कुहुँमा परम्परागत खेती छाडेर व्यावसायिक बन्ने जमर्को, सिंचाइ सुविधाले कृषक उत्साहित

कमल खत्री
बेनी, २३ असार : मंगला गाउँपालिका–१ कुहुँका रन बहादुर खत्रीले ४०० बोट सुन्तला रोप्नुभएको छ । परम्परागत रुपमा धान खेती गर्दै आएको करिब पाँच रोपनी खेतमा खत्रीले व्यावसायिक सुन्तला खेती र तीन रोपनीमा केरा खेती गर्नुभएको हो । वैदेशिक रोजगारको सिलसिलामा बहराइनमा करिब दुई दशक लामो बसाईलाई बिट मार्दै स्वदेश फर्किएपछि २०७३ देखि उहाँले परम्परागत खेती छाडेर व्यावसायिक नगदे बाली सुरु गर्नुभएको थियो ।

  1. गोपाल कृषि तथा पशुपंक्षी फार्म सञ्चालन गर्नुभएका खत्रीले सुन्तला र केरा संगै तरकारी, किबी र ड्रागन फुडको समेत खेती सुरु गर्नुभएको छ । करिब १६ रोपनी जग्गामा व्यावसायिक खेती र बाख्रापालन गरेको खत्रीले बताउनुभयो । ‘‘ १२ मुरी धान फल्ने खेत सबैमा सुन्तला रोपेको छु, यो बर्षदेखि बोटमा सुन्तला फल्न थालेको छ, खेती गर्न पनि सजिलो, नगद आम्दानी पनि हुने भएकाले परम्परागत खेती छाडेर फलफुलतर्फ लागेको हुँ’’–उहाँले भन्नुभयो ।
    खत्रीको कृषि फर्ममा मौरीपालन समेत छ । व्यावसायिक बाख्रापालन समेत गर्दै आउनुएका खत्रीको फर्ममा करिब ३० वटा बाख्रा छन् । वैदेशिक रोजगार त्यागेर कृषि उद्यम गरेपछि आफ्नो परिवारका तीन जना स्वरोजगार बनेको उहाँले बताउनुभयो । ‘‘ फुलफुल संगै तरकारी खेती पनि गर्दै आएको छु, कृषि र पशुपालनबाट घरखर्च चलाउन सहज भएको छ, केरा र सुन्तलाले समेत उत्पादन दिन सुरु गरेको छ, यसबाट बार्षिक १० लाखसम्म आम्दानी हुने अनुमान गरेको छु’’–खत्रीले भन्नुभयो ।
    कुहुँमा खत्रीले मात्रै होइन यहाँका दर्जनौँ घरधुरीले परम्परागत खेतीबाली छाडेर व्यावसायिक नगदेबाली सुरु गरेका छन् । खाद्यबाली भन्दा फलफुल खेती सजिलो, रोगकिरा लागेमा प्राविधिक सहयोग लिने सुविधा भएको र आम्दानीका हिसाबले पनि लाभदायि भएकाले परम्परागत कृषिलाई रुपान्तरण गरेर फलफुल खेतिमा लागेको स्थानीय भद्रबहादुर जिसीले बताउनुभयो । धान रोप्ने खेतमा १७० वटा सुन्तलाका बोट लगाउनुभएका जिसीले सुन्तला खेती गरेको जमिनमा सिमि, भट्ट लगायतका खेती समेत हुने भएकाले लफलफु खेती लाभदायि बनेको बताउनुभयो ।
    कुहुँको मजुवा, अनबाङ, रातमाटा, खानीगाउँ लगायतका क्षेत्रमा धान र कोदो रोप्ने खेतवारीमा सुन्तला रोप्ने लहर नै चलेको छ । यहाँ सबैभन्दा धेरै सुन्तला नगेन्द्रबहादुर जिसीले १ हजार बढी बोट रोपण गर्नुभएको छ । धान र कोदो खेती गर्न लागत बढी लाग्ने र आम्दानी नहुने भएकाले व्यवसायिक रुपमा सुन्तला खेती थालेको उहाँले जानकारी दिनुभयो । यस क्षेत्रमा लालबहादुर केसी, बिरबहादुर खत्री, देवेन्द्र केसी, विष्णु जिसी, मोहन हमाल, यामबहादुर पुन, गंगा बहादुर खत्री, धर्मदक्त रेग्मी, रेशम शर्मा, दिर्घबहादुर खत्री, उदबहादुर खत्री लगायतले खेत संगै पाखोबारीमा समेत व्यावसायिक सुन्तला खेती गर्नुभएको छ ।
