समृद्धिका लागि आयआर्जन र वचतमा जोड दिऔं : जि.सी.
- १२ पुष २०७४, बुधबार
- 1393 पटक पढिएको
डम्बरामा तालिम
म्याग्दी, ११ पुस । राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक रामबहादुर जिसीले समाजमा शारिरीक तथा आर्थिक सामाजिक रुपमा पछि परेका जनताको समग्र उत्थानका लागि राज्यको भूमिका लोककल्याणकारी हुनु पर्नेमा जोड दिनु भएको छ । बौद्धिक अपाङ्गता अभिभावक संघ म्याग्दीको आयोजना तथा बेनी नगरपालिका वडा न. ६ को सहयोगमा बेनी नगरपालिका वडा नं. ६ डम्बरामा सञ्चालित ३ दिने जनचेतनामुलक तालिमको उदघटन पछि बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
काम गर्न सक्नेहरुलाई उद्यम र रोजगारी सिर्जना गर्ने तथा काम गर्न नसक्ने अवस्थाका जनतालाई सहज रुपमा जीवन निर्वाहका लागि व्यवस्थापन गर्ने जिम्मेवारी राज्यको भएको भन्दै उहाँले लोककल्याणकारी राज्य निर्माणतर्फ अग्रसर हुनु पर्नेमा जोड दिनुभयो । युवाहरुलाई विदेश पठाएर विप्रेषणको रकमबाट देशको विकास गर्ने बाटोमा राज्इ सञ्चालकहरु गएको भन्दै जिसीले युवाहरुलाई रोजगारी र उद्यमशिलताको विकासमा जोड दिनुभयो ।
जनतासंग भएको श्रम, शिप र पूँजिलाई अधिकतम परिचालन गरी जनताको आयस्तर माथि उठाउनका लागि सहकारी र स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो । कार्यक्रममा बेनी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष कृष्ण बाँनियाले समाजमा रहेका बौद्धिक अपाङ्गता भएका लगायत विपन्न वर्गका जनताको आर्थिक सामाजिक रुपान्तरणका लागि सहकारी माध्यम उपयुक्त हुने धारणा राख्नु भएको थियो । उहाँले गाउँघरमा रहेका स्रोतहरुको पहिचान, उत्पादन, प्रशोधन र बजारीकरणका लागि स्थानीय संघ संस्थाहरु नगरपालिका र स्थानीय वासिन्दाबीच सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो ।
दलित, विपन्नता, द्वन्द्वपीडित बौद्धिक अपाङ्गता भएका व्यक्ति तथा तिनका अभिभावकहरुका लागि आयोजित जनचेतनामुलक तालिममा विपन्न वर्गका जनताको आयआर्जन, सहकारी मार्फत परिचालन, समाज रुपान्तरणमा सहकार्य लगायतका विषयमा सहजीकरण गरिने संघका अध्यक्ष यामबहादुर बाँनियाले जानकारी दिनुभयो । बेनी नगरपालिका वडा नं. ६ का दलित, विपन्नता, द्वन्द्वपीडित बौद्धिक अपाङ्गता भएका लगायत उद्यमशिल महिलाहरु गरी ६० जनाको सहभागिता रहेको तालिममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहजीकरण गर्ने संघका अध्यक्ष बाँनियाले जानकारी दिनुभयो ।