दिपशिखा माविलाई प्रविधिमैत्री व्यवसायिक नमुना विद्यालय बनाउन महायज्ञ आयोजना

  • १५ कार्तिक २०८३, शनिबार
  • 3 पटक पढिएको

म्याग्दी १४ कात्तिक । म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँस्थित दिपशिखा माध्यमिक विद्यालयलाई प्रविधिमैत्री व्यवसायिक नमुना विद्यालय बनाउनका लागि महायज्ञ आयोजना गरिएको छ । विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने र भौतिक पूर्वाधारलाई स्तरोन्नती गर्दै प्रविधिमैत्री शिक्षणका लागि विद्यालयले आर्थिक संकलन गर्न महायज्ञ आयोजना गर्न लागेको हो । आगामी कात्तिक २६ देखि मंसिर ३ गतेसम्म विद्यालय परिसरमा महायज्ञ सञ्चालन गर्न लागिएको हो । ‘म्याग्दी मालिका टोड्के शैक्षिक एवं धार्मिक महोत्सव, श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञ’ नाम दिइएको महायज्ञको तयारी तीव्र पारिएको विद्यालयले जनाएको छ । महायज्ञ सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण, प्रचारप्रसार तथा व्यवस्थापकीय काम अघि बढाइएको छ ।
विद्यालयलाई आवासीय सुविधासहित सञ्चालन गर्ने, सूचना प्रविधिको प्रयोगमार्फत स्मार्ट विद्यालयको अवधारणा कार्यान्वयन गर्ने, शिक्षण सिकाइ उपलब्धि तथा शैक्षिक गुणस्तर वृद्धि गर्ने र खेलमैदान निर्माणका लागि जग्गा खरिद गर्ने लक्ष्य राखिएको विद्यालयका प्रधानाध्यापक नन्दबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार भौगोलिक रूपमा विकट, विद्यालयसम्म आउजाउ गर्न कठिनाइ हुने तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई आवासीय सुविधा उपलब्ध गराउने योजना छ । आवासीय सुविधासँगै अतिरिक्त कक्षा सञ्चालन गरी विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्ने विद्यालयको लक्ष्य रहेको उहाँले बताउनुभयो ।
प्रविधिमैत्री शिक्षण सिकाइ र गुणस्तरीय शिक्षा प्रदान गर्न सके अध्ययनका लागि बालबालिकालाई सहर बजारका विद्यालयमा पठाउनुपर्ने बाध्यता कम हुने अपेक्षा विद्यालयले गरेको छ । महायज्ञबाट तीन करोड रुपैयाँ संकलन गर्ने र खर्च कटाएर दुई करोड रुपैयाँ बचत गर्ने लक्ष्य राखिएको विद्यालयका सहायक प्रधानाध्यापक हरिकृष्ण भट्टराईले बताउनुभयो । महायज्ञमा पण्डित दीनबन्धु पोखरेलबाट श्रीमद्भागवत कथा वाचन हुनेछ । सप्ताहव्यापी कार्यक्रममा भागवत पाठपारायण, पूजाआजा, भजनकीर्तन, कलशयात्रा, आरती तथा झाँकी प्रदर्शनलगायत धार्मिक कार्यक्रम सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।

वि.सं. २०१७ सालमा स्थापना भएको दिपशिखा माध्यमिक विद्यालयमा हाल कक्षा १ देखि १२ सम्म पठनपाठन हुँदै आएको छ । विद्यालयमा अहिले १९६ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डेकबहादुर घर्ती क्षेत्रीका अनुसार विद्यालयले वि.सं. २०४७ सालदेखि माध्यमिक तह र २०६५ सालदेखि कक्षा ११ र १२ को पठनपाठन सञ्चालन गर्दै आएको छ । लामो शैक्षिक इतिहास बोकेको विद्यालयलाई आवासीय सुविधासहित प्रविधिमैत्री र गुणस्तरीय शैक्षिक संस्थाका रूपमा विकास गर्ने उद्देश्यले आयोजना गर्न लागिएको महायज्ञलाई सफल बनाउन विद्यालयले स्थानीय अभिभावक, पूर्वविद्यार्थी, समाजसेवी, संघसंस्था तथा देशविदेशमा रहेका सहयोगदातासँग सहयोगको अपेक्षा गरेको छ ।