बेग र बाँदुक जोड्ने नेपालकै लामो झोलुङ्गे पुलको निर्माण कार्य तिब्र

  • ७ पुष २०७४, शुक्रबार
  • कमल खत्री
  • 4131 पटक पढिएको

म्याग्दी, ७ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बाँदुक गाउँलाई जोड्नका निर्माणधिन झोलुङ्गे पुलको पूर्वाधार निर्माणले तिब्रता पाएको छ । तीन बर्ष अगाडी सिलन्यास गरिएको उक्त ३ सय ६५ दशमल ८० मिटर लामो झोलुङ्गे पुल नेपालकै लामो हुने भएको छ । पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको जिल्ला समन्वय समितिका झोलुङ्गे पुल सम्पर्क व्यक्ति समेत रहेका असिस्टेन्ट सव–इन्जिनियर बालकृष्ण पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार, यो पुल निर्माण सम्पन्न भएमा अहिलेसम्मको तथ्याङ्क अुनसार नेपालकै लामो हुने भएको छ । बेग र बाँदुक गाउँको बिचमा रहेको बेगखोलाको खोचमाथि निर्माण हुन लागेको यस झोलुङ्गे पुल १४८ मिटर भन्दा बढी अग्लो हुने प्राविधिहरुको अनुमान छ । जिल्ला समन्वय समितिले रु ३ करोड ३२ लाख लागतमा निर्माण गर्न लागेको यस पुलको करिब ८५ प्रतिशत बढी काम सम्पन्न भएको असिस्टेन्ट सव–इन्जिनियर पौडेलले बताउनुभयो ।

पुल निर्माणमा टिविएसयु पोखराबाट लठा र बुल डग ग्रिप उपलब्ध भएको छ । मुक्तिनाथ–जिता जेभि कम्पनीले अहिले पुलको लठा तानेर फिनिसिङको लागि आबश्यक कार्यहरुलाई तिब्रता दिएको छ । पुल निर्माणको लागि जिल्ला समन्वय समिति र स्थानीयको रु ३६ लाख बराबरको लगानीमा दुबै तर्फबाट पहुँचमार्ग विस्तार गरिएको थियो । दुई महिनाभित्रमा निर्माण कार्य सम्पन्न हुने यस नेपालकै लामो झोलुङ्गे पुल निर्माण भएपमा बाँदुकदेखि बेग गाउँ वारपारको लागि लाग्ने करिब ३ घण्टाको यात्रा ३० मिनेटमै छोटीनेछ ।

यस पुल निर्माण पश्चात भूरुङ तातोपानी, दोवा, बाँदुक, बेग हुँदै धौलागिरि आईसफल पदमार्गले समेटीएको पर्यटकीय रुइसे पुग्ने पदमार्गको समेत परिकल्पना गरिएको छ । यो झोलुङ्गे पुल निर्माण भएपछि रघुगंगा गाउँपालिका क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने स्थानीयबासी दलप्रसाद तिलिजाले बताउनुभयो । बेनी–जोमसोम सडकखण्ड अन्र्तगत बेगखोला र तिप्याङबाट यस झोलुङ्गे पुल सम्म पुग्नको लागि सडक सञ्जाल समेत विस्तार भईसकेकाले मुस्ताङ जाने पर्यटकहरुलाई समेत आकर्षित गर्ने र पर्यटक आगमन बढ्ने स्थानीयको अपेक्षा छ । तस्बिरः दलप्रसाद तिलिजा/बालकृष्ण पौडेल 

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l