काँग्रेस म्याग्दीको समिक्षाः निर्वाचनमा प्राप्त मत उत्साहजनक भएको निष्कर्ष !
- १ पुष २०७४, शनिबार
- 1687 पटक पढिएको
म्याग्दी, १ पुस । नेपाली काँग्रेस म्याग्दीले मंसिर १० गते सम्पन्न प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनमा पार्टीलाई प्राप्त मत उत्साहजन भएको निस्कर्ष निकालेको छ । प्रत्यक्ष र समानुपातिक दुबैमा दोश्रो बनेको काँग्रेसले उक्त मतलाई संरक्षण गर्दै अघि बढ्नुपर्ने निस्कर्ष निकालेको हो । निर्वाचनपछि जिल्ला कार्य समितिका सदस्य, गाउँ इकाई सभापति, स्थानीय तहका निर्वाचित जनप्रतिनिधी सहितको समिक्षा बैठकले ०६४ र ०७० सालमा भन्दा उत्साहजनक मत पाएको भन्दै अझ सशक्त ढँगले अघि बढ्नुपर्ने आवश्यकता औल्याएका छन् ।
हरेक वडा र गाउँपालिकामा निर्वाचनका बेला जिम्मेवारी पाएका प्रमुख तथा प्रतिनिधीहरुले आफ्ना क्षेत्रको पराजयको कारण सहित पार्टी नेतृत्व समक्ष प्रतिवेदन प्रस्तुत गरेका थिए । ४५ वटै वडाका गाउँ इकाई सभापति सहितका पदाधिकारी उपस्थित वैठकले मतदातालाई धन्यबाद दिन गाउँ अभियान समेत सञ्चालन गर्ने निर्णय समेत भएको छ । सभापति खम्बीर गर्बुजाले जित र हार प्राविधिक पक्ष भएको भन्दै काँग्रेस प्रति मतदाताको विश्वासलाई कहिल्यै मर्न नदिने बताए ।
‘प्राविधिक कारण हामीले संसदीय चुनाब हा¥यौँ । तर, म्याग्दीका ६ मध्ये चार स्थानीय तहमा हाम्रो सरकार छ, त्यसबाट मतदाताका समस्याहरु सम्बोधन गर्नेछौँ’, उनले भने । सभापति गर्बुजाले वाम गठबन्धनका बीच पनि मतदाताले आफ्नो पार्टी प्रति देखाएको विश्वास अविस्मरणीय रहेको बताए । वैठकमा काँग्रेसका समग्र जिल्ला नेतृत्व, निर्वतमान सांसद रेशम बानियाँ लगायतको उपस्थिति थियो ।