उर्जा गाउँ नारच्याङमा अझै लोकप्रिय ‘पानी घट्ट’ (तस्बिर सहित)

कमल खत्री
बेनी, २१ पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४, नारच्याङको बेंसी गाउँकी चित्रमायाँ पुर्जालाई विहानदेखि बेलुकीसम्म पानीघट्टमा भ्याइनभ्याई हुन्छ । गाउँको शिरबाट बग्ने नारच्याङ झरनाको पानीलाई उपयोग गरि पुर्जाको परिवारले पानी घट्ट सञ्चालनमा ल्याएका छन् । कुटानी पिसानीका लागि गाउँमा विद्युतबाट सञ्चालन हुने मिलपनि छन्, तर पानी घट्टमा पिसेको पिठो स्वादिलो हुने भएकाले स्थानीयबासीले अन्नलाई घट्टमै पिठो पिस्नका लागि लैजाने गर्छन् ।
स्थानीय स्तरमा उत्पादन हुने कोदो,मकै,कुहँु,फापर लगायतका अन्नलाई पिस्न स्थानीयबासीले पानी घट्टकै प्रयोग गर्दै आएका छन् । नारच्याङमा चित्रमायाँ पुर्जा र केसनारायण बुद्धजाको परिवारले दुई वटा पानी घट्ट सञ्चालन गरेका छन् । दुबै परिवारको प्रमुख आयस्रोत पानी घट्टबाट हुने आम्दानी हो । ‘‘गाउँमा जग्गाजमिन धेरै हुनेले खेती गर्नुहुन्छ, हामीले विहानदेखि बेलुकासम्म घट्ट चलाउँछौँ, हरेक अन्नको प्रतिपाथि पिसेको शुल्क बापत एकमाना अन्न राख्छौँ, यसैबाट हाम्रो परिवार धानेका छौँ’’–चित्रमायाँले भन्नुभयो ।
परम्परागत रुपमा अन्न पिसानीमा घट्ट, जाँतोहरुको मात्रै प्रयोग हुने गथ्र्यो । पुर्खाहरुले प्रयोग गरेको पानी घट्टले पिसेको पिठो नै स्वादिलो हुने र पौष्टिक तत्व खेर नजाने भएकाले आफुहरु पनि यसलाई निरन्तरता दिएको अर्का पानी घट्ट सञ्चालक बुद्धुजाले बताउनुभयो । परम्परागत समाजमा अन्न पिस्नका लागि प्रयोग हुने पानीबाट चल्ने घट्टहरु बिजुलीको सुविधा पुगेका ठाउँहरूमा विस्थापित हुनेक्रम बढ्दो छ । पिस्न छिटो हुने भएकाले विजुलीको प्रयोग गरि चल्ने मिलहरुको प्रयोग बढीरहेको सन्दर्भमा जलविद्युत गाउँको रुपमा परिचित नारच्याङमा भने पानी भट्टको लोकप्रियता घटेको छैन् ।
नारच्याङमा ५ मेगावाटको घलेम्दीखोला र ४२ मेगावाटको मिस्ट्रीखोला जलविद्युत आयोजना निर्माण सम्पन्न भैसकेका छन् । विद्युत् उत्पादनका लागि आधा दर्जनबढी आयोजनाहरु निर्माणधिन रहेको यस वडामा अन्न पिसानीमा भने पानी घट्टकै प्रयोग बढ्दो छ । यहाँ सञ्चालनका रहेका पानी घट्ट स्थानीयबासीको अन्न पिसानीको माध्ययमसंगै परम्परागत जिवनशैलिको अध्ययन, अवलोकन गर्ने थलोको रुपमा समेत विकास हुन थालेका छन् ।
शहरी क्षेत्रमा हराएका पानी घट्ट नारच्याङमा भने सञ्चालनमा रहेको देख्न पाउँदा पुरानो जिवनशैलिकको झल्को आएको पानी घट्टको अवलोकन गर्दै गर्नुभएकी बेनीकी रिम थापाले बताउनुभयो । वेशी गाउँदेखि नारच्याङ झरनाको भ्यू–पोइन्टमा उक्लने बाटैमा रहेको उक्त पानी घट्ट झरनाको अवलोकनका लागि जाने पर्यटकहरुको लागि आकर्षण समेत बनेको वडा अध्यक्ष लोकबहादुर फगामीले बताउनुभयो । अन्नपूर्ण प्रथम आधार शिविर अवस्थित यस वडामा पछिल्लो समय मनमोहक नारच्याङ झरनाको अवलोकनका लागि आउने आन्तरिक पर्यटकहरुको संख्या बढ्दो रहेको र अधिकाँशले पानी घट्टलाई पनि रुचिका साथ अवलोकन गर्ने गरेको अध्यक्ष फगामीले बताउनुभयो ।
‘‘हाम्रो परिवारको आयआर्जनको स्रोतको रुपमा घट्ट चलाएका हौँ, अहिले धेरै जना अवलोकनका लागि पनि आउँछन, घट्टको बारेमा जिज्ञासा राख्छन्, फोटो, भिडियो खिचेर लैजाने गर्छन’’–घट्ट सञ्चालक पुर्जाले भन्नुभयो । नारच्याङको घरापमा समेत पानी घट्ट सञ्चालमा थियो । केहि बर्ष अघि कालीगण्डकीमा आएको बाढीले यहाँको घट्ट बगाएको हो । करिब दुई दशक अघिसम्म नारच्याङको लेकगाउँमा पाँच वटा, वेसीमा चार वटा र घरापमा तीन वटा पानी घट्ट सञ्चालनमा थिए । विजुलीको सुविधा संगै पानी घट्ट विस्थापित भएको अवस्थामा पुनः दुई वटा नयाँ पानी घट्ट सञ्चालनमा आएपछि राहत भएको स्थानीयबासीको भनाई छ ।
नारच्याङ संगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा समेत स्थानीयबासीले पानी घट्टलाई निरन्तरता दिएका छन् । दानाको घट्टेडाँडामा मात्रै ८ वटा पानी घट्ट सञ्चालनमा छन् । बिजुली मिलमा छिटो हुने भएपनि स्वाद हराउने भएकाले स्थानीयबासीले अन्न पिस्नलाई पानी घट्टकै प्रयोग गर्ने गरेको निवर्तमान वडा अध्यक्ष समेत रहनुभएका पानी घट्ट सञ्चालक नरसिंह पुर्जाले बताउनुभयो ।
यहाँका पानी घट्टमा परम्परागत प्रविधिकै प्रयोग गरिएको छ । दानाका यि घट्टमध्ये तीन वटा स्थानीय ज्ञान प्रकाश माविको आयस्रोतमा टेवा पु¥याउने उदेश्यले स्थापना गरिएका थिए । पछि घट्ट जिर्ण भएको र मर्मतमा बढी खर्च लाग्ने भएपनि विद्यालयलाई आयआर्जन हुन छाडेको विद्यालयका पूर्व प्रधानध्यापक समेत रहनुभएका पुर्जाको भनाई छ । अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा समेत पानी घट्ट सञ्चालनमा छ । परम्परागत रुपमा पानी घट्ट सञ्चालन भएका ठाउँलाई ‘घट्टेखोला’ र ‘घट्टेकुलो’ नामाकरण गर्ने प्रचलन थियो । म्याग्दीका करिब एक सय पचास बढी स्थानलाई यिनै नामले चिन्ने गरिन्छ ।  

अन्य फोटो ग्यालरीमा जानुहोस्