    विगत ७ बर्षदेखि कुहुँमा व्यावसायिक सुन्तला खेतीको लहर चलेको हो । सुरुमा सुन्तला लगाएका कृषकहरुको बगैँचाबाट सुन्तला निर्यात हुन थालेपछि अन्य कृर्षकहरु पनि सुन्तलाको व्यावसायिक खेतीमा आकर्षित बनेको कृर्षकहरुको भनाई छ । परम्परागत खेती छाडेर व्यावसायिक फलफुल खेतीमा लागेका कृषकहरुलाई अनुदानमा बोट विरुवा र औजार उपकरणमा सहयोग गरिएको वडा अध्यक्ष एकजित रोकाले जानकारी दिनुभयो । उहाँका अनुसार, सिंचाइ सुविधाले खेती गर्न कृषकहरुलाई सहज भएको छ भने नगदे बालीबाट कृषकहरुको जीवनस्तर समेत सुधार हुन थालेको छ ।
    सिंचाइ सुविधाले कृषकलाई सुविधा
    मंगला गाउँपालिका–१ कुहुँको घट्टेखोला सिंचाई योजना निर्माण भएपछि यहाँका कृषकहरुलाई कृषि खेती गर्न सहज भएको छ । परम्पारगत कुलोबाट खेतवारीमा सिंचाइ गर्दै आएका स्थानीयबासीलाई सिंचाइ आयोजना निर्माण भएपछि हरेकको खेतवारीमै पानीको सुविधा पुगेको उपभोक्ता समितिका अध्यक्ष गोविन्द खत्रीले बताउनुभयो ।
    खानेपानी, जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय म्याग्दीले पाँच बर्षको अवधिमा लगातार यस सिंचाइ आयोजनाको पूर्वाधार निर्माण गरेको हो । चालु आर्थिक बर्षमा कार्यालयबाट विनियोजन भएको रु २५ लाख बजेटबाट अपुग भएको ठाउँमा सिंचाइ सुविधा विस्तार गरिएको उपभोक्ता समितिका अध्यक्ष खत्रीले जानकारी दिनुभयो ।
    यो बर्ष २५ ठाउँमा चेम्बर निर्माण गरि तीन हजार तीन सय मिटर पाईपलाईन विस्तार गरिएको छ । घट्टेखोला सिंचाई आयोजनाबाट कुहुँको भलाबोट, अनबाङ, रातमाटा, सिरानचौर, मजुवा, खोर,ओढारमुनी, बाटुले, काप्रा, हिलेटाउका, पातलेगरा, धाप, बाइसआना लगायतको फाँटमा सिंचाइको सुविधा पुगेको छ ।
    आयोजना निर्माण भएपछि बर्खायाममा धान रोपाई र हिउँदयाममा फलफुल र हिउँदे खेतीमा सिंचाइ गर्न सुविधा पुगेको स्थानीय अगुवा कृषक भद्रबहादुर जिसीले बताउनुभयो । ‘‘ सिंचाइ नहुँदा व्यावसायिक कृषि खेती गर्न सम्भव थिएन, अहिले परम्परागत खेतीबाट व्यावसायिक उन्मुख बन्न सिंचाइ सुविधाले ठूलो राहत दिएको छ, कृषकका खेतवारीमै पानी आउने भएकाले बर्खा र हिउँद याममा बोट विरुवा र खेतीमा सिंचाई गर्न सजिलो भएको छ’’–उहाँले भन्नुभयो । घट्टेखोला सिंचाई आयोजनाबाट २५ हेक्टर खेतीयोगय जमिनमा सिंचाइ सुविधा पुगेको खानेपानी, जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयका प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।

अन्य फोटो ग्यालरीमा जानुहोस्