बमको छर्राले गुमेको आँखाको उपचारमा सहयोग गर्न सुकुम्बासी सुनारको याचना (भिडियो सहित)

  • २१ पुष २०७४, शुक्रबार
  • 3682 पटक पढिएको

म्याग्दी, २१ पुस । म्याग्दी बेनी नगरपालिका–२ भकुण्डेका नरप्रसाद सुनारले आफ्नो आँखाको उपचारमा आर्थिक सहयोगको अपिल गर्नुभएको छ । ९ बर्ष अगाडी बमको छर्राले दुई वटा आँखाको ज्योती सहित एउटा हात समेत गुमाएका सुकुम्बासी सुनारले डाक्टरहरुले एउटा आँखाको उपचार सम्भव रहेको बताएकाले उपचारको लागि आर्थिक सहयोग गर्न सार्वजनिक रुपमा याचना गर्नुभएको हो ।


वि.स. २०६५ साल चैत ३ गते बागलुङको विश्वकर्मा माविको भवन निर्माणको लागि ढुंगा फुटाउनको लागि राखिएको बारुद (बम)को छर्रा लागेर सुनारको देब्रे हात र दुबै आँखा गुमेको थियो । आफ्नो भन्नी कुनै जग्गा समेत नभएको र मजदुरी गरि परिवार पाल्दै आएका सुनारको परिवारमा घरमुली नरप्रसादको दुबै आँखा र एउटा हात गुमेपछि परिवार नै विछिप्त भएको थियो । तत्कालिन घटना भएपछि ऋण खोजेरै विभिन्न अस्पतालहरुमा पु¥याएर उपचार गरि ज्यान जोगाउन सकेको र अहिले उपचारको क्रममा डाक्टरहरुले बमको छर्राले गुमेको एउटा आँखाको ज्योती फर्काउन सकिने बताएपछि सुनारको परिवारमा केही आसा त पलाएको छ । तर उपचारमा लाग्ने आर्थिक स्रोतको अभाबले भने पिरोल्न थालेको छ ।


बमको छर्राले अपांगता भएका ५९ बर्षका सुनारले आफ्नो जिवनलाई अध्यारोबाट उज्यालोतर्फ लैजाने अवसर पाउँदा समेत आर्थिक खर्चको अभाबले उपचार गर्न जान नसकेको कारण सबै क्षेत्रबाट सहयोग गरिदिन आग्रह गर्नुभएको छ । काठमाण्डौ स्थित दृष्टी आँखा केन्द्रले सुनारको एउटा आँखाको उपचार सम्भव रहेको र लाखौँ रुपैयाँ खर्च जुटाउनुपर्ने सुझाएपछि सुनारको उपचारको लागि म्याग्दीको परोपकारी क्षेत्रमा क्रिायाशिल ओमकुमारी शान्ती कोषले आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरेको छ ।


शुक्रवार बेनीमा पत्रकार सम्मेलन गरि सुनारको उपचारमा आर्थिक संकलन गर्न कोषका उपाध्यक्ष हरिकृष्ण गौतमको संयोजकत्वमा ‘नरप्रसाद बचाउ अभियान’ घोषणा गरेको हो । कार्यक्रममा बोल्दै कोषका अध्यक्ष राजेश शाक्यले सुनारको बमको छर्राले गुमेको आँखाको ज्योती फर्काउन तीन चरणमा अप्रेशन गर्नुपर्ने र पहिलो चरणको अप्रेशनको लागि मात्रै रु १ लाख ५० हजार र त्यपछि क्रमीक रुपमा ठुलो आर्थिक खर्च जुटाउनुपर्ने भएकाले सबै क्षेत्रबाट सक्दो सहयोग गर्न आग्रह गर्नुभएको छ । सो अभियानमा अध्यक्ष शाक्यले व्यक्तिगत रुपमा रु ५ हजार सहयोग गर्नुभएको छ ।

कोषले यस अघि सुनारको उपचारमा रु २५ हजार आर्थिक सहयोग गरिसकेको छ । कार्यक्रममा बोल्दै पिडित सुनारका छोरा जिवन सुनारले नेपालका विभिन्न अस्पतालदेखि भारतको एल.बि. प्रसाद अस्पताल सम्म पु¥याएर उपचार गर्दा ठुलो खर्च लागेको र अहिले आँखाको ज्योती फर्काउन सकिने आश्वासन आउँदा आर्थिक अभाबले उपचार गर्न जान समस्या भएको बताउनुभयो । अपांगता भएका सुनार दुई बर्ष अगाडी आफ्नी श्रीमती सितादेवीको क्यान्सरबाट निधन भएपछि थप साहारा विहिन बनेका छन् । उहाँका जेठा छोरा विनोदसिंह रोजगारिको शिलसिलामा मलेसिया पुगेका छन भने कान्छा छोरा जिवनले बुबाको उपचारको लागि हारगुहार गरिरहेका छन् ।