छोरा बचाउन ६८ वर्षीय आमाले मृगौला दिदै, आर्थिक सहयोगका लागि अपिल

  • ६ पुष २०७४, बिहीबार
  • 1757 पटक पढिएको

म्याग्दी, ०६ पुस । दुबै मृगौला खराब भएका कारण राजधानी स्थित राष्ट्रिय मृगौला प्रत्यारोपण केन्द्र बनस्थलीमा गत साउन ६ गते देखि उपचाररत धौलागीरी गाउपालिका – ५ मल्कबाङ्गका ३१ वर्षीय धनबहादुर बुढाथोकिलाई लाइ बचाउन आफ्नी ६८ वर्षीय आमाले मृगौला दान गर्ने भएकी छिन । मृगौला प्रत्यारोपण केन्द्रको सिफारिसमा मनमोहन मेमोरियल मेडिकल कलेजमा साताको दुइ पटक डायलायसिस गराउदै आएका बुढाथोकी बैदेशिक रोजगारको लागि साउदी अरब पुगेका थिए। दुवै मृगौलामा समस्या देखिएपछि एक महिना साउदी अरबमै उपचार गराइ मृगौला प्रत्यारोपणको विकल्प सहित नेपाल फर्केका हुन्।


मानब अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा बुढाथोकीको मृगौला प्रत्यारोपण हुने प्रक्रिया अगाडी बढेको बिरामीका बुबा लिल बहादुर बुढाथोकीले जनाकारी गराएका छन् । ‘ मृगौला पत्यारोपणको लागि आमाको मृगौला मिल्यो, अब प्रक्रिया अगाडी बढेको छ, पत्यारोपणको लागि आवश्यक पर्ने आर्थिक जोहो गर्न भने कठिन भएको छ,’’ उनले भने । बुढाथोकिको मृगौला पत्यारोपणको लागि करिब ८ देखि १० लाख सम्म खर्च हुने बताइएको छ । लामो समय देखि राजधानीमा कोठा भाडामा लिएर उपचार गराउदै आएको बुढाथोकी परिवारमा मृगौला पत्यारोपणको प्रकृया अगाडी बढेर आसा र खुशी पलाए पनि आर्थिक समस्याले भने पिरोल्न थालेको छ । हाल सम्म विभिन्न मुलुकमा रहेका नेपालीहरु र संघ संस्थाले गरेको सहयोगबाट खर्च टार्दै आएको र सहयोगकै आसा अपेक्षामा प्रत्यारोपणको आँट आएको परिवारले बताएका छन् ।
पिडित परिवारले सहयोगका लागि आफन्त र देश तथा बिदेशमा रहेका नेपालीहरुलाई अपिल समेत गर्दै आएका छन् । हाल सम्म करीब ३ लाख सहयोग प्राप्त भएको र सहयोगको आस्वासन मिलिरहेको धनबहादुरले जानकारी गराए। उनका अनुसार दुबईबाट गमान फगामी मार्फत ५० हजार , हंगकंगबाट मोना अन्तराष्ट्रिय महिला संयोजक पुर्णिमा पाइजा (आशा मगर) ले ब्यक्तीगत ५० हजार, मोना युएई द्वारा ३० हजार, म्याग्दी उद्वार समिति बहराइनबाट प्रविण छन्त्याल मार्फत १३ हजार ५ सय, इजराइलबाट तारा गर्बुजा मार्फत २५ हजार, हिरा बूढाथोकी मार्फत २५ हजार र मल्कबाङ्ग समाज युके द्वारा ९५ हजार सहयोग उपलब्ध भएको हो।
बुढाथोकीको जिबन बचाउनका लागि राष्ट्रिय मृगौला उपचार केन्द्र, धवलागिरी गाउपालिका वडा ५ को कार्यालय र नेपाल मगर संघ केन्द्रिय कार्यालयले समेत अपिल सहित सिफारिस गरेको छ। सबै कुराको व्यवस्थापन गर्न सकेमा सम्भवत दुई देखि तिन महिना भित्र बुढाथोकीको मृगौला प्रत्यारोपण हुने अस्पताल स्रोतले जनाएको छ। बुढाथोकिको सहयोग तथा जानकारीका लागि बिरामी स्वयम् को मोबाइल नम्बर ९८०८३५६७५३ बिरामीका बुबा लिल बहादुर बुढाथोकी ९८०५१६४५९७ मा सम्पर्क गर्न र सिधै सहयोग गर्न सकिने बताइएको छ ।