म्याग्दीका शताब्दी पुरुष नारच्याङका चन्द्रे फगामी

  • ३० भाद्र २०७६, सोमबार
  • 1039 पटक पढिएको

सन्तोष गौतम
नारच्याङ (म्याग्दी) ३० भदौ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ बेशीका चन्द्रे फगामीको जन्म वि.स. १९७० फागुन २८ गते भएको हो । आगामी फागुनमा उहाँको उमेर १०६ वर्ष पुरा हुदैछ् । उहाँ लौरो टेकेर घर वरपर हिडडुल गर्नुहुन्छ । खाना खान, शौचालय जान सहयोगी चाहिदैन् । कान सुन्दैनन् । गत वर्ष पोखराको हिमालयन आँखा अस्पतालमा शल्यक्रिया गरेपछि आँखा देख्नुहुन्छ । भेट्न आउने आफन्त र गाउँलेलाई चिनेर कुराकानी गर्नुहुन्छ ।

दैनिक एक घण्टा करेसाबारीमा गोडमेल गरेर बिताउने साइली छोरी डिलीसा पुर्जाले बताउनुभयो । डिलीसा र माइली छोरी ओइसा बुद्धुजाले उहाँको स्याहार गर्छन् । आइसा ८० र डिलिसा ७६ वर्षका हुनुभयो । जेठी छोरी गाउँमै आफ्नै घरमा बस्नुहुन्छ । कान्छि छोरीको भने दन्द्धको समयमा मृत्यु भएको थियो । उहाँकी श्रीमती बिलमतीको भने बीस वर्ष पहिले निधन भएको थियो । ‘अहिलेसम्म बिरामी भएर बुवालाई अस्पताल भर्ना गर्न लगेका छैनौ,’ डिलीसाले भन्नुभयो ‘ढिडो, खोले र कुखुराको मासु खुब मिठो मानेर खानुहुन्छ ।’ कोदोको पिठोको ढिडो र जाउलो उहाँको खाना हो । कुखुराको मासु पनि टुट्दैनन् ।

भेटघाट गर्न आउनेहरुलाई फगामीले भेडागोठमा बिताएको बाल्य र युवा कालको घटना सुनाउनुहुन्छ । ‘जान्ने भएदेखि भेडा गोठ बसेको थिए,’ फगामीले भन्नुभयो ‘आधा जिवन भेडाबाख्रासँगै बिताए ।’ फिरन्ते शैलीमा बर्खामा अन्नपूर्ण हिमालको फेदी र हिउँदमा बेशीका फाँटमा भेडाको अघि पछि गरर बिताउनुभयो । स्वच्छ हावापानी र उचित खानपानले गर्दा रोगले आक्रमण नगरेको फगामी बताउनुहुन्छ ।

‘बिरामी भएर अहिलेसम्म अस्पताल गएको र पसलबाट औषधी किनेर खाएको छैन,’ फगामीले भन्नुभयो ‘सामान्य बिरामी हुँदा जंगलकै जडिवुटी खान्छु ।’ घोडेपानी नयाँपुल हुदै तीन दिन पैदल हिडेर पोखरा पुगेका उहाँ अहिले गाउँमै गाडी, दैलो, दैलामा खानेपानी, हातहातमा मोवाइल सेवा भएकोमा खुसी व्यक्त गर्नुहुन्छ ।

‘हाम्रा पालमा साथीभाई भेट हुन र रमाइलो गर्न मेला जात्रा पखनुपर्दथ्यो,’ उहाँले भन्नुभयो ‘अहिले बिजुली, गाडी, मोवाइल आयो । हिजोका ती दिन सम्झीदा कथा जस्तो लाग्छ ।’
उहाँ पछिका चार पुस्ता सन्तान भएका छन् । नाति गोविन्द फगामीले आफ्नो बाजेलाई गाउँकै जेष्ठ मानेर सम्मान गरिएकोमा खुसी लाग्ने बताउनुभयो ।

वडा अध्यक्ष चन्द्रप्रकाश फगामीले उहाँ गाउँपालिका र जिल्लाकै जेष्ठ नागरिक हुन सक्ने बताउनुभयो । ‘हामीले उहाँ जस्तै अरु जेष्ठ नागरिक छन कि छैनन् भनेर खोज्दैछौ,’ वडा अध्यक्ष फगामीले भन्नुभयो ‘सय वर्ष पुगेको मान्छे देख्न र भेट्न पाउनु गौरवको विषय हो ।’

उहाँ जिल्लाको सबैभन्दा जेष्ठ नागरिक भएको अनुमान गरिएको छ । फगामी र उहाँका छोरीहरुले मासिक रुपमा पाउने सामाजिक सुरक्षा भत्ताबाट घरखर्च चलाउने गरेका छन् । उनले खेति किसानी र भेडापालेर जिविकोपार्जन गर्नुभएको थियो । ढुङ्गा माटोले बनेको एक तले घरमा बस्दै आएका छन् ।