अग्नी पीडित सुवेदी परिवारलाई पोखराको लायन्स क्लबको सहयोग

  • १८ पुष २०७४, मंगलवार
  • 1451 पटक पढिएको

जलजला पर्वत, पुस १८ गते । उत्तरी पर्वतको जलजला गाउँपालिका ७ धाइरिङका आगोलागी पीडित सुवेदी परिवारलाई लायन्स क्लब अफ पोखरा फेवा फिस्टेल सिटीले ७० हजार रुपियाँ वरावरको राहत सहयोग गरेको छ । आर्थिक अवस्था कमजोर भएका सुवेदी परिवारको दुःखमा साथ दिन पोखराबाट राहत सामाग्री लिएर लायन्स क्लबका पदाधिकारीहरु धाइरिङ सल्यानमा आएका हुन ।

पुस ६ गते राती आगलागी हुँदा घर जलेर पीडित बनेका धाइरिङ सल्यानका इन्द्रमणि सुवेदीको परिवारलाई क्लबले स्थानीयवासीहरु सहभागितामा सहयोग हस्तान्तरण गरेको हो । क्लबले ४ बण्डल जस्तापाता,खाना पकाउने भाडा एकसेट,चामल एक वोरा र लत्ता कपडा गरि ७० हजार रुपियाँ वरावरको सहयोग उपलब्ध गराएको क्लबका अध्यक्ष केदार ढकालले बताउनुभयो ।

पोखरामा वस्ने सुवेदीकी छोरीले क्लबको कार्यालयमा आएर सहयोग गरिदिन आग्रह गरे लगत्तै लायन्समा आवद्ध सदस्यहरुले तत्काल राहत संकलन गरिएको उहाँले बताउनुभयो । सहयोग हस्तान्तरण कार्यक्रमा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रीक ३२५ वी १ का चेयरपर्शन वावुराम अधिकारीले आगलागी भएर पीडित भएका सुवेदी परिवारको अवस्थाका वारेमा जानकारी पाए लगत्तै आफूहरु राहत सामाग्री लिएर आएको बताउनुभयो । उहाँले आर्थिक अवस्था कमजोर भएका सुवेदी परिवारको पीडामा साथ दिन क्लबले सहयोग जुटाएको बताउनुभयो । उहाँले लायन्सले यस्तै दुःखमा परेका व्यक्तीहरुलाई सहयोग गर्ने गरेको उहाँको भनाई थियो ।

सहयोग सामाग्री बुझ्दै आगलागी पीडित सुवेदीले दुःखमा साथ दिन पोखरा देखि राहत लिएर आएकोमा क्लबलाई धन्यवाद दिनुभयो । क्लबका कोषाध्यक्ष गिरिधारी पोखरेलको सञ्चालन क्लबका अध्यक्ष ढकालको अध्यक्षतामा भएको कार्यक्रममा धाइरिङका समाजसेवी तथा सुवेदी परिवारलाई राहत जुटाउन पहल गर्नुहुने डण्डपाणी रिजाल,वडा सदस्य माया कुमारी शर्मा रिजाल र क्लबका जोन चेयरपर्सन सुरेन्द्र पौडेल मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा माओवादी केन्द्र धाइरिङका हरिप्रसाद आचार्य,नेपाली काँग्रेस गाउँ उपसभापति हिमलाल रिजाल लगायत अन्य समाजसेवीहरुको उपस्थिति रहेको थियो । आगलागीबाट सुवेदी परिवारको २५ लाख रुपियाँ वरावरको क्षति भएको छ । आर्थिक अवस्था कमजोर भएका सुवेदी परिवारको सहयोगका लागि गाउँलेहरुले राहत संकलन अभियान सञ्चालन गरेका छन् ।