राज्यलाई बुझाएको हतियार १६ बर्षसम्म पनि फिर्ता भएन
- ४ पुष २०७४, मंगलवार
- 1649 पटक पढिएको
म्याग्दी, ४ पुस । तत्कालिन माओवादी द्धन्द्धको समयमा १६ बर्ष अगाडी राज्यलाई बुझाएको हतियार यहाँका एक व्यक्तिले फिर्ता लैजान पाएका छैनन् । जिल्लाको धौलागिरि गाउँपालिका–१ गुर्जाका रिद्धबहादुर छन्त्यालले नेपाल सरकारको निर्देशन अनुसार २०५८ साल फागुन २० गते बेनीमा रहेको कालिप्रसाद गणलाई एकनाले भरुवा बन्दुक बुझाएका थिए ।
सरकारको आग्रहलाई स्विकार गर्दै सेनालाई हतियार बुझाएपनि शान्ति प्रकृया सुरु भएको लामो समय भईसक्दा समेत राज्यले आफ्नो अनुमती प्राप्त बन्दुक फिर्ता नगरेको छन्त्यालले बताउनुभयो । लाईसेन्स नम्बर २७७१ भएको एक नाले १२ बोरे ओके ३९ नम्बरको एक थान बन्दुक बुझाएको र शान्ति प्रकृया आएसंगै पटक पटक सो गणमा ताकेता गर्दा समेत आफ्नो हतियार फिर्ता नभएको उहाँको गुनासो छ ।
उक्त गणले छन्त्यालको अतियार नभेटिएको भन्ने गैरजिम्मेवार प्रतिकृया दिएपछि छन्त्यालले रक्षामन्त्री भिमसेनदान प्रधानलाई भेट गरि आफ्नो हतियार फिर्ताको लागि ध्यानकर्षण गराउनुभएको छ । उहाँले हालै रक्षामन्त्रालयमा पुगेर मन्त्रीप्रधानमलाई ज्ञापन पत्र बुझाउँदै आफुले तत्कालिन सेनालाई बुझाएको हतियार खोजबिन गरि फिर्ता गर्न र हतियार हराएको भए उचित क्षतीपुर्ति दिन माग गर्नुभएको छ ।