अन्नपूर्णका कृषक घुम्तीगोठमा भेडाबाख्रा पालनमा आकर्षित
- १२ असार २०८३, शुक्रबार
- कमल खत्री
- 7 पटक पढिएको
कमल खत्री
म्याग्दी १०असार ।अन्नपूर्ण गाउँपालिका– ७ घराम्दीका कुमार पुर्जाले घुम्ती गोठमा भेडाबाख्रा पालन सुरु गर्नुभएको छ । रोजगारको सिलसिलामा साउदीमा १० बर्ष काम गेरेर स्वदेश फर्कनुभएका पुर्जाले गाउँमै स्वरोजगार बन्ने लक्ष्य लिएर बाख्रापालन सुरु गर्नुभएको थियो । केहि बर्ष बाख्रापालन गर्नुभएका उहाँले दुई बर्ष अघिबाट भेडापालन समेत गर्नुहुन्छ ।
‘‘खाडीमा पसिना बगाउँदा घरखर्च जुटाउनु बाहेक थप प्रगति गर्न सकिएन, आफ्नै गाउँठाउँमा मेहनत गरौँ भनेर भेडाबाख्रा पालनमा लागेको हुँ, अहिले ६० वटा भेडा छन, केहि बाख्रा पनि पाल्दै आएको छु, लगानी धेरै नभएकाले भेडाबाख्राको संख्या विस्तारै बढाउँदै लगेको छु’’–पुर्जाले भन्नुभयो । हिउँदयाममा बेसी र बर्खायाममा बुकीतर्फ घुम्ती राखेर भेडाबाख्रालाई पालन गर्दै आउनुभएका पुर्जाले यस पटक गाउँपालिकाले घुम्ती गोठका लागि अत्याबश्यक सामाग्री खरिदमा सहयोग गरेको बताउनुभयो । 
‘‘५० प्रतिशत लागत साझेदारीमा ४० हजार बराबरको त्रिपाल, सोलार, लाईट लगायतका सामाग्री खरिद गरेको छ, पालिकाले दिएको अनुदानले सामान खरिदमा राहत भएको छ, पशुपालन दुःख र परिश्रमको पेसा भएकाले सरकारी तवरबाट निरन्तर प्रोत्साहन हुन आबश्यक छ’’– उहाँले भन्नुभयो । पुर्जाले सञ्चालन गर्नुभएको कुमार कृषि तथा पशुपंक्षी बहुउदेश्यी फर्मलाई तीन बर्ष अघि अन्नपूर्ण गाउँपालिकाले बाख्राको खोर बनाउन समेत अनुदान दिएको थियो ।
अन्नपूर्ण गाउँपालिका–१ दोबाका मनबहादुर पुर्जाले घुम्ती गोठका सामान किन्नका लागि पालिकाले दिएको अनुदानले राहत भएको बताउनुभयो । विगत ३५ बर्षदेखि घुम्तीगोठमा भेडापालन गर्दै आउनुभएका पुर्जाले गोठ सारिरहनुपर्ने भएकाले त्रिपाल, सोलार, लाईट लगायतका अत्यावश्यक सामाग्रीहरु हरेक बर्ष खरिद गर्नुपर्ने बाध्यता रहेकाले यस बर्ष गाउँपालिकासंगको साझेदारीमा रु ४० हजार बराबरको सामाग्री खरिद गरेको जानकारी दिनुभयो ।
पुनम भेडाबाख्रा पालन फर्म सञ्चालन गर्दै आउनुभएका पुर्जाले ४ सय भेडा पाल्दै आउनुभएको छ । बेशीदेखि हिमाली बुकी सम्म प्रशस्त चरनक्षेत्र रहेकाले अन्नपूर्ण गाउँपालिकामा व्यावसायिक भेडापालनको लहर नै छाएको छ । केहि समय अघिसम्म घुम्ती गोठको भेडाबाख्रापालन हराएर जाने अवस्थामा पुगेपनि अहिले भने युवा पुस्ता समेत भेडाबाख्रापालनमा लागेको पुर्जाले बताउनुभयो । ‘‘यो बर्ष केहि नयाँ गोठ थपिएका छन, दुःखको पेसा भएकाले घुम्तीगोठमा बस्न सहज छैन, आम्दानी भन्दा संघर्ष धेरै गर्नुपर्छ, भेडाबाख्रा पालेर ठुलै आम्दानी गर्न नसकेपछि घरखर्च चलाउन र बालबच्चा बढाउन भने भेडापालनको आम्दानीले थेग्छ’’– उहाँले भन्नुभयो ।
