मराङ र मल्कवाङमा वडामै पुगेर ३० वटा उपभोक्ता समितिसँग योजना सम्झौता

मल्कवाङ, ६ माघ । म्याग्दीको धवलागिरी गाउँपालिकाले वडामै पुगेर योजना सम्झौता गर्न सुरु गरेको छ । जनप्रतिनिधी र कर्मचारीहरुको टोली वडा स्तरमै पुगेर योजना सम्झौता गर्न सुरु गरेका हुन् । चालु आर्थिक बर्ष २०८०÷०८१ मा गाउँपालिकाले सञ्चालन गर्ने विकास निर्माण योजनाहरुको उपभोक्ता समिति मार्फत कार्यान्वनय हुने योजनाहरुलाई वडा स्तरमै पुगेर सम्झौता गर्न सुरु गरिएको हो ।
घुम्ती शिविरको रुपमा योजना सम्झौता गर्न सुरु गरेको धवलागिरि गाउँपालिकाले वडा नम्बर ५ मल्कबाङ र वडा नम्बर ६ मराङमा ३० वटा उपभोक्ता समितिसँग योजना सम्झौता गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा पुगेर योजना सम्झौता गर्न अपायक पर्ने वडा नम्बर मराङ र मल्कवाङका उपभोक्ता समितिलाई लक्षित गरेर वडा स्तरमै योजना सम्झौता गरिएको गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो ।

गाउँपालिकाले उपभोक्ता समितिहरुको सहजताको लागि वडामै पुगेर योजना सम्झौता गरेको जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले मराङका १९ र मल्कवाङका ११ वटा उपभोक्ता समितिसँग सम्बन्धित वडामै योजना सम्झौताका साथै अभिमुखीकरण गरिएको जानकारी दिनुभयो ।

नागरिकलाई गाउँमै सिंहदरबार आएको अनुभव दिलाउनुका साथै उपभोक्ता समितिका पदाधिकारीहरुलाई उपभोक्ता समिति गठन, योजना सम्झौता, योजनाको कार्यान्वयन लगायतको बिषयमा अभिमुखीकरण समेत गर्न थालिएको छ । अन्य वडामा पनि घुम्ति शिविर मार्फत योजना सम्झौता गरिने प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगर, प्रमुख प्रशासकीय अधिकृत सुवेदी, योजना शाखाका रमेश पौडेल, लेखा शाखाका तिलक पौडेल, पूर्वाधार शाखाका लोकेन्द्र रावल, दिपेन्द्र थापा, रोमी भण्डारी लगायतको टोली योजना सम्झौताको लागि घुम्ति शिबिर लिएर मराङ–मल्कवाङ पुगेका थिए ।

योजनाहरुको प्रभाबकारी कार्यान्वयन संगै उपभोक्ता समितिलाई योजनाप्रति जिम्मेवार र उत्तरदायि बनाउनका लागि समेत यो बर्षदेखि अनिवार्य रुपमा उपभोक्ता समितिलाई अभिमुखीकरण गर्न थालिएको गाउँपालिकाका उपाध्यक्ष पुनले बताउनुभयो । शिविरमा वडाका अध्यक्ष, वडा सचिव र जनप्रतिनिधीहरुले सहजिकरण तथा समन्वय गर्नुभएको छ । प्राबिधिक टोलीले यसअघिनै योजनाको लागत अनुमान र डिजाइन तयार पारेका थिए । सबै प्रक्रिया पुरा गरेर योजना सम्झौता गरी पायक पर्ने ठाउँको बैंकको शाखामा गएर खाता खोल्न सिफारिस गरि पेश्की उपलब्ध गराउने ब्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ ।
योजना सम्झौता गर्न आएका उपभोक्ता समितिका पदाधीकारीहरुलाई प्राबिधिक, लेखा ब्यवस्थापन र प्रशासनिक प्रक्रियाका बिषयमा परामर्श पनि दिइएको छ । आम भेला देखि योजना फरफारक गर्ने अवस्था सम्मको नमुना सहितको उपभोक्ता समिति सहयोगी पुस्तिका लागू गरेको छ ।

वडामै योजना सम्झौता हुँदा उपभोक्ता समितिका पदाधीकारीहरुलाई पालिकामा जाने आउने समय, झञ्जट हट्नुका साथै ब्ययभार घटेको धवलागिरी–५ मल्कवाङका वडा अध्यक्ष अमर छन्त्यालले बताउनुभयो । मराङ र मल्कवाङका बासिन्दालाई धवलागिरीको केन्द्र मुनामा पुग्न मालिकाको केन्द्र दरबाङ धारापानी ताकम हुदै घुमाउरो यात्रा गर्नुपर्छ । वडामै योजना सम्झौता भएपछि उपभोक्ता समितिलाई समय र खर्चको समेत बचत भएको छ । यस वर्ष धवलागिरी गाउँपालिकाले ११६ वटा योजना कार्यान्वयन गर्दैछ् । अन्य वडाहरुमा समेत वडामै पुगेर योजना सम्झौता गर्ने गाउँपालिकाको तयारी छ ।