चिनाखेतमा बाढी–पहिरो, बृद्ध महिलाको साहसले टर्यो थप मानविय क्षतिको खतरा

  • १२ श्रावण २०८३, मंगलवार
  • 3 पटक पढिएको

कमल खत्री
बेनी नगरपालिका–३ भकिम्लीको चिनाखेतमा गाउँको बिचबाट बग्ने खोल्सा छ । हिउँदयाममा पानि समेत नहुने यो खोल्सामा बर्खायाममा सानो खोलाको रुपमा बग्ने गर्छ । साउन १० गते राती भिषण बर्षा भयो । खोल्सामा बाढी आएर खोला ठूलो हुँदै गयो । मध्यरातमा त्यहि खोल्सामा भिषण पहिरो खस्यो । ठुलो आवाज सहित बस्तीमाथिबाट खसेको पहिरोले स्थानीय ७० बर्षिय लालबीर छन्त्यालको मृत्यु भयो ।
घरको भुइँतलामा मस्त निदाएका लालबीरको सुतेकै ठाउँमा पहिरोले पुरिएको अवस्थामा सोमबार विहान शब फेला परेको हो । राती पहिरोले घर पुरिएपछि बेपत्ता भएका छन्त्यालको विहान खोजतलास गर्ने क्रममा स्थानीयले शब फेला पारेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरिक्षक सागर तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार, पहिरोले लालवीरको दुई तल घर पूर्ण रुपमा नष्ट भएको छ ।
पहिरो गएको घरमा लालवीरका दम्पती सहित तीन जना सुतेका थिए । माथिल्लो तलामा ६ बर्षका नाती दर्पणलाई संगै सुताउनुभएकी लालबीरकी श्रीमती दिलमतीले भने केहि सेकेन्डले आफु र नातीको ज्यान जोगाउनुभएको स्थानीय शिक्षक चमेली थापाले बताउनुभयो । ‘‘घरमाथिबाट पहिरो खसेको आवाज सुनेपछि निदाएका नातीलाई काखमा च्याएर उहाँले कोठीको छानोबाट हाम फाल्नुभएको रहेछ, सानो बाबु सकुशल भएपनि उहाँको शरिरको तल्लो भागमा चोट लागेको छ, उहाँले त्यसरी एक तलाबाट हाम फाल्ने साहस नगरेको भए थप मानविय क्षति हुने जोखिम रहेछ, थन्न उहाँको साहसले थप क्षति हुन पाएन’’– थापाले भन्नुभयो ।
घरछेउकै अर्को घरमा बस्ने छोरा सहितका परिवारले पहिरोले घर पुरिएर लालबीर वेपत्ता भएको खवर राती नै मोवाईल फोन मार्फत छिमेकीलाई गरेका थिए । तर भिषण बर्षा र पहिरोको कारण रातमा खोजी र उद्धार हुन कठिनाई भएको थियो । खोलाको पारिपट्टीका स्थानीय राती नै घटना गएको ठाउँमा पुगेपनि वारिपट्टीका स्थानीय भने विहान उज्यालो भएपछि खोलामा अस्थायी साँघु हालेपछि मात्रै पारि घटना स्थलमा पुग्न सकेका थिए ।
खोल्सामा बाढीको सतह ठुलो भएकाले स्थानीय सबै जना रातको समयमा जम्मा हुन कठिनाई भएकाले विहान मात्रै बेपत्ता भएका छन्त्यालको खोजी गरिएको र पहिरोले घर पुरिएकै ठाउँमा ढुङ्गामाटोले पुरिएको अबस्थामा शब फेला पारिएको स्थानीय शक्तिराम पुन मगरले बताउनुभयो । ठाउँ ठाउँमा पहिरो गएकाले विहानै प्रहरी घटनास्थलमा आइपुग्न समय लाग्ने भएकाले प्रहरीसंगको समन्वयमा स्थानीयले नै खोजी सुरु गरेर शबलाई बाहिर निकालिएको उहाँले बताउनुभयो । पहिरोले छन्त्यालको घर र गोठ पूर्ण रुपमा पुरिएको छ भने दुई वटा भैँसी समेत मरेका छन् ।
