बेनीमा सर्वाधिक पुरस्कार राशिको चौथो बौद्ध कप फुटबल प्रतियोगिता सुरु
- १९ कार्तिक २०८३, बुधबार
- 5 पटक पढिएको
म्याग्दीको बेनीमा बुधबारदेखि चौथो बौद्ध कप खुला फुटबल प्रतियोगिता सुरु भएको छ । बेनीस्थित बौद्ध युवा क्लबको आयोजनामा बेनीको खुलामञ्च खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताको गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले उद्घाटन गर्नुभयो ।
प्रतियोगिताको उद्घाटन गर्दै जुग्जालीले युवाको सक्रियतामा साविक धौलागिरि अञ्चलकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता सञ्चालन हुनुले खेल प्रतिभाको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले खेल पूर्वाधार विकासका लागि तीनवटै तहका सरकारको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । 
कार्यक्रममा बेनी नगरपालिका प्रमुख सुरत केसीले बेनीको खुलामञ्च खेलमैदानलाई थप व्यवस्थित बनाउन नगरपालिकाको स्रोतसाधनले मात्र सम्भव नहुने भएकाले सङ्घ र प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । बौद्ध युवा क्लबका अध्यक्ष दुर्गा बुढामगरले चन्दा तथा सहयोग जुटाएर साविक धौलागिरि अञ्चलकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । प्रतियोगिताले जिल्लामा फुटबलप्रति युवाको आकर्षण बढाउन सहयोग पुग्ने उहाँको अपेक्षा छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले फुटबल प्रतियोगिता सञ्चालनका लागि आवश्यक पूर्वाधारको अभाव रहेकाले सरकारी निकायले पूर्वाधार विकासलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कात्तिक २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १८ टोली सहभागी भएका छन् । बुधबार बौद्ध ह्वाइट क्लब र बेनी नगरपालिका–१ को आनन्दबगर सेभेन स्टार युथ क्लबबीच उद्घाटन खेल भएको थियो । प्रतियोगिताको विजेताले दुई लाख २२ हजार २२२ रुपियाँ र ट्रफी प्राप्त गर्ने क्लबका सचिव श्यामसुन्दर कँडेलले जानकारी दिनुभयो । उपविजेताले एक लाख ११ हजार १११ रुपियाँ र तेस्रो हुने टोलीले ५५ हजार ५५५ रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, अनुशासित टोलीलाई २२ हजार २२२ रुपियाँ तथा उत्कृष्ट खेलाडीलाई सात हजार ७७७ रुपियाँ प्रदान गरिनेछ । उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई पनि सात हजार ७७७ रुपियाँका दरले पुरस्कार प्रदान गरिने सचिव कँडेलले बताउनुभयो ।
प्रतियोगिता सञ्चालन गर्न १६ लाख ५७ हजार ७७२ रुपियाँ खर्च हुने अनुमान गरिएको छ । पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगिता हेर्न दर्शकले ५० रुपियाँको टिकट लिनुपर्नेछ । प्रवेश शुल्कबाट सङ्कलित रकममध्ये ४० प्रतिशत असोजको दोस्रो साता आएको बाढीपहिरोबाट प्रभावितलाई राहतस्वरूप हस्तान्तरण गरिने क्लबका अध्यक्ष बुढामगरले जानकारी दिनुभयो । प्रतियोगिता सञ्चालनबाट बचत भएको रकम क्लबको कार्यालय भवन निर्माण तथा कोष स्थापनामा खर्च गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।