निम्स पुर्जाको निधनमा अन्नपूर्ण गाउँपालिकाद्वारा शोक बिदा
- १७ श्रावण २०८३, आईतवार
- 3 पटक पढिएको
म्याग्दी, साउन १७ — म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल “निम्स” पुर्जाको हिमपहिरोमा परी भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै साउन १८ गते सोमबार गाउँपालिकाभर शोक बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाले आइतबार सार्वजनिक गरेको सूचनामा अन्नपूर्ण गाउँपालिका–३ दानामा जन्मिएका पुर्जाको असामयिक निधनले राष्ट्रलाई अपूरणीय क्षति पुगेको उल्लेख गरिएको छ। नेपाली पर्वतारोहण क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र नेपालको गौरव विश्वभर फैलाउन उहाँले पुर्याएको योगदान अतुलनीय रहेको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ। पुर्जाप्रति श्रद्धाञ्जली अर्पण तथा सम्मान प्रकट गर्न सोमबार गाउँपालिकाको कार्यालय, सबै वडा कार्यालय, स्वास्थ्य संस्था तथा सामुदायिक विद्यालयमा शोक बिदा दिने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ। विश्व कीर्तिमानी पर्वतारोही पुर्जा हालै हिमपहिरोमा परी निधन भएको समाचार सार्वजनिक भएपछि देशभर शोक व्यक्त गर्ने क्रम जारी रहेको छ।