बिजयी उमेद्वारहरुद्धारा बरंजा र अर्मनका मतदातालाई धन्यवाद

  • २ पुष २०७४, आईतवार
  • 1658 पटक पढिएको

म्याग्दी, २ पुस । प्रतिनिधि र प्रदेशसभा चुनावमा बिजयी भएका म्याग्दीका नवनिर्वाचित सांसदहरुले आईतबार मंगला गाउँपालीकाको बरंजा र अर्मनका मतदातालाई गाउँमै पुगेर धन्यवाद दिनुभएको छ । नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले आयोजना गरेको कार्यक्रममा प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा र प्रदेशसभा क्षेत्र (ख) का सदस्य नरदेवी पुनले मतदाता, नेता कार्यकर्तालाई धन्यवाद दिनुभएको हो ।

कार्यक्रममा एमालेका बैकल्पीक केन्द्रिय सदस्य समेत रहनुभएका प्रतिनिधिसभा सदस्य थापाले नेपाली काँग्रेसले जनमतको कदर गर्दै नयाँ सरकार गठनका लागि बाटो खुला गर्नुपर्नेमा विभिन्न बाहनामा सरकारको आयु लम्बाउन खोजेको बताउनुभयो ।उहाँले बामपन्थीको नेतृत्वमा गठन हुने अबको सरकार स्थिर हुने र त्यसले देशमा विकास र सम्बृद्धीको अभियान अघि बढाउने बताउनुभयो । प्रदेशसभा सदस्य नरदेवी पुनले चुनावी अभियानका क्रममा जनतासंग गरेको बाचा पुरा गर्न प्राथमिकता दिने बताउनुभयो ।


उहाँले सामाजिक परिवर्तनका लागि महिलाको आर्थिक स्रोत र शिक्षामा पहुँच बढाउनुपर्ने बताउदै जिल्ला र आफ्नो क्षेत्रको विकासका लागि स्थानीय तह, प्रदेश र संघीय सरकारबीच पुलको काम गर्ने बताउनुभयो । नेकपा माओवादी केन्द्रका केन्द्रिय महाधिवेशन आयोजक समितिका सदस्य चन्द्रबहादुर घिमीरेले एमाले माओवादीको बाम गठबन्धनलाई जनताले अनुमोदन गरीसकेकाले अब यसलाई पार्टी एकतामा रुपान्तरण गर्नतर्फ लाग्ने बताउनुभयो । मंगला गाउँपालीकाका अध्यक्ष सतप्रसाद रोकाले स्थानीय जनताको आवश्यकता, समस्यालाई प्राथमिकताका आधारमा योजना तथा कार्यक्रम बनाएर कार्यान्वयन गरिने बताउनुभयो ।

३ नम्बर वडाका अध्यक्ष कबिन्द्र रोकाको अध्यक्षता, शंकर शेरचनको स्वागत मन्तब्य र मोहनलाल सापकोटाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । बिजयी सांसदहरुको टोलीलाई स्थानीय आमा समूह, युवा कल्व, सामुदायीक वन, विद्यालयले स्वागत गरेका थिए । विगतमा चुनाव जितेपछि बिरलै गाउँ आउने गरेकोमा यसपाली गाउँमै आएर धन्यवाद दिएकोमा स्थानीयबासी खुसी भएका छन् । अघिपछि पनी नियमित गाउँमा आईराख्न स्थानीयबासीले आग्रह गरेका छन् । सांसदद्धय थापा र पुनको टोलीले बेनपा ४ थामडाँडा, मंगला ५ किमचौर र अर्मनमा पनी आईतबारनै मतदाताहरुलाई धन्यवाद दिनुभएको थियो । तस्बिर कृष्णप्रसाद सापकोटाको फेसबुकबाट