बेनीमा पनि मनाइयो महाकवि देवकोटाको ११० औं जन्मजयन्ती

  • २१ कार्तिक २०७५, बुधबार
  • धु्रबसागर शर्मा
  • 1413 पटक पढिएको

बेनी, २१ कात्तिक । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्ती बुधवार बेनीमा पनि मनाइएको छ ।

म्याग्दी साहित्यिक समाज र पौलस्त्य साहित्यक समाजको संयुक्त आयोजनामा म्याग्दी पुस्तकालयको सभाहलमा महाकवि देवकोटाको ११० औं जन्मजयन्ती मनाइएको हो ।

कार्यक्रममा कृष्ण वानियाँ, अजयमिलन श्रेष्ठ,धु्रबलाल शर्मा,यादव पौडेल लगाएतका १८ जना साहित्यिक व्यक्तित्वहरुले महाकवि देवकोटाको कृतित्व र व्यक्तित्वको वारेमा बोल्नुभएको थियो ।

महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न शुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उहाँले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिनुभयो । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तराष्टिय स्तरमा चिनाउनुभयो ।

नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्नुभएका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिकेको पुस्तक हो ।

नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उहाँका सृजनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ ।

भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गर्नुभएको थियो भन्ने मान्यता छ । नाट्यसम्राट बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको बताउनुभएको थियो ।

चरम आर्थिक अभाव र पारिवारिक वियोगसँगै राजनीतिक सक्रियताका बीच पनि उच्चस्तरका साहित्य नेपाल र नेपालीलाई प्रदान गर्नु उहाँको साहित्यिक विशेषता हो ।

कार्यक्रम म्याग्दी साहित्य समाजका अध्यक्ष धु्रबलाल शर्माको अध्यक्षता र साहित्यकार भक्त कार्कीको संचालनमा सम्पन्न भएको थियो ।

धु्रबसागर शर्मा