हिमालबाट कीर्तिमान बनाएर हिमालमै बिलाए म्याग्देली निम्स दाइ
- १६ श्रावण २०८३, शनिबार
- 3 पटक पढिएको
म्याग्दी १६ साउन । विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल ६ महिनामै आरोहण गरेर कीर्तिमान बनाएका नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) को निधन भएको छ । पाकिस्तानको ब्रड पिकमा हिमपहिरोमा परी वेपत्ता भएका पुर्जा सहितका आरोहीहरुको शब शनिवार फेला परेको हो ।
विहिवार हिम पहिरोमा परेका पुर्जा नेतृत्वको १० जना आरोहीहरुको समूह सम्पर्क विहिन बनेपछि शुक्रवारदखि पाकिस्तानी सेनाको अग्रसरतामा खोजी तथा उद्धारको काम सुरु भएको थियो । पुर्जाले पर्वतारोहणमा नेपालीको योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएका थिए र उनका साहसिक उपलब्धिहरूले नयाँ पुस्तालाई प्रेरित गरेका थिए।
उनको निधनले नेपाली तथा अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायमा ठूलो क्षति पुगेको छ। कीर्तिमानी नेपाली पर्वतारोही उनको निधन भएको एलिट एक्स्पेडले पुष्टि गरेको हो । पुर्जा एलिट एक्स्पेडका संस्थापक पनि हुन् ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा जन्मिएका पूर्वबेलायती विशेष फौजी सैनिकसमेत रहेका ४३ वर्षीय पुर्जासहितको टोली बिहीबारको हिमपहिरोमा परेका हुन् ।
पाकिस्तानी पर्वतारोहण अधिकारीहरूले घटनापछि पुर्जासहितको आरोहण टोलीसँग कुनै सम्पर्क हुन नसकेको बताएका थिए । प्रतिनिधिसभा सदस्य तथा पुर्जाका व्यावसायिक साझेदार मिङ्मा ग्याबु शेर्पाले हिमपहिरोपछि ट्र्याकिङ डेटाले पुर्जाको अवस्थिति पहिला तलतिर बगेको र त्यसपछि सिग्नल रोकिएको स्थानबाट फेरि केही सरेको देखाएको बताएका थिए । तर, एलिट एक्स्पेडले शनिबार अपराह्न पुर्जासहित अन्य दुई सदस्यको समेत निधन भएको जनाएको हो ।
नेपाल र अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायमा ‘निम्स दाइ’ का नामले परिचित पुर्जा सन् २०१९ मा आफ्नो ‘प्रोजेक्ट पसिबल’ अभियानमार्फत विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल ७ महिनामै आरोहण गर्ने लक्ष्य लिएर चर्चामा आएका थिए । उनले त्यो लक्ष्य ६ महिना ६ दिनमै पूरा मात्र गरेनन्, त्यस्ता सबै हिमाल आरोहण गर्ने दक्षिण कोरियाली नागरिक किम चाङ–होले बनाएको सात वर्षभन्दा अघिको विश्व कीर्तिमान पनि तोडेका थिए ।
पुर्जाले आफ्नो जीवनको अधिकांश समय हिमाल आरोहणमा मानव सहनशीलताको चरम सीमालाई चुनौती दिँदै बिताए । २५ जुलाई १९८३ मा म्याग्दीको दाना गाउँमा पुर्जाको जन्म भएको थियो । उनको बाल्यकाल भने मुख्यतः चितवनमा बित्यो । सैन्य सेवासँग उनको परिवारको लामो सम्बन्ध थियो । उनका बुबा र तीन दाजुभाइ सबै बेलायतको गोर्खा रेजिमेन्टमा कार्यरत थिए । पुर्जाले पनि त्यही बाटो पछ्याउँदै ६ वर्ष बेलायती गोर्खा सैनिकका रूपमा सेवा गरे । त्यसपछि बेलायती रोयल नेभीको ‘स्पेसल बोट सर्भिस (एसबीएस)’ मा छनोट हुने पहिलो नेपाली बने । ‘गोर्खा सैनिक बन्नु नै मेरो एक मात्र सपना थियो,’ उनले आफ्नो पुस्तकमा लेखेका छन्, ‘म जीवनमा त्यही मात्र गर्न चाहन्थेँ ।’
करिब १६ वर्ष लामो सैनिक सेवाका क्रममा उनी एसबीएसको पर्वतीय इकाइमा अत्यधिक चिसो मौसममा युद्ध सञ्चालनसम्बन्धी विशेषज्ञ बने । सैनिक सेवा र पर्वतारोहणमा पु¥याएको योगदानका लागि सन् २०१८ मा उनलाई ‘मेम्बर अफ द अर्डर अफ द ब्रिटिस एम्पायर (एमबीई)’ बाट सम्मान गरिएको थियो ।