राष्ट्रिय र विदेशी खेलाडीहरुको सहभागीताले चौथो बौद्ध कप फुटबलमा रौनकता थपियो
- २० कार्तिक २०८३, बिहीबार
- 1 पटक पढिएको
म्याग्दी १९ कात्तिक । म्याग्दी सदरमुकाम बेनीमा जारी सर्वाधिक पुरस्कार राशिको चौथो बौद्ध कप खुला फुटबल प्रतियोगितामा स्थानीय देखि राष्ट्रिय र विदेशी खेलाडीहरुको सहभागीताले खेलकुद रौनकता थपिएको छ । प्रतियोगिताको दोस्रो दिन भएको खेलमा कालिपुल युनाइटेडको तर्फबाट दुई जना विदेशी खेलाडीहरु सहभागी भएका थिए । आयोजका अनुसार, यस प्रतियोगितामा अन्य थप दुई क्लबबाट समेत विदेशी खेलाडीहरुले सहभागीता जनाउने छन् । विदेशी खेलाडी सहित शसक्त रुपमा प्रस्तुत भएको कालीपुल युनाइटेडले मालिका एफसीलाई शुन्यका विरुद्ध ५ गोल गर्दै विजयी यात्रा सुरु गरेको छ ।
विहिवार भएको खेलमा बागलुङ युनिटीलाई एभरग्रीन फुटवल क्लबले शुन्यका विरुद्ध २ गोल, जिल्ला प्रहरी कार्यालयको टिमलाई मनसुन युथ क्लबले १ का विरुद्ध २ गोल गर्दै बिजयी भएका छन् । त्यसैगर्री बौद्ध क्लबको ओरेञ्ज टिमलाई शुन्यका विरुद्ध ३ गोल गर्दै रिभरसाइड फुटवल क्लब र अर्थुङ्गे युवा क्लबलाई २ का विरुद्ध ४ गोल गर्दै बौद्ध युवा क्लबको ब्लु टिम बिजयी भएका भएका छन् । बेनीस्थित बौद्ध युवा क्लबको आयोजनामा बेनीको खुलामञ्च खेलमैदानमा कात्तिक २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १८ टोली सहभागी भएका छन् । प्रतियोगिताको विजेताले दुई लाख २२ हजार २२२ रुपैयाँ र ट्रफी प्राप्त गर्ने क्लबका अध्यक्ष दुर्गा बुढा मगरले जानकारी दिनुभयो । उपविजेताले एक लाख ११ हजार १११ रुपैयाँ र तेस्रो हुने टोलीले ५५ हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
त्यस्तै, अनुशासित टोलीलाई २२ हजार २२२ रुपैयाँ तथा उत्कृष्ट खेलाडीलाई सात हजार ७७७ रुपियाँ प्रदान गरिनेछ । उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई पनि सात हजार ७७७ रुपियाँका दरले पुरस्कार प्रदान गरिने अध्यक्ष बुढाले बताउनुभयो । स्थानीय देखि राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका खेलाडीहरुको खेल कौशल एउटै मैदानमा अवलोकन गर्न पाउँदा दर्शकहरु उत्साहित बनेको उहाँले बताउनुभयो ।