यसरी भयो धौलागिरि माविमा पूर्व विद्यार्थी, शिक्षक र शुभचिन्तकहरुको पुनर्मिलन (फोटो फिचर)
- ७ पुष २०७४, शुक्रबार
- कमल खत्री
- 2768 पटक पढिएको
म्याग्दी, ७ पुस । बेनी नगरपालिका–४ सिंगामा रहेको धौलागिरि माध्यमिक विद्यालयले विद्यालयको चौतर्फि विकासमा सहयोग जुटाउन विद्यालयका पूर्व विद्यार्थी, शिक्षक र शुभचिन्तकहरको पुनर्मिलन कार्यक्रम सुरु गरेको छ । जिल्लामा एक मात्रै बहिरा स्रोत कक्षा सञ्चालन गरेको विद्यालयले चालु शैक्षिक सत्रदेखि सुरु गरेको कक्षा ११ र आगामी बर्ष सुरु हुने कक्षा १२ को पठनपाठनलाई व्यवस्थित गर्दै विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्न आर्थिक संकलन गर्ने उदेश्यले सो कार्यक्रम आयोजना गरेको हो ।
शुक्रवारदेखि सुरु भएको सो कार्यक्रम शनिवार सम्म सञ्चालन हुनेछ । विद्यालयमा अध्ययन तथा अध्यापन गराई विभिन्न शिलसिलामा स्वदेश तथा विदेशका विभिन्न ठाउँमा पुगेका विद्यार्थी, शिक्षक तथा विद्यालयका शुभचिन्तकहरुको सो कार्यक्रममा सहभागीता रहेको छ । कार्यक्रममा विद्यालयको शैक्षिक विकासको लागि सुरु गरिएको आर्थिक संकलन अभियानमा विद्यालयका पूर्व विद्यार्थीहरुले आर्थिक सहयोग गर्ने लर्को लागेको छ । विद्यालयले अभियान सञ्चालन गरेदेखि नै आर्थिक संकलन जुट्न थालेको र शुक्रवार सम्म रु ८० लाख बढी आर्थिक सहयोग संकलन भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अणबहादुर खड्काले बताउनुभयो ।
सो अभियानमा हाल न्युजिल्याण्डमा रहनुभएका बेनी नगरपालिका–४ बास्कुना निवासी लालबहादुर केसीले आफ्नो हजुरआमा गौमती केसीको नाममा रु २५ लाखको अक्षयकोष घोषणा गर्नुभएको छ । सो कार्यक्रममा सहयोगदाता केसीको हजुरआमा गौमती सहित उहाँको परिवारलाई विद्यालयले भव्य स्वागत तथा सम्मान गरेको थियो । त्यस्तै शुक्रवार नै सिंगा निवासी लाल बहादुर खत्री र कमल कुमारी भट्टचनको परिवारले ५ लाख ५५ हजार ५५५ को दरले आर्थिक सहयोग गर्नुभएको छ ।
त्यसैगरि चन्द्रबहादुर बानियाँको परिवारबाट रु ३ लाख ३ हजार ३३३, लक्ष्मीदेवी श्रेष्ठको परिवारबाट ३ लाख ३० हजार सहयोग गर्नुभएको छ । कार्यक्रममा अन्य पूर्व विद्यार्थी, शिक्षक तथा अभिभावकहरुबाट समेत आर्थिक सहयोग भईरहेको छ । विद्यालयले आर्थिक सहयोग गर्ने दाताहरुलाई भव्य सम्मान समेत गरेको छ । मुल संयोजक मोहन प्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि विद्यालयका पूर्व विद्यार्थी एवम् राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर मिनबहादुर श्रेष्ठले विद्यालयबाट अध्ययन पुरा गरि बाहिरीएका हरेक विद्यार्थीको भावनालाई विद्यालयले आयोजना गरेको पुनर्मिलन कार्यक्रमले समेटेको बताउनुभयो ।
उहाँले विद्यालयको शैक्षिक तथा भौतिक विकासको महत्वपूर्ण स्रोत विद्यालयका पूर्व विद्यार्थी, शिक्षक तथा अभिभावकहरु नै हुने भएकाले विद्यालयले आयोजना गरेको कार्यक्रम रचनात्मक रहेको बताउनुभयो । कार्यक्रममा प्रदेश सभा निर्वाचन क्षेत्र क का नवनिर्वाचित साँसद विनोद केसीले धौलागिरि माविले सुरु गरेको यस कार्यक्रमले विद्यालयको चौतर्फि विकासमा सहयोगी बन्ने बताउँदै यो कार्यक्रम नमुना रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी डाक्टर जिवन बानियाँ, डाक्टर टिका कार्की, दिननाथ पौडेल, जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठ, वडा अध्यक्ष गोविन्द पौडेल, पूर्व प्रअ एवम् स्रोत व्यक्ति केशबप्रसाद रेग्मीले सामुदायिक विद्यालयको शैक्षिक विकासमा समुदायस्तरबाट गरिएका प्रयास प्रसंसनिय रहेको उल्लेख गर्दै सबै क्षेत्रको सहयोग र समन्वयले मात्रै शैक्षिक सुधार सम्भव रहेकोमा जोड दिनुभयो । कार्यक्रममा सहयोगदाता कमलकुमारी भट्टचन, विद्यालयका पूर्व विद्यार्थी चन्द्रमणी सापकोटा, सहयोगदाता रणविर थापा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । सो अवसरमा विद्याबारिधि गर्न सफल विद्यालयका पूर्व विद्यार्थीहरु डा. मिनबहादुर श्रेष्ठ, डा. टिकाबहादुर कार्की, डा. जिवन बानियाँ र डा. चक्रबहादुर बुढाथोकिलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा शिक्षक श्रीलाल पौडेलले सहयोगदाताहरुको नामावली र सहयोग रकम सार्वजनिक गर्नुभएको थियो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अणबहादुर खड्काले स्वागत र प्रधानध्यापक डण्डपाणी सापकोटाले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा सहयोगदातालाई दोसल्ला र सम्मानपत्रद्धारा बाजागाजाको साथमा सम्मान गरिएको थियो भने गायीका लाली बुढाथोकी सहित स्थानीय कलाकारहरुको समते विविध साँस्कृतिक प्रस्तुती राखिएको थियो । सो अबवरमा विविध खेलकुद कार्यक्रम समेत आयोजना गरिएको विद्यालयले जनाएको छ ।
शुक्रवारसम्म सहयोग गर्ने दाताहरुको नामावली
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l