सिक्दै गरेको ट्याक्सी म्याग्दी नदीमा खस्दा आमा छोरा बेपत्ता

  • १८ श्रावण २०७५, शुक्रबार
  • धिरन खत्री
  • 8498 पटक पढिएको


म्याग्दी, १८ साउन ।  सदरमुकाम बेनीको खुल्लामञ्च नजिकबाट सिक्दै गरेको ट्याक्सी म्याग्दी नदीमा खस्दा आमा छोरा बेपत्ता भएका छन् । असुरक्षित ठाउँमा सिक्दै गरेको ट्याक्सीमा डाईभिङ सिक्ने पर्वत जलजला गाउँपालिकामा बस्ने बर्ष २५ की शोभा अधिकारी खाती र उनीसंगै बसेका ८ बर्षका छोरा सागर खाती बेपत्ता भएका हुन् । म्याग्दीको मंगला गाउँपालिका २ बावियाँचौर गर भई हाल पर्वतको जलजला गाउँपालिका २ बौर बस्दै आएकी थिईन ।ध १ ज २५१ नम्बरको ट्याक्सी खसेकाे  थियो ।  अधिकारीले जिल्ला प्रहरी कार्यालय अगाडी रहेको न्यू बेनी डाईभिङ्ग इन्सिटच्यूटबाट सिक्दै आएकी थिईन । बहुउद्देश्यीय मैदानमा रहेको कृषि उपज केन्द अगाडी सिक्दै गरेकी अधिकारीको ट्याक्सी ब्याक गर्ने क्रममा खसेको देख्ने दर्शकले बताएका छन् ।


ट्याक्सी खोलामा खसे लगत्तै जिल्ला प्रहरी कार्यालयको टोली म्याग्दी नदी र कालीगण्डकी नदीमा खोजेपनि भेट्न नसकिएको प्रहरी नायव उपरिक्षक विरबहादुर बुढामगरले जानकारी दिए । असुरक्षित रुपमा ट्याक्सी चलाउदा अप्रिय घटना भएको हुदाँ सो ठाउँमा सवारी साधन सिक्न नदिने प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिए । ट्याक्सी म्याग्दी नदी हुदै कालिगण्डकीमा बगेको हुदाँ बेपता ट्याक्सीको खोजीकार्यका लागि छिमेकी जिल्ला पर्वतको प्रहरीसंग सहकार्य गरेको छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l