तिप्ल्याङका आगलागी पिडितलाई राहत जुटाउन साँसद केसी र जिसस प्रमुख केसीको आह्वान
- ९ पुष २०७४, आईतवार
- 1567 पटक पढिएको
म्याग्दी, ९ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–१ तिप्ल्याङमा शनिवार दिउँसो भएको अगलागीबाट पिडित भएका दुई घरपरिवारलाई राहत सहयोग गर्न म्याग्दीका प्रदेशसभा साँसद विनोद केसी र जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले आह्वान गर्नुभएको छ । विद्युत सर्ट भएर आगलागी हुँदा स्थानीय बेगबहादुर पुर्जा र राजकुमारी तिलिजाको १÷१ वटा घर जलेर नष्ट भएको कारण पिडित परिवारलाई राहतको लागि सहयोग गर्न साँसद केसीले आह्वान गर्नुभएको हो ।
आगलागीबाट लाखौँको धनमाल जलेर नष्ट भएको कारण पिडित परिवारलाई आपतकालिन राहतको लागि जिल्ला दैवि प्रकोप उद्धार समितिलाई निर्देशन गरिएको र दिर्घकालिन राहतको लागि सबैक्षेत्रबाट सहयोग जुटाउनुपर्ने साँसद केसीले बताउनुभयो । ‘‘ घरसंगै जिवनभर जोरजाम गरेका घरायसी सबै सामान जल्नुले आगलागी पिडितहरुलाई समस्यामा पारेको छ, सरकारी, गैरसरकारी र सबै क्षेत्रबाट राहत जुटाउन सबैले हातेमालो गर्नुपर्ने देखिएको छ,’’–साँसद केसीले भन्नुभयो ।
यसैबिच जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसीले समेत आईतवार विहानै आगलागी पिडित समक्ष पुगेर घटनाको अबस्थाबारे अवलोकन गर्नुभएको छ । उहाँले आगलागीबाट ठुलो भौतिक र आर्थिक क्षती भएकाले पिडित परिवारलाई सबैक्षेत्रबाट सहयोग गर्न आह्वान गर्नुभएको छ । आगलागीबाट बेगबहादुर पुर्जाको फर्निचर र कुटानी पिसानी मिल समेत जलेर नष्ट भएको छ भने उनको घरभित्र रहेको लत्ताकपडा, खाद्यान्न, भाँडाकुडा लगायतका सबै सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट पुर्जाको फर्निचरमा मात्रै करिब रु ८ लाख बराबरको काठ र समाग्री जलेको छ । त्यस्तै घरभित्र रहेको ३ तोला सुन र रु २ लाख नगद समेत जलेको पिडित पुर्जाले बताउनुभयो । त्यस्तै आगलागीबाट पुर्जाको घरसंगै रहेको स्थानीय राजकुमारी तिलिजा घर समेत जलेको छ । उहाँको घरको आधाभन्दा बढी भाग जलेको अबस्थामा स्थानीयबासी, सडकमा काम गर्ने मजदुर , युवाहरु र प्रहरीले आगोलाई नियन्त्रणमभा लिएका थिए । आगलागीबाट तिलिजाको कुखुराको खोरमा रहेका ४० वटा कुखुरा सहित खोर समेत जलेर नष्ट भएको छ ।