अन्नपूर्ण गाउँपालिकाको दाना, दोवा, हिस्तान, पाउद्धारलगायतका ठाउँका स्थानयिले घुम्ती गोठ राखेर व्यावसायिक भेडाबाख्रा पालन गर्दै आएका छन् । परम्परागत रुपमा हुँदै आएको भेडाबाख्रा पालनलाई नयाँ पुस्ताले व्यावसाकिय रुपमा सञ्चालन गर्न थालेका छन् । पशुपालन अन्तर्गत भेडाबाख्रा पालनमा युवाहरुको आकर्षण देखिएको छ । अन्नपूर्ण गाउँपालिका– ३ दानका वडा सदस्य रहनुभएका युवा लाल बहादुर पुनले समेत भेडाबाख्रा पालन सुरु गर्नुभएको छ । रोजगारको लागि विभिन्न खाडी मुलुकमा पुगेर काम गर्नुभएका पुनले गाउँ फर्किएर आफ्नो बुबाले सुरु गरेको भेडाबाख्रा पालनलाई व्यावसाकिय बनाउनुका साथै जनप्रतिनिधिको कार्यभार समेत सम्हाल्नु भएको छ ।
गाउँपालिकाका विभिन्न क्षेत्रमा अहिले ५० वटा बढी घुम्ती भेडीगोठ सञ्चालनमा रहेको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । ‘‘पर्यटन र जलविद्युत पछि अन्नपूर्ण गाउँपालिका पशुपालन र कृषिमा सम्भावनायुक्त छ, हामीले कृषकहरुलाई व्यावसाकिय बनाउन प्रोत्साहनका कार्यक्रमहरु ल्याएका छौँ, यसले आगामी दिनमा पशुपालन र पशुजन्य उत्पादनमा पालिकालाई बलियो बनाउने अपेक्षा गरेका छाँै’’– गाउँपालिका अध्यक्ष पुनले भन्नुभयो ।

गाउँपालिकाले पशुपालनलाई व्यवस्थित र व्यवसायिक बनाउन घुम्ती गोठमा गरिने भेडाबाख्रा पालनको लागि अनुदानमा अत्याबश्यक सामाग्री वितरणसंगै घाँसका विरुवा, औषधी वितरण, उत्पादनमा आधारित अनुदान, भकारो सुधार लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको गाउँपालिका अध्यक्ष पुनले जानकारी दिनुभयो ।
अन्नपूर्णमा घुम्ती गोठमा भेडाबाख्रा पालन संगै चौरीपालन , गाईपालन, भैँसीपालन, कुखुरापालन, माछापालन, बगुंरपालन समेत हुँदै आएको छ । यस गाउँपालिकाबाट पशुपालनबाट मासुजन्य उत्पादनसंगै घिउ, उनलगायतका सामान अन्यत्र निर्यात हुने गरेको छ । गाउँपालिकामा रहेका पशुपालन फर्ममा हाल भेडा ५ हजार २५५ वटा, बाख्रा ९ हजार २६६ वटा, भैँसी २ हजार ३ ८४, गाई २ हजार २५७ वटा र चौरी ३७९ वटा रहको पशु विकास शाखाले जनाएको छ । अन्नपूर्णको घारमा कृष्ण खड्का र दानामा रवि पाध्याले व्यावसाकिय रुपमा भैँसीपालन गर्दै आउनुभएको छ । पाउद्धार र किन्दुमा चौरीपालन हुने गर्छ । गाइभैँसी पालन गर्ने कृषकहरुलाई यस बर्ष वडा नम्बर २, ५, ६ र ७ मा भकारो सुधारको लागि रु १० हजारदेखि २० हजारसम्म अनुदान उपलब्ध गराईएको छ ।
पशुपालक कृषकहरुलाई उत्पादनमा आधारित अनुदान
अन्नपूर्ण गाउँपालिकाले पशुपालक कृषकहरुलाई उत्पादनमा आधारित अनुदान वितरण गरेको छ । गाउँपालिकाको आर्थिक बर्ष २०८२÷०८३ मा बार्षिक स्विकृत कार्यक्रम अन्तर्गत व्यावसाकिय रुपमा पशुपालन गर्दै आएका कृषकहरुलाई उत्पादानमा आधारित अनुदान वितरण गरिएको हो । पालिकाभित्र व्यावसायिक रुपमा पशुपालन गरेका कृषकहरुबाट आवेदन संकलन गरी उत्पादनको आधारमा नगद अनुदान वितरण गरिएको गाउँपालिकाका पशु विकास शाखाका नायब पशु सेवा प्राविधिक प्रकाश घर्ति क्षेत्रीले बताउनुभयो ।
