काँग्रेस म्याग्दीको पालिका अधिवेशनमा दुई समूहको कडा प्रतिस्पर्धा, कस्ले मार्ला बाजी ?

म्याग्दी ८ असोज । नेपाली काँग्रेस म्याग्दीको असोज ९ गते हुन लागेको गाउँपालिका तथा नगरपालिका स्तरीय अधिवेशनमा दुई समूहबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । पार्टीको केन्द्रमा रहेको संस्थापत र संस्थापन इतर पक्षको गुट समूहकै प्रतिस्पर्धाको रुपमा जिल्लामा समेत प्रभाब देखिएको छ । पार्टी सभापति शेरबहादुर देउवा पक्ष मानिने जिल्ला सभापति खमवीर गर्वुजा र बरिष्ठ नेता रामचन्द्र पौडेल निकटका पूर्व जिल्ला सभापति रेशमबहादुर बानियाँ पक्षबाट पालिका अधिवेशनमा नै छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् ।


एक नगरपालिका र ५ गाउँपालिका रहेको म्याग्दीमा बेनी नगरपालिका र रघुगंगा गाउँपालिकाको अधिवेशनमा दुई पक्षले खुलेरै नेतृत्वको होडबाजीमा छन् । बेनीमा विक्रम बोगटी र रविन्द्र कार्कीले दुई छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी घोषणा गरेका छन् । कार्कीलाई गर्वुजा र बोगटीलाई बानियाँ पक्षको समर्थन रहेको छ ।

त्यसैगरि रघुगंगा गाउँपालिकाको नेतृत्वमा समेत दुई पक्षबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । औपचारिक रुपमा कसैले पनि उम्मेदवारी घोषणा नगरेपनि पार्टीको आन्तरिक रुपमा दुवै पक्षले आ–आफ्नो उम्मेदवार तयार गरेका छन् । गर्वुजा पक्षबाट वडा नम्बर ६ पाखापानीका वडा अध्यक्ष समेत रहनुभएका युवा नेता मनकुमार शेरपुञ्जा र बानियाँ पक्षबाट गाउँपालिका अध्यक्ष समेत रहनुभएका पाका नेता भबबहादुर भण्डारी सभापतीको होडमा हुनुहुन्छ । रघुगंगामा वडा नम्बर ३ का वडा अध्यक्ष समेत रहनुभएका काँग्रेसको वर्तमान पालिका सभापति जीवनकुमार मल्ल समेत नेतृत्वको लागि आकाँक्षी देखिएको बताइएको छ । यद्यपी मल्लले आन्तरिक रुपमा शेरपुञ्जालाई समर्थन जनाउने स्रोतले बतायो ।

अन्नपूर्ण गाउँपालिकाको सभापतिमा समेत दुईपक्षबिच नै प्रतिस्पर्धा हुने देखिएको छ । बानियाँ पक्षबाट वडा नम्बर ६ का वडा अध्यक्ष समेत रहनुभएका कृष्णप्रसाद बरुवालले औपचारिक रुपमा सभापतिको उम्मेदवारी घोषणा गर्नुभएको छ भने गर्वुजा पक्षको समर्थनमा वडा नम्बर ५ का कार्यबहाक वडा अध्यक्ष राजेश तिलिजालाई सभापतिको रुपमा अघि सार्ने चर्चा चलेको छ । तिलिजाले पालिका नेतृत्वको लागि आफुले तयारी थालिसकेको बताउनुभएको छ । यहाँ दुबै प्रतिस्पर्धीले आफुले नेतृत्व लिने दावि गरेका छन् । यता, मंगला, मालिका र धवलागिरि गाउँपालिकामा भने सर्वसम्मत रुपमा नेतृत्व चयनको प्रयास अन्तिम चरणमा पुगेको बताइएको छ । जसमा मंगलामा नरसिंह केसी, मालिकामा खिम पुन र धवलागिरिमा प्रेम पुनलाई सर्वसम्मत सभापति चयन हुने काँग्रेसजनमा चर्चा चलेको छ । यद्यपी तीनै पालिकामा घोषित नभएपनि आन्तरिक रुपमा नेतृत्वको लागि अन्य व्यक्तिले समेत आकाक्षी देखिएको बुझिएको छ ।

नजिकिदै गरेको ७ औँ जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा हुन लागेको पालिका अविधेशनलाई मिनि जिल्ला अधिवेशनको रुपमा समेत हेरिएको छ । पालिकामा हुन लागेको प्रतिस्पर्धालाई जिल्ला सभापतिको होडमा रहनुभएका वर्तमान सभापति गर्वुजा र निवर्तमान जिल्ला सभापति बानियाँ बिचकै प्रतिस्पर्धाको रुपमा हेरिएको छ । पालिका लगतै हुने प्रदेश निर्वाचन समितिको अधिवेशनमा समेत बानियाँ र गर्वुजा पक्षकै प्यानल प्रतिस्पर्धामा जाने देखिएको छ ।

अन्य फोटो ग्यालरीमा जानुहोस्