बेनी अस्पतालमा पूर्वाधार थपिदै
- २५ पुष २०७४, मंगलवार
- सन्तोष गौतम
- 1703 पटक पढिएको
बेनी २५ पुष । म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पतालमा पूर्वाधार विस्तारले तिब्रता पाएको छ । दुई वर्षअघि ५० शैया क्षमत्तामा स्तरवृद्धी भएको अस्पतालमा सोही अनुसार भौतिक पूर्वाधार निर्माण हुन थालेको हो । ५० शैया क्षमत्ताको अस्पताल भवनसंगै डाक्टर र नर्सको आवास भवन निर्माण कार्य सुरु भएको छ ।
अस्पताल परिसरमा निर्माण हुन लागेको डाक्टर र नर्स आवास गृह भवनको मंगलबार अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मी र जिल्ला स्वास्थ्य प्रमुख बरिष्ठ चिकित्सक डाक्टर रोशन न्यौपानेले शिलन्यास गर्नुभयो ।अस्पतालका डाक्टर र नर्सको लागि चारचार परिवार क्षमत्ताको भवन निर्माण हुन लागेको हो । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले ठेक्का मार्फत बनाउन लागेको भवन २०७५ असोज ५ गते सम्पन्न गर्ने लक्ष्य छ ।
दुवै भवन निर्माणका लागी महादेवनाना जेभीले ठेक्का पाएको छ । डाक्टर आवास भवनको एक करोड २८ लाख ७७ हजार ८८९ र नर्स भवनको ८४ लाख ४० हजार ८८९ रुपैयामा ठेक्का सम्झौता भएको छ । सम्झौता अवधिभित्रै भवन निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीका प्रतिनिधि कृष्णकुमार शेरचनले बताउनुभयो ।यस अघि गत मंसिरमा ५० शैया क्षमत्ताको भवन निर्माण सुरु भएको थियो । चार हजार ९६३ वर्गमिटर क्षेत्रफलमा निर्माण हुने ४ तले भवन बनाउन महादेव खिम्ती ज्वाला सफीना जेभीले १८ करोड ८४ लाख आठ हजार ८९ रुपैयामा ठेक्का सम्झौता गरेको छ ।
२०७६ मंसिर २० गतेभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । भुकम्प प्रतिरोधी क्षमत्ताको भवन अपाङ्ग मैत्री समेत हुनेछ । १५ शैया क्षमत्ताको अस्पताल २०७२ मा पचास शैयामा स्तरउन्नती भएको थियो ।५० शैयामा स्तरउन्नती भएपछि अस्पतालमा भवन निर्माण, जनशक्ति र उपकरणको व्यवस्थापनको काम भैरहेको जिल्ला स्वास्थ्य प्रमुख डाक्टर रोशन न्यौपानेले बताउनुभयो । नयाँ भवन निर्माण भएपछि क्षमत्ता अनुसारको प्रभावकारी सेवा प्रवाह गर्न सहज हुने चिकित्सक न्यौपानेले बताउनुभयो । नयाँ भवन बनाउन पुरानो भवन भत्काइएकाले सेवा सञ्चालनका लागि अस्थाई भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।