दुर्गम बस्ती लुलाङमा सडक पु¥याउन ‘दुधे बच्चा बोकेर महिला श्रमदानमा’

 

 

 

कमल खत्री
लुलाङ २१ माघ । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङकी मनसरा कुमाई विहिवार दिनभर पिठिउँमा दुधे बालिका बोकेर हातमा गैँची समातेर सडक खन्न व्यस्त बन्नुभयो । गाउँपालिकाको केन्द्र मुनादेखि मतलाभिर–खोरिया हुँदै वडा नम्बर २ को लमसुङ पुगेको सडकलाई लुलाङ गाउँसम्म पु¥याउन कुमाईले दुई बर्षकी छोरीलाई पिठिउँमा बोकेर श्रमदान गर्नुभएको हो ।
घरमा छोरामान्छे नभएको र गाउँमा आउन लागेको सडकमा समुदायबाट गर्नुपर्ने श्रमदानको काम गर्न आफु छोरीलाई बोकेरै आएको कुमाईले बताउनुभयो । ‘‘ श्रीमान रोजगारको लागि साउदी जानुभएको छ, घरमै आउन लागेको सडकमा श्रमदान पनि गर्नै प¥र्यो, झारा(श्रमदान) लाई त्यसै छाड्ने कुरा पनि भएन, दिनभर काम गरेँ, गाउँका सबै घरको पालो सकिएपछि फेरी पनि सडक खन्न आउँछु’’–कुमाईले भन्नुभयो ।
गाउँमा सडक सञ्जालको पहुँच नपुगेको कारण सुत्केरी हुनका लागि समेत समयमै स्वास्थ्य संस्थामा पुग्न नसकेर बिच बाटोमा नै बच्चा जन्माउनुपर्ने बाध्यता रहेको अवस्थामा सडक योजना अघि बढेपछि आफुहरु श्रमदानको लागि खुसी र हर्षित भएर लागेको कुमाईले अनुभव सुनाउनुभयो । कुमाई जस्तै साढे १ बर्षको छोरा बोकेर श्रमदानमा खट्नुभएकी रिता विकले सडक गाउँमा आउने खुसीले आफुहरु बालबच्चा बोकैर काममा आएको बताउनुभयो ।
‘‘म उपभोक्ता समितिको सदस्य पनि हुँ, छोराको बाबा पनि अरुको काममा जानुहुन्छ, म बच्चा बोकेरै भएपनि दिनहुँ यहाँ आएर काम गर्ने गरेकी छु,’’–विकले भन्नुभयो । करिब २ सय घरधुरीको बसोबास रहेको लुलाङमा सतप्रतिशत दलित समुदायको बसोबास रहेको छ । विहिवार यहाँका करिब ६० घरधुरीबाट श्रमदानमा आएकामध्ये ४० जना महिला मात्रै थिए । अन्य क्षेत्रमा सडक निर्माणमा डोजरको मात्रै प्रयोग गर्ने प्रचलन बढेको समयमा लम्सुङ–लुलाङ सडक निर्माण योजनामा भने मानिसको अधिक पयोग गरेर सडक खन्न थालिएको उपभोक्ता समितिका अध्यक्ष पलु पुनले बताउनुभयो ।
‘‘पहिरोको जोखिम रहेको र लमसुङ गाउँ र विद्यालयलाई सुरक्षित राख्नका लागि मानविय जनशक्ति परिचालन गरेर नै सडक खन्न थालेका हौँ, दैनिक रुपमा करिब ४० जनाले नियमित रुपमा काम गर्छन, समुदायबाट आलोपालोमा श्रमदानको लागि समेत आउने गरेका छन्,’’– उहाँले भन्नुभयो । यस योजनका लागि धवलागिरि गाउँपालिकाबाट चालु आर्थिक बर्षमा रु ४५ लाख बजेट विनियोजन भएको छ । मुना–लमसुङ–लुलाङ हुँदै गुर्जा सडक निर्माण योजनामा गाउँपालिकाले विनियोजन गरेको बजेटबाट उपभोक्ता समिति मार्फत निर्माण कार्य अघि बढाइएको गाउँपालिकालका उपाध्यक्ष रेशम पुनले बताउनुभयो ।
विहिवार सडकको स्थलगत अनुगमनमा पुग्नुभएका पुनले लमसुङ बस्तीमाथिबाट सडक खन्नुपरेको कारण बस्तीलाई सुरक्षित बनाउने गरि सडकका संरचना निर्माण गर्न उपभोक्ता समिति र निर्माण कार्यमा परिचालन भएका स्थानीयबासीलाई आग्रह गर्नुभयो । ‘‘ गाउँपालिकाको योजनाले लुलाङ बस्तीदेखि माथिको जंगलसम्म सडक पुग्छ, त्यहाँदेखि माथि प्रदेश सरकार मार्फत विनियोजन भएको रु ८० लाख बजेटबाट थप सडक निर्माण कार्य अघि बढाउँछौँ, संघ र प्रदेश सरकारसंग थप सहकार्य गरेर जतिसक्दो चाँडो गुर्जा गाउँमा सडकको पहुँच पु¥याउने हाम्रो प्रयास र पहलकदमी रहेको छ’’–उपाध्यक्ष पुनले भन्नुभयो ।
लम्सुङदेखि लुलाङ सडक गत पुस २८ गतेदेखि निर्माण सुरु गरिएको हो । अहिलेसम्म करिब १ किलोमिटर सडकको ट्याक निर्माण सकिएको छ । बस्तीमाथिदेखि सडक खन्नुपर्ने भएकाले सम्भव हुने ठाउँ सबैमा मानिसले नै सडक खन्ने गरिएको र ब्रेकर लगाएर कडा चटान फुटाउनुपर्ने ठाउँमा मात्रै डोजरको प्रयोग गर्ने गरिएको उपभोक्ता समितिका सचिब ज्ञानबहादुर पाईजाले जानकारी दिनुभयो । सडकमा डोजरको सट्टा मानविय जनशक्तिकै प्रयोग भएपछि स्थानीय स्तरमा रोजगारको अवसर समेत सिर्जना भएको छ । दलित समुदायको बसोबास रहेको लुलाङमा सडक पुग्न लागेको र सडक निर्माणका क्रममा रोजगारको समेत अवसर पाएपछि स्थानीयबासी उत्साहित बनेको स्थानीय युवा घनबहादुर कुमाईले बताउनुभयो ।            

अन्य फोटो ग्यालरीमा जानुहोस्