बेनीमा चौथो बौद्ध कपको तयारी पूरा

  • १८ कार्तिक २०८३, मंगलवार
  • 1 पटक पढिएको

म्याग्दी,१७ कात्तिक । बेनीमा कात्तिक १८ गते (बुधबार)देखि आयोजना हुने सर्वाधिक पुरस्कार राशीको चौथो बौद्ध कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । बेनीस्थित बौद्ध युवा क्लबको आयोजनामा बेनीको खुलामञ्च खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको क्लबका अध्यक्ष दुर्गा बुढामगरले जानकारी दिनुभयो । क्लबले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताका लागि आर्थिक व्यवस्थापन, प्रचारप्रसार, खेलमैदान व्यवस्थापन तथा स्वयंसेवक परिचालन लगायतका काम सम्पन्न भएको जनाएको छ । अध्यक्ष बुढामगरका अनुसार प्रतियोगिताको उद्घाटन बुधबार बिहान ११ बजे हुनेछ ।

प्रतियोगिताको विजेतालाई दुई लाख २२ हजार २२२ रुपियाँ पुरस्कार र ट्रफी प्रदान गरिने सचिव श्यामसुन्दर कँडेलले जानकारी दिनुभयो । प्रतियोगितामा दोस्रो हुने टिमले एक लाख ११ हजार १११ र तेस्रो हुने टिमले ५५ हजार ५५५ रुपियाँ पुरस्कार प्राप्त गर्ने छन् । त्यस्तै अनुशासित टिमलाई २२ हजार २२२ रुपियाँ, उत्कृष्ट खेलाडीलाई सात हजार ७७७ रुपियाँ प्रदान गरिने छ । उत्कृष्ट डिफेन्डर, मिडफिल्डर,स्ट्राइकर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई समेत सात हजार ७७७ रुपियाँका दरले पुरस्कारको व्यवस्था गरिएको सचिव कँडेलले जानकारी दिनुभयो । यस प्रतियोगिताको पुरस्कार राशि साविक धौलागिरी अञ्चलमा हालसम्मकै सर्वाधिक रहेको क्लबले जनाएको छ । स्वदेश तथा विदेशमा रहेका म्याग्देली युवाहरुबाट चन्दा सहयोग जुटाएर प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष बुढामगरले बताउनुभयो ।

प्रतियोगिता संचालन गर्न १६ लाख ५७ हजार ७७२ रुपियाँ खर्च हुने अनुमान गरिएको छ । पाँचदिन सम्म सञ्चालन हुने प्रतियोगितामा दर्शकले ५० रुपियाँको टिकट लिएर मात्र खेल हेर्न पाउने छन् । प्रवेश शुल्कबाट संकलन भएको रकम मध्य ४० प्रतिशत रकम असोजको दोस्रो साता आएको बाढीपहिरो प्रभावितहरुलाई राहत स्वरुप हस्तान्तरण गरिने क्लबका अध्यक्ष बुढामगरले जानकारी दिनुभयो । प्रतियोगिता सञ्चालन गरेर बचेको रकमबाट क्लबका लागि कार्यालय भवन र कोष स्थापना गर्ने लक्ष्य रहेको अध्यक्ष बुढामगरले जानकारी दिनुभयो ।