बेनी मालढुङ्गा सडक सुचारु भएपछि पाँच दिनपछि पोखरासँग जोडियो बेनीको सडक सम्पर्क

  • १४ आश्विन २०८३, बुधबार
  • 1 पटक पढिएको

 

म्याग्दी, १४ असोज । लगातारको वर्षापछि आएको बाढीपहिरोका कारण पाँच दिनदेखि अवरुद्ध बनेको बेनी–पोखरा सडक बुधबार साँझदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ । सडक मर्मतपछि म्याग्दीको सदरमुकाम बेनीको गण्डकी प्रदेशको राजधानी पोखरासँग पुनः सिधा यातायात सम्पर्क स्थापित भएको हो ।
पर्वतको कुश्मा नगरपालिका–१ सहस्रधारादेखि म्याग्दीको बेनीसम्म विभिन्न स्थानमा कालीगण्डकी नदीको कटान र पहिरोका कारण सडक क्षतिग्रस्त भएपछि असोज १० गते रातिदेखि बेनी–पोखरा सडक अवरुद्ध भएको थियो ।

मध्यपहाडी लोकमार्ग आयोजनाले पर्वतको सहश्रधारा र कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक योजनाले मालढुङ्गा बेनी खण्डको विभिन्न स्थानमा क्षतिग्रस्त सडक मर्मत तथा पहिरो पन्छाएपछि यातायात सञ्चालनमा आएको हो ।

म्याग्दीका प्रहरी नायव उपरीक्षक राजन कार्कीका अनुसार पर्वतको सहस्रधारा र मालढुंगा–बेनी सडकखण्डमा मर्मत भएपछि बुधबार साँझदेखि एकतर्फी रूपमा सवारीसाधन सञ्चालन हुन थालेका छन् ।

१३ किलोमिटर लामो मालढुंगा–बेनी सडकअन्तर्गत पर्वतको जलजला गाउँपालिका–७ स्थित केराबारी र लामाबगर क्षेत्रमा खसेको पहिरो पन्छाएपछि बेनीदेखि पोखरासम्म सवारीसाधन सञ्चालन हुन थालेका हुन् ।

बागलुङका यात्रुलाई पनि वैकल्पिक मार्ग

मालढुंगास्थित सडक पुलको पहुँचमार्ग कालीगण्डकी नदीको बाढीले बगाएपछि असोज ११ गतेदेखि बागलुङको प्रदेश तथा संघीय राजधानी काठमाडौंसँगको सिधा सडक सम्पर्कसमेत अवरुद्ध भएको छ । अत्यावश्यक कामका लागि बागलुङदेखि पोखरा यात्रा गर्नुपर्ने यात्रुहरूका लागि बेनी हुँदै घुमाउरो सडक प्रयोग गर्न सकिने विकल्प खुलेको छ ।
मालढुंगास्थित पुलको पहुँचमार्ग मर्मतका लागि सडक डिभिजन कार्यालयले काम अघि बढाएको छ । बाढीपहिरोका कारण अवरुद्ध बेनी–जोमसोम–कोरला सडक खुलाउनसमेत मर्मत कार्य थालिएको छ ।
इन्धन ढुवानी र उद्धारमा सहज हुने
म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले जोमसोमदेखि घाँसा हुँदै म्याग्दीको भुरुङ–तातोपानीसम्मको सडक मर्मत गरिएको र बेनीदेखि गलेश्वरसम्म यातायात सञ्चालनमा आएको जानकारी दिनुभयो । पोखरा–बेनी सडक सम्पर्क स्थापित भएपछि जिल्लामा इन्धन ढुवानी गर्न तथा अवरुद्ध सडक खुलाउन आवश्यक उपकरण परिचालन गर्न सहज हुने उहाँले बताउनुभयो । जिल्लाका मुख्य बेनी–जोमसोम, बेनी–दरवाङ, बेनी–बागलुङ र बेनी–पाखापानीसहित ग्रामीण क्षेत्रका सडक मर्मत कार्यसमेत तीव्र पारिएको छ । संघीय, प्रदेश र स्थानीय सरकारले आ–आफ्नो मातहतका सडक मर्मत गर्ने निर्णय गरे पनि प्रदेश तथा स्थानीय तहअन्तर्गतका सडक मर्मतका लागि बजेट अभाव हुन सक्ने म्याग्दी प्रदेशसभा क्षेत्र १(ख) का सांसद रेशम जुग्जालीले बताउनुभएको छ ।
लगातारको वर्षापछि आएको बाढीपहिरोले सडक, पुल तथा अन्य पूर्वाधारमा क्षति पु¥याउँदा म्याग्दी र आसपासका जिल्लाको जनजीवन प्रभावित बनेको छ । सडक सम्पर्क पुनःस्थापित भएसँगै यात्रु आवागमन, अत्यावश्यक सामग्रीको आपूर्ति तथा विपद् प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका कामलाई सहज हुने अपेक्षा गरिएको छ ।