स्थानीय आमा समूहको भनव र अन्य स्थानीयको शौचालय, बाख्रा फर्ममा समेत बाढी र पहिरोले क्षति पुगेको छ । बाढी र पहिरोले चिनाखेत क्षेत्रमा करिब ७० रोपनी बढी खेतीयोग्य जमिनमा क्षति गरेको वडा अध्यक्ष पदमबहादुर पुनले बताउनुभयो । पहिरो र बाढीले सुन्तला बगान र मकै खेतीमा समेत ठूलो क्षति पुगेको छ । अन्य घर र गोठहरु समेत पहिरोको जोखिममा परेका छन । नगरपालिका र प्रहरी प्रशासनको सहयोगमा स्थानीय स्तरमा पुगेको क्षतिको विवरण संकलन गर्ने र सम्भावित जोखिमको अध्ययन गरेर थप क्षति हुनबाट सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरिएको वडा अध्यक्ष पुनले बताउनुभयो ।
घटना स्थलमा स्थानीयबासी, जनप्रतिनिधि सहित जिल्ला प्रहरी, सशस्त्र प्रहरी र बेनी नगर प्रहरी सहितका उद्धारकर्ताहरु पुगेका थिए । उनीहरुको पहलमा पहिरोमा परेर घाईते हुनुभएकी दिलमतीलाई उपचारको लागि प्रदेश अस्पताल बेनीमा ल्याएर उपचार गरिएको थियो । यसैबिच सोमबार विहानपख आएको बाढीले बेनी नगरपालिका–३ दुधेखोला क्षेत्रमा समेत ठूलो क्षति पुगेको छ । दुधेखोलामा आमा समूहको कार्यालय रहेको निजी घर दुधेखोलाको खटानले बगाएको छ भने अन्य दुई घर नदि कटानको उच्च जोखिममा परका छन् । दुधेखोला र म्याग्दी नदीको कटानले विस्थापित हुनुभएका स्थानीय अमर बहादुर थापा मगरले बर्खायाममा बसोबासको बैकल्पिक व्यवस्था नहुँदा समस्या भएको बताउनुभयो ।
उहाँले म्याग्दी नदीको कटान बस्तीतर्फ बढेपछि अहिले बसोबास गर्दै आएको घरमा बस्न सक्ने अवस्था नभएको र छिमेकीको घरमा आश्रय लिएर बस्नुपरेको बताउनुभयो । चिनाखेतमा नदी कटानको क्षतिको स्थलगत निरीक्षणको लागि बेनी नगरपालिकाका मेयर सुरत केसी, प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्य लगायतको ठोली घटनास्थलमा पुग्नुभएको थियो । उहाँहरुले नदी कटानको जोखिममा रहेका घरहरुमा बसोबास नगर्न अनुरोध गर्दै थप क्षति हुन नदिन संरक्षणको लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
बाढी र पहिरोले बेनी भकिम्ली सडकखण्डको ठाउँ ठाउँमा सडक अबरुद्ध बनेको छ । बेनी–बगरफाँट भकिम्ली सडक स्तरोन्नतीको जिम्मा पाएको निर्माण कम्पनीलाई परिचालन गरेर अबरुद्ध बनेको सडकलाई पूर्वाधार विकास कार्यालयले खुलाउन थालेको छ । बाढी र पहिरोले यस वडामा मानवीय र भौतिक रुपमा ठुलो क्षति भएको छ ।
त्यसैगरि जिल्लाको धवलागिरि गाउँपालिका–७ धारापानी तल्लो हाडेभिर स्थित धनकुमारी थापाको घरमाथिबाट पहिरो खस्दा घरभित्र रहेका तीन जनाको उद्धार गरिएको छ । पहिरोले पुरिएको भरभित्र रहेका तीनै जनाको प्रहरी र स्थानीयवासीको सहयोगमा सकुशल उद्धार गरिएको हो । उद्धार गरिएकामध्ये लक्ष्मण थापाको दाहिने खुट्टामा सामान्य चोट लागेको छ भने अन्य दुई जनाको अवस्था सामान्य रहेको छ । बर्षाको कारण म्याग्दीका ग्रामीण सडकहरु समेत अधिकाँश अबरुद्ध बनेका छन् ।