प्रतिशत नागरीक साक्षर बनेपछि जिल्लालाई साक्षर जिल्ला घोषणा गर्न लागिएको हो ।

जिल्ला अनौपचारीक शिक्षा समितिले आगामी माघ ८ गते बसन्त पञ्चमी (सरस्वती पुजा)को दिन म्याग्दीलाई साक्षर जिल्ला घोषणा गर्ने निर्णय गरेको जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले पत्रकार सम्मेलन गरि जानकारी दिए ।

जिल्ला अनौपचारिक शिक्षा समितिले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै जिशिअ श्रेष्ठले जिल्लामा रहेका ४५ वटै वटाहरु साक्षर घोषणा भईसकेकाले जिल्लालाई नै साक्षर जिल्लाको रुपमा घोषणा गर्न लागिएको बताए ।

समितिका अध्यक्ष एवम् जिल्ला समन्व्य समितिका प्रमुख देवेन्द्रबहादुर केसीले नेपालको ३९ औँ जिल्लाको रुपमा म्याग्दीलाई साक्षर जिल्ला घोषणाको लागि आबश्यक तयारी समेत थालिएको बताए । अध्यक्ष केसीको संयोजकत्वमा मुल समारोह समिति र थप चार वटा उपसमिति गठन गरि घोषणाको तयारीलाई तिब्रता दिईएको छ । भने म्याग्दी जिल्लालाई साक्षर घोषणा कार्यक्रम सदरमुकाममा रहेको बेनी सामुदायिक विद्यालयको प्राङ्गण गरिने भएको छ।

जिल्ला शिक्षा कार्यालयले गरेको घरधुरी सर्वेक्षणको तथ्याङ्क अनुसार म्याग्दीमा १६ देखि ६० वर्ष उमेर समूहका ८२ हजार ८२६ जनसंख्या मध्यृ ७९ हजार ७३९ जना नागरीक साक्षर बनेको पाईएको हो । लक्षित समुदायका ९५ प्रतिशत भन्दा बढी नागरीकले अंक अक्षर लेखपढ गर्न सक्ने भएपछि साक्षर वडा, स्थानीय तह र जिल्ला घोषणा गर्न सकिने व्यवस्था अनुसार म्याग्दीलाई साक्षर घोषणा गर्न लागिएको हो ।

वि.स २०६६ देखि निरक्षरलाई साक्षर बनाउन जिल्लामा सामुदायिक सिकाई केन्द्र, अनौपचारिक पौढ विद्यालय, खुला विद्यालय लगायतको माध्ययमबाट साक्षरता कक्षा सञ्चालन हुदै आएका थियो ।

जिल्ला अनौपचारिक शिक्षा समितिका अध्यक्ष देवेन्द्रबहादुर केसीको अध्यक्षता, विद्यालय निरिक्षक दलबहादुर थापाको संचालनमा भएको पत्रकार सम्मेलन भएको थियो ।