जेसीज कप फुटवलमा माउण्ट, वेष्ट प्वाइन्ट, बुद्ध र केवी एकेडेमी सेमिफाईनल प्रवेश

  • १६ पुष २०७४, आईतवार
  • कमल खत्री
  • 2027 पटक पढिएको

म्याग्दी, १७ पुस । सदरमुकाम बेनीमा जारी १६ औँ अन्तर मावि जिल्ला स्तरीय जेसीज कप फुटवल प्रतियोगितामा साविक विजेता माउण्ट एभेरेष्ट, उप–बिजेता न्यू वेष्ट प्वाईन्ट आवसीय मावि सहित बुद्ध एकेडेमी बगरफाँट र केवी एकेडेमी दरबाङ सेमिफाईनलमा प्रवेश गरेका छन् ।


आईतवार भएको क्वाटरफाईनलमा प्रकाश माविलाई ० का विरुद्ध १ गोल गर्दै माउण्ट एभरेष्ट आवसीय मावि सेमिफाईनलमा प्रवेश गरेको हो । त्यसैगरि बेनी सामुदायिक माविलाई ० का विरुद्ध ११ गोल गर्दै न्यू वेष्ट प्वाइन्ट, लिटल गार्डेन एकेडेमिलाई १ का विरुद्ध ५ गोल गर्दै बुद्ध एकेडेमि र म्याग्दी एकेडेमि सिंगालाई २ का विरुद्ध ३ गोल गर्दै केवी एकेडेमि दरबाङले सेमिफाईनल यात्रा तय गरेका हुन् ।

सोमबार हुने सेमिफाईनल खेलमा माउण्ट एभरेष्ट र बुद्ध एकेडेमी तथा न्यू वेष्ट प्वाइन्ट र केवी एकेडेमी दरबाङका बिच फाईनल प्रवेशको लागि प्रतिस्पर्धा हुनेछ । १८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने विद्यालयलाई नगद रु ३४ हजार, रनिङ शिल्ड, कप, ट्रफि, मेडल र प्रमाणपत्र तथा द्धितिय हुनेलाई नगद रु १७ हजारको साथमा कप, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिनेछ ।

प्रतियोगितामा अनुशासित टिम, उत्कृष्ट खेलाडि, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, म्यान अफ द म्याच घोषित हुने व्यक्तिहरुलाई समेत पुरस्कृत गरिने म्याग्दी जेसीजका शाखा अध्यक्ष नारायणकुमार बरालले जानकारी दिनुभयो ।

प्रतियोगिता समापन अबसरमा चौथो जेसीजकप फुटवलका उत्कृष्ट खेलाडी प्रकाश माविका खिमबहादुर भण्डारी र सर्वाधिक गोलकर्ता प्रकाश माविकै कुमार पुन, जेष्ठ अफिसिएल दिपेन्द्र श्रेष्ठ र मुन्ना केसीलाई समेत सम्मान गरिने आयोजकले जनाएको छ । बेनीमा कक्षा १० सम्मका विद्यार्थिहरुबिच प्रतिस्पर्धा हुने र हरेक बर्ष आयोजना हुने जेसीज कपलाई विद्यार्थी खेलाडीहरु र विद्यालयहरुले प्रतिष्ठाको रुपमा लिने गरेका छन् । करिब रु ५ लाख खर्च हुने अनुमान गरिएको प्रतियोगिताको प्रमुख प्रायोजक सन्तोष श्रेष्ठ स्मृति कोष रहेको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l