जलजला गाउँपालीकाले उद्योग व्यवसायको नियमन थाल्यो

  • २९ मंसिर २०७४, शुक्रबार
  • सन्तोष गौतम
  • 2020 पटक पढिएको

जलजला २९ मंसिर । पर्वतको जलजला गाउँपालीकाले उद्योग व्यवासयको नियमन र बजार अनुगमन थालेको छ । संबिधानले दिएको अधिकार प्रयोग गर्दै आफ्नो क्षेत्रका उद्योग, व्यवसायको बिधागत अनुगमन सुरु गरेको गाउँपालीकाले दर्ताका लागि नितीगत निर्णय गर्दै प्रक्रिया अघि बढाएको छ । यसैक्रममा शुक्रबार जलजला गाउँपालीकाको पर्वत बेनी, मिलनचोक र फर्से बजारका मासु, डेरी र पशुपंक्षी औषधी पसलको अनुगमन गरिएको छ ।

गाउँपालीकाको पशु सेवा शाखाका प्रमुख पशु चिकित्सक बिमल शर्मा पौडेलको नेतृत्वमा सहायक प्रमुख जिल्ला अधिकारी ऋषीराम आचार्य, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतम, ८ नम्बर वडाका अध्यक्ष हरिविकास जिसी, प्रहरी, उद्योग वाणिज्य संघका प्रतिनिधिको उपस्थितीमा अनुगमन गरिएको हो ।

१५ वटा मासु पसलको अनुगमन गर्दा धेरैले मापदण्ड पुरा र अनुमती नलिई सञ्चालन गरेको पाईएको पशु चिकित्सक शर्माले बताउनुभयो । दर्ता नभएका मासु पसल सञ्चालकलाई मापदण्ड पुरा गरी दर्ता प्रक्रियाका लागि सात दिनको म्याद दिइएको छ ।

दर्ता प्रक्रियामा नआउने मासु पसलको शिलबन्दि गर्ने चेतावनी दिइएको शर्माले बताउनुभयो । यसैगरी गाउँपालीकाले सबै वडाका उद्योग र ब्यवसाय दर्ता प्रक्रियामा आउन आव्हान गरेको छ । पुष मसान्तसम्म पसल र व्यवसाय दर्ता गर्न म्याद दिइएको छ ।

 

सन्तोष गौतम