उहाँका अनुसार, आवेदन दिएका मध्ये १२ वटा पशुपंक्षि फर्मलाई पशु पंक्षि विकास तथा पशु सेवा कार्यक्रम सञ्चालन कार्यविधि २०८२ बमोजिम अनुदान तिवरण गरिएको हो । उनीहरुलाई १५ हजारदेखि ३५ हजार सम्म नगद अनुदान उपलब्ध गराईएको छ । यस बर्ष गाउँपालिकाले वडा नम्बर १ को दिपेन्द्र कृषि तथा पशुपंक्षी फर्म वडा नम्बर ३ को पुर्जा बाख्रा पालन फर्म, हेन्सल पशुपंक्षी फर्म, विशाल कृषि तथा पशुपंक्षि फर्म, शिभा थापा कृषि तथा बाख्रा पालन फर्म, वडा नम्बर ४ को भालाबास बाख्रा फर्म, न्यू अन्नपूर्ण कृषि तथा पशु मल्टी एग्रो फर्म, शिव कुमार बाख्रा पालन फर्म, वडा नम्बर ५ को सुवर्ण कृषि तथा पशुपंक्षी फर्म, वडा नम्बर ६ को खड्का बाख्रा पालन फर्म, निलगिरी कृषि तथा पशुपंक्षी फर्म, वडा नम्बर ७ को सिर्जनशिल कृषक समूह, वडा नम्बर ८ को सुतारे एकिकृत कृषि तथा पशुपंक्षी फर्मलाई उत्पादनमा आधारित अनुदान वितरण गरिएको छ । नारच्याङको कोप्चेपानीमा वि.स. २०६१ सालदेखि नै व्यावसाकिय रुपमा बाख्रापालन गर्दै आउनुभएका तुलराम बुढाले गाउँपालिकाबाट नगद अनुदान पाउँदा हौँसला थपिएको बताउनुभयो । करिब १४० वटा बाख्रपालन गर्दै आउनुभएका बुढाले यस बर्ष पालिकाबाट उत्पादनमा आधारित अनुदान कार्यक्रमबाट नगद रु ३५ हजार प्राप्त गर्नुभएको थियो । यस अघि गाउँपालिबाट दुई वटा बोयर बोका अनुदानमा पाउनुभएका बुढाले पशुपालन सम्बन्धि तालिम, औषधी र परामर्श सेवा समेत निरन्तर रुपमा पाउँदै आएको जानकारी दिनुभयो । यसै बर्ष गाउँपालिकाले घुम्ती गोठका लागि अत्यावश्यक सामाग्री वितरण कार्यक्रम अन्तर्गगत दोबाको पुनम भेडाबाख्रा फर्म, ओमप्रकाश भेडाबाख्रा फर्म,दानाको हेन्सल पशुपंक्षी फर्म र घराम्दीको कुमार कृषि तथा पशुपंक्षी बहुउदेश्यीय फर्मलाई रु ४० हजार बराबरको त्रिपाल, म्याट, हेडलाइट, उन काट्ने कैची,सोलार सेट लगायतका सामाग्री खरिदमा २० हजारका दरले अनुदान उपलब्ध गराएको छ । माछामासु तथा डेरी पसल निर्माण सुधार कार्यक्रम अन्तर्गत राम्चे चीज तथा डेरी उद्योग र दोसल्ले बगरको गर्बुजा कृषि तथा पशुपंक्षी बहुउदेश्यीय फर्मलाई रु ४० हजारको दरले अनुदान वितरण गरिएको छ । गाउँपालिकाले यस बर्ष घुम्ती गोठका लागि अत्यावश्यक सामाग्री खदिरमा अनुदान वितरण गर्न रु ३ लाख र उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमको लागि रु ७ लाख ५० हजार बजेट विनियोजन गरेको थियो । घुम्ती गोठका लागी गाउँपालिकाले चालु आर्थिक बर्षमा पशु विकास कार्यक्रम अन्तर्गत रु ५३ लाख बजेट विनियोजन गरेको थियो । यसबर्ष कुकुर बन्ध्याकरण शिविर, घाँसको विउ बेर्ना वितरण, पशुपंक्षीमा आन्तरिक तथा बाह्य परजीवि नियन्त्रण गर्त घरदैलो कार्यक्रम, गाई भैसिमा नश्ल सुधार तथा कृतिम गर्भाधान विस्तार कार्यक्रम,थुनेलो परिक्षण शिविर,वडा स्तरमा गाई भैँसी तथा भेडाबाख्रा पालन सम्बन्धी तालिम, माछामासु तथा डेरी पसल निर्माण सुधार तथा पशुपंक्षीका लागि गोठ खोर भकारो सुधार कार्यक्रमहरु समेत सम्पन्न भएका छन् । (अन्नपूर्ण गाउँपालिकाको फलोसिप लेखनको सहयोगमा तयार गरिएको सामाग्री)
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l