ज्ञानोदय माविमा ‘हाम्रो समाज, राम्रो समाज’ विषयक सचेतनामूलक कार्यक्रम सम्पन्न
- १२ असार २०८३, शुक्रबार
- 3 पटक पढिएको
लागुपदार्थ दुव्र्यसन तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (जुन २६) को अवसरमा म्याग्दीको रघुगंगा गाउँपालिका–३ स्थित ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो समाज, राम्रो समाज’ विषयक एकदिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय म्याग्दीको आयोजना तथा रघुगंगा गाउँपालिकाको आर्थिक सहयोगमा शुक्रबार आयोजित कार्यक्रमका उद्घाटन गर्दै रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले विद्यार्थीहरु मार्फत समाजमा सकरात्मक सन्देश प्रवाह गराउन सकिने भएकाले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजेन्द्र आचार्य, प्रहरी नायब उपरीक्षक राजन कार्की, प्रहरी निरीक्षक भूपेन्द्र गौतम लगायतले लागुपदार्थ दुव्र्यसन, यसको सामाजिक असर, रोकथामका उपाय तथा सुरक्षित समाज निर्माणमा विद्यार्थी र समुदायको भूमिकाबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रममा साइवर अपराध तथा सामाजिक संजालको प्रयोग सम्बन्धि सहजीकरण समेत गरिएको थियो । विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासनिक अधिकृत कुलराज पौडेल लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा वक्ताहरूले युवापुस्तालाई लागुपदार्थको कुलतबाट जोगाउन परिवार, विद्यालय, समुदाय र स्थानीय तहबीचको सहकार्य अपरिहार्य रहेको बताउँदै सचेतनामूलक कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो।
विद्यालयमा आयोजित कार्यक्रम निकै प्रभाबकारी बनेको र आगामी दिनमा समेत यस्ता सचेतनामुलक कार्यक्रमहरुलाई विभिन्न निकायको सहकार्यमा सञ्चालन गरिने विद्यालयका प्रधानध्यापक अर्जुन पौडेलले जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन पक्षले महत्वपूर्ण दिवसको अवसरमा आफ्नो विद्यालयलाई छनोट गरी कार्यक्रम आयोजना गरेकोमा जिल्ला प्रहरी कार्यालय र रघुगंगा गाउँपालिकालाई धन्यबाद ज्ञापन गरेको छ ।

