रघुगंगा गाउँपालिकामा करदाता सेवा सञ्चालन

  • २८ श्रावण २०८३, बिहीबार
  • 9 पटक पढिएको

म्याग्दी २७ साउन — रघुगंगा गाउँपालिकाले गाउँपालिकामै करदाता सेवा सञ्चालन गरेको छ। गाउँपालिकाले साविकमा आन्तरिक राजश्व कार्यालय र करदाता सेवा कार्यालयहरुबाट प्रदान हुँदै आएका विभिन्न सेवाहरू स्थानीय तहमै उपलब्ध गराउने उद्देश्यले करदाता सेवा सुरु गरेको हो। आन्तरिक राजश्व कार्यालय बागलुङ र गाउँपालिकाबिच भएको समझदारी बमोजिम करदाता सेवा सुचारु गरिएको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले जानकारी दिए ।    उनका अुनसार, यस सेवा सुचारु गरेसंगै अब पालिकाको कार्यालयबाटै गाउँपालिकाभित्र स्थायी बसोबास गर्ने व्यक्तिलाई व्यक्तिगत स्थायी लेखा नम्बर प्रदान गर्न सुरु गरिएको छ भने गाउँपालिकाभित्र दर्ता भएका व्यवसाय तथा निकायलाई व्यावसायिक स्थायी लेखा नम्बर जारी गर्ने व्यवस्था समेत गरिएको छ।
यसैगरी स्थायी लेखा नम्बर दर्तासम्बन्धी संशोधन कार्य, दर्ता खारेज भएका व्यावसायिक स्थायी लेखा नम्बरलाई व्यक्तिगत स्थायी लेखा नम्बरमा रूपान्तरण गर्ने तथा आवश्यक परे आन्तरिक राजस्व कार्यालय, बागलुङबाट सेवा प्रदान गर्ने कार्यका लागि रेफर गर्ने व्यवस्था समेत गरिएको गाउँपालिकाले जनाएको छ । बुधवार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारी र आन्तरिक राजश्व कार्यालय बागलुङका प्रमुख कर अधिकृत कपिल सिलवालले व्यवसायिक र व्यत्तिःगत लेखा नम्बरको प्रमाणपत्र प्रदान गरेर सेवाको सुभारम्भ गरेका छन् । कार्यक्रममा अनु अश्विनी कृषि तथा पशुपंक्षी फर्मका सञ्चालक भदेवी तिलिजालाई व्यवसायिक र माधव भण्डारीलाई व्यक्तिगत लेखा नम्बरको प्रमाणपत्र प्रदान गरिएको थियो । साविकको धवलागिरी अञ्चलका म्याग्दी, पर्वत, बागलुङ र मुस्ताङमा रहेका स्थानीय तहहरुमध्ये रघुगंगा करदाता सेवा सुचारु गर्ने छैठौँ पालिका बनेको प्रमुख कर अधिकृत सिलवालले जानकारी दिए । उनले संघीयताको मर्म बमोजिम संघीय सरकारले करदाता सेवालाई स्थानीय तहमा बिकेन्द्रीत गर्ने नीति अनुरुप पालिकाहरुको व्यवस्थापकिय जिम्मेवारी बमोजिम सेवालाई विस्तार गर्ने काम भइरहेको बताए । म्याग्दीमा यस अघि बेनी नगरपालिकामा करदाता सेवा सुचारु भइसकेको छ । करदाता सेवाले नागरिकलाई समय र आर्थिक बचत गराउने गाउँपालिका अध्यक्ष भण्डारीले बताए । पहाडी र दुर्गम गाउँबस्तीलाई समेत समेटेको गाउँपालिकाका नागरिकलाई करसेवा सम्बन्धि सेवा लिन बागलुङ पुग्नुपर्ने बाध्यता हटाउन पालिकाले करदाता सेवा सुचारु गरेको बताए । कार्यक्रममा उद्योग बाणिज्य संघ रघुगंगा इकाईका अध्यक्ष रमेश शर्माले ग्रामीण भेगका नागरिक र व्यवसायिहरुलाई यो सेवाले राहत मिल्ने बताए । गाउँपालिकाका लेखा अधिकृत अर्जुन गौतमले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन प्रशासकीय अधिकृत पदम भण्डारीले गर्नुभएको थियो । उक्त अवसरमा करदाता शिक्षा समेत सञ्चालन गरिएको थियो ।