सडक पूर्वाधारलाई सुधार गर्दै मालिका गाउँपालिका
- १२ असार २०८३, शुक्रबार
- कमल खत्री
- 19 पटक पढिएको
कमल खत्री,
म्याग्दी १० असार । मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारको सडकलाई कालोपत्रे सहित स्तरोन्नती गर्न सुरु गरिएको छ । पश्चिम म्याग्दीको मुख्य बजारको रुपमा रहेको मालिका गाउँपालिका– ६ दरबाङ बजारभित्रको सडकलाई फराकिलो बनाएर कालोपत्रे गर्न लागिएको हो । बजारभित्रको सडक साघुरो र कच्ची हुँदा हिलो, धुलोको सास्ती र सवारी आवत जावतमा समस्या भइरहेको समयमा कालोपत्रे योजना सञ्चालन भएपछि स्थानीयबासी उत्साहित बनेका छन् ।
बजारभित्रको सडक कालोपत्रे हुने भएपछि स्थानीयबासी आफैले सडकलाई फरोकिलो बनाउन खग्रसर बनेका छन् । सडकको मार्ग खुलेको करिब दुई दशकपछि बजारभित्रको सडक कालोपत्रे भएर रुप फेरिन लागेको उद्योग बाणिज्य संघ दरबाङ इकाइका उपाध्यक्ष अमृत सापकोटाले बताउनुभयो । ‘‘दरबाङ आफैमा महत्वको बजार हो, गाउँपालिकाको केन्द्र भएकाले यसको अझ बढी महत्व बढको छ, नाली सहितको सडक बन्ने आसाले स्थानीयबासीमा विकासप्रतिको आसा जागेको छ’’– उहाँले भन्नुभयो । वि.स.२०८२ पुस ३० गते दरबाङको तल्लो बजार कालोपत्रेका लागि ठेक्का सम्झौता भएको थियो । सापकोटा बिल्डर्सले रु. एक करोड २६ लाख ८२ हजार आठ सय ८८ रकममा एक किलोमिटर चार सय मिटर सडक कालोपत्र सहित स्तरोन्नती गर्न ठेक्का सम्झौता गरेको छ । सडकलाई पराकिलो बनाएर नाली निर्माण निर्माण भइरहेको छ । दरबाङको माथिल्लो बजार दुई बर्ष अघि नै कालोपत्रे भइसकेको छ ।
उपल्लो दरवाङको जनप्रिय माविको भवनदेखि बेनी–दरवाङ सडकमा जोडिने उपल्लो दरवाङ बजारको भित्रि सडक कालोपत्र गरिएको हो । मालिका गाउँपालिकाले पक्की नाली निर्माण गरी स्तरोन्नती गरेको यस सडकलाई गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले आर्थिक वर्ष २०८०÷०८१ मा रु ६५ लाख बजेट विनियोजन गरेर कालोपत्रे गरेको मालिका गाउँपालिकाका प्रवक्ता अनुप गौचनले जानकारी दिनुभयो । यसअघि गाउँपालिकाको कार्यालयदेखि वडा कार्यालय र उपल्लो दरवाङ जोड्ने सडक ढलान भैसकेको छ । अहिले सञ्चालित सडक कालोपत्रे योजना सम्पन्न भएमा दरबाङ बजारभित्रको सडक सहज हुने प्रवक्ता गौचनले बताउनुभयो ।

मालिका गाउँपालिकाको सबै वडा र बस्तीमा सडक सञ्जालको पहुँच पुगेको छ । एक वडाबाट अर्को वडा जोडिने गरी सडकको सञ्जाल निर्माण भैरहेको छन् । गाउँपालिका, प्रदेश र संघीय सरकारबाट प्राप्त बजेटलाई पालिकादेखि वडा कार्यालय जोड्ने मुख्य सडकलाई स्तरीय बनाउन परिचालन गरिएको गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले जानकारी दिनुभयो । ‘‘गाउँपालिकाको केन्द्र दरबाङदेखि सबै वडाका बस्तीहरु पहाडी भू–भागमा समेटिएका छन, पहिले ट्याक मात्रै निर्माण भएकाले सडकलाई फराकिलो बनाउने, नाली निर्माण सहित स्तरोन्नती गरेर बाह्रै महिना ग्रामीण सडकलाई सुचारु गराउने लक्ष्यका साथ सडक स्तरोन्नती योजनाहरु सञ्चालन गर्दै आएका छौँ’’– गाउँपालिका अध्यक्ष गर्बुजाले भन्नुभयो । यस गाउँपालिकाभित्रका सडक सञ्जाललाई एक आपसमा जोडेर चक्रपथ समेत बनाईएको छ । पालिकाको केन्द्र दरबाङ स्थित छ्यारछ्यारेदेखि निस्कोट–रुम–पात्ले–डाँडागाउँ–सोले–सिस्नेरी–देविस्थान हुँदै दरबाङ फर्कने गरी चक्रपथ तयार भएको छ । दरबाङदेखि बिम–दिच्याम–दुखुलेक–दुखुबेशी–रातोढुङ्गा भएर दरबाङ फर्कने गरी दोस्रो चक्रपथ निर्माण भएको छ । यस गाउँपालिकाको वडा नम्बर १ निस्कोटबाट ताराखोला जोड्ने सडक निर्माणधिन अवस्थामा छ भने वडा नम्बर २ रुमबाट ताराखोला सडक सञ्जालले जोडिएको छ । वडा नम्बर ३ डाँडागाउँदेखि वडा नम्बरको ४ मा समेटीएको सोलेडाँडा भएर तमानखोला सडक सञ्जालले जोडिएको छ । वडा नम्बर ४ फूलबारी–च्युरीबोट–सिस्नेरी हुँदै सोलेडाँडा हुँदे बागलुङको तमानखोला र वडा नम्बर ५ देविस्थानदेखि धवलागिरी गाउँपालिकाको ताकम सडक सञ्जालमा जोडिएको छ ।
गाउँपालिकाको केन्द्रदेखि वडा कार्यालय जोड्ने सडक स्तरोन्नती
चालु आर्थिक बर्षमा दरवाङदेखि फूलबारी–च्युरीबोट–सिस्नेरी हुँदै बागलुङको तमानखोला जोड्ने सडकको दरवाङ–फूलबारी खण्ड स्तरोन्नति भएको छ । चालु आर्थिक वर्ष २०८२–८३ मा प्रदेश समपूरक शिर्षक अन्तर्गत गाउँपालिकाले रु एक करोड बजेट बजेट विनियोजन गरेको यस आयोजना निर्माणका लागि मंगला कन्ट्रक्सन बाबियाचौरले रु ६५ लाख २३ हजार ४३२ मा ठेक्का सम्झौता गरेको थियो । यस योजनाबाट सडकलाई कम्तीमा छ मिटर फराकिलो बनाइएको छ । करिब ५ सय मिटर सडकलाई नाली, ग्रेