समाजसेवी केसीद्वारा ज्ञानोदय माविलाई ८० हजार बराबरको पोशाक सहयोग

  • १८ श्रावण २०८३, सोमबार
  • 7 पटक पढिएको

म्याग्दी १८ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–३ स्थित ज्ञानोदय माध्यमिक विद्यालयका सल्लाहकार, समाजसेवी तथा चन्दादाता शिव केसीले विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीका लागि सदनात्मक पोशाक तथा शिक्षक–शिक्षिकाका लागि टी–सर्ट उपलब्ध गराउनुभएको छ। विद्यालयमा आयोजित विशेष कार्यक्रममा विद्यार्थी र शिक्षकहरूलाई समाजसेवी केसीले आफ्नो जन्मदिनको अवसरमा उक्त पोशाक वितरण गर्नुभएको छ। उहाँले उपलब्ध गराउनुभएको पोशाक सहयोगदाता शिव केसीका आमा मिठु केसी, भाई उज्वल केसी र बहिनी निरा खत्रीले हस्तान्तरण गर्नुभएको विद्यालयका प्रधानध्यापक अर्जुन पौडेलले जानकारी दिनुभयो । प्रअ पौडेलका अनुसार केसीले रु ८० हजार बराबरको पोशाक उपलब्ध गराउनुभएको छ । विगतका बर्षमा समेत सहयोगदाता केसीले विद्यालयका सम्पूर्ण विद्यार्थीहरुलाई ट्याकसुट उपलब्ध गराउनुभएको थियो भने विद्यालयमा नियमित रुपमा सहयोग गर्दै आउनुभएको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल खत्रीले सहयोगदाता परिवारलाई सम्मान गर्दै विद्यालयको शैक्षिक र भौतिक विकासमा समाजसेवी केसीको परिवारले गर्दै आएको सहयोगप्रति आभार प्रकट गर्नुभएको थियो ।
विद्यालयले केसी परिवारबाट विगतदेखि शैक्षिक तथा सामाजिक क्षेत्रमा निरन्तर प्राप्त हुँदै आएको सहयोगले विद्यालयको शैक्षिक वातावरण सुधार, विद्यार्थीहरूको मनोबल अभिवृद्धि तथा समुदायमा सकारात्मक सन्देश प्रवाह गर्न महत्त्वपूर्ण भूमिका खेलेको जनाएको छ। सहयोगदाता परिवारको तर्फबाट मन्तव्य राख्दै समाजसेवी उज्वल केसीले विद्यालयको उन्नती प्रगतिमा सहयोग गर्नु समुदायका सबैको साझा दायित्व रहेकोमा जोड दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खत्रीको अध्यक्षता, विद्यालयका प्रअ पौडेलले स्वागत र शिक्षक दुर्गादक्त रिजालले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।