रघुगंगा गाउँपालीकालाई साक्षर घोषणा

  • २८ मंसिर २०७४, बिहीबार
  • धिरन खत्री
  • 1642 पटक पढिएको

म्याग्दी २८ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालीकालाई बुधबार साक्षर घोषणा गरिएको छ । रघुगंगा ५ झिँ, ६ पाखापानी र ७ चिमखोलासंगै समग्र गाउँपालीकालाईनै साक्षर घोषणा गरिएको हो । ८ वटा वडा रहेको रघुगंगाका ५ वटा वडालाई यसअघिनै साक्षर घोषणा गरिएको थियो । १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत भन्दा बढी जनसंख्याले अंक अक्षर लेखपढ गर्न सक्ने भएको आधारमा साक्षर घोषणा गरिएको जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । ५ नम्बर झिँका ९५.१०, पाखापानीका ९५.५९ र चिमखोलाका ९५.५५ प्रतिशत लक्षीत समुदाय साक्षर बनेको शिक्षा कार्यालयको तथ्याङ्कको आधारमा घोषणा गरिएको हो ।

म्याग्दीका छ वटा स्थानीय तह मध्य बेनी नगरपालीका, रघुगंगा, अन्नपूर्ण र मालीका गाउँपालीका सहित ४१ वटा वडालाई साक्षर घोषणा गरिएको छ । थप ४ वटा वडा र २ गाउँपालीकालाई साक्षर घोषणा गर्न बाँकी छ । म्याग्दीमा ४५ वटा वडा छन् । मंगला गाउँपालीकाका २ वटा वडालाई मंसिर २९ र धौलागिरीको २ वटा वडालाई पुष १४ गते तथा माघ ८ गते म्याग्दीलाईनै साक्षर जिल्ला घोषणा गर्ने तयारी भएको जिशिअ श्रेष्ठले बताउनुभयो । साक्षर घोषणासंगै पहिले लेखपढ गर्न जानेकाको सिकाईलाई निरन्तरता र क्षमत्ता अघिवृद्धीका लागि सिकाई केन्द्र सञ्चालन गरिने शिक्षा कार्यालयले जनाएको छ ।

पाखापानी स्थित अमर मावि परिसरमा आयोजित घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले साक्षर जिल्ला घोषणासंगै म्याग्दीको सामाजिक प्रतिष्ठामा बढोत्तरी हुने बताउनुहुदै घोषणालाई ब्यवहारीक रुपमा कार्यान्वयन गर्न जोड दिनुभयो ।

गाउँपालीकाका अध्यक्ष भबहादुर भण्डारीको अध्यक्षता, महेन्द्र मावि झिँका प्रअ यामबहादुर शेरपुञ्जाको स्वागत र अमर मावि पाखापानीका प्रअ युबहादुर गर्बुजाको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठ, जिल्ला समन्वय अधिकारी यामप्रसाद सुवेदी, प्रमुख प्रशासकीय अधिकृत नारायण चापागाई, नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीका अध्यक्ष जयराम सुवेदी, नेपाल शिक्षक संघ म्याग्दीका अध्यक्ष दुर्गाराम सुवेदी एकिकृत अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधि त्रिविक्रम सुवेदी, वडा ६ अध्यक्ष मनकुमार शेरपुञजा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

अमर मावि पाखापानीका स्रोत व्यक्ति बालकृष्णा उपाध्यायले ती वटा वडाको साक्षरताको तथ्याङ्क प्रस्तुत गर्नुभएको कार्यक्रममा जनप्रतिनिधि, विभिन्न राजनितिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थीहरुको उपस्थिती रहेको थियो भने विभिन्न विद्यालयका विद्याथीहरुले सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l