रघुगंगा गाउँपालिकाको झिँ देखि पाखापानीसम्मको सडक फराकिलो बनाउने कार्य तिब्र

  • ४ पुष २०७४, मंगलवार
  • 2510 पटक पढिएको

म्याग्दी, ४ पुस ।म्याग्दीको रघुगंगा गाउँपालिकाले ग्रामिण सडकलाई फराकिलो बनाउने अभियान थालेको छ । चालु आर्थिक बर्षमा गाउँपालिका कार्यालयले रघुगंगा गाउँपालिका–५ झिँदेखि वडा नम्बर ६ पाखापानी सम्मको सडकलाई फराकिलो बनाउन विनियोजन गरेको बजेटबाट अहिले धमाधम सडकलाई चौडा बनाउने कामले तिब्रता पाएको हो ।


बेनी नगरपालिका–१० पात्लेखेत र रघुगंगा गाउँपालिकाको वडा नम्बर ५ झिँको सिमाक्षेत्र आरानटोलदेखि झिँ हुँदै झिगु्रङसम्मको करिब ३ किलोमिटर सडकलाई फराकिलो बनाउने काम सम्पन्न भईसकेको गाउँपालिकाका सब–ईन्जिनियर कमल चोखालले बताउनुभयो ।
गाउँपालिकाले यस खण्डमा सडक फराकिलो बनाउन रु ३८ लाख बजेट बिनियोजन गरेको थियो । सो बजेटबाट यस अघि ३ देखि ४ मिटरसम्म चौडाई भएको सडकलाइ अहिले न्युनतम १० मिटर फराकिलो बनाईएको सब–ईन्जिनियर चोखालले जानकारी दिनुभयो ।
झिगु्रङदेखि पाखापानीतर्फ समेत सडक पराकिलो बनाउने काम भईरहेको वडा अध्यक्ष मनकुमार शेरपुजाले बताउनुभयो ।

पाखापानी– कमनाथ–कोटगाउँ हुँदै रायखोर सडक मर्मत तथा नयाँ ट्याकको लागि चालु आर्थिक बर्षमा गाउँपालिकाले रु ४५ लाख बजेट विनियोजन गरेको छ । एक महिनाभित्रमा पाखापानीसम्मको सडक फराकिलो बनाउने काम सम्पन्न हुने वडा अध्यक्ष शेरपुजाको भनाई छ ।
डोजर लगाएर सडकलाई फराकिलो बनाउने कार्यसंगै नाली, खटान भएको ठाउँमा पक्की पर्खाल र ग्याविन जाली लगाउने काम समेत संगसंगै अगाडी बढाईएको गाउँपालिका प्रमुख भवबहादुर भण्डारीले बताउनुभयो । ‘‘ भौगोलिक विकटताले गाउँपालिकामा सडक सञ्जाललाई नै प्रमुख प्राथमिकता दिएका छाँै, पुराना सडकको स्तरोन्नती संगै नयाँ ट्याक निर्माण कार्यले तिब्रता पाएको छ,’’–गाउँपालिका प्रमुख भण्डारीले भन्नुभयो ।


अहिलेसम्म विस्तार भएको सडकलाई फराकिलो बनाउने काम सम्पन्न भईसकेपछि मात्रै कोटगाउँ र रायखोरतर्फको सडकमा नयाँ ट्रयाक विस्तार गरिनेछ । सडक साँघुरो हूँदा एकतर्फी रुपमा मात्रै सवारी साधन सञ्चालन हुने र दुर्घटनाको जोखिम समेत बढीरहेको अबस्थामा न्युनतम १० मिटर चौडाको सडक निर्माणले सवारी साधन आवत जावत गर्न सहज हुने वडा अध्यक्ष शेरपुजाको भनाई छ । यसैबिच चालु आर्थिक बर्षमा नै ठाडखानीको उमी देउरालीदेखि कुईने जोड्ने सडकलाई समेत रु १० लाख बजेट विनियोज गरेको छ ।

त्यस्तै गाउँपालिकाले दग्नामदेखि दरमिजा–चिमखोला हुँदै कुईनेमंगले जोड्ने सडकलाई समेत प्राथमिकतामा राखेर काम थालेको छ ।
यो सडक निर्माण गर्ने क्षेत्रमा कडा चट्टान पर्ने भएकाले दग्नाम र चिमखोला दुबैतर्फबाट एकैसाथ सडक निर्माण सुरु हुन लागेको गाउँपालिकाले जनाएको छ । यस सडकमा गाउँपालिका र तिन वटै वडाबाट गरि कुल रु ७९ लाख बजेट विनियोजन भएको गाउँपालिका प्रमुख भण्डारीले बताउनुभयो । सडकसंगै यस बर्ष बजेट विनियोजन भएको विभिन्न ठाउँमा झोलुङ्गे पुल, टेलिफोन टावर लगायतका योजनाहरुको समेत निर्माण कार्य सुरु हुने चरणमा रहेको गाउँपालिकाले जनाएको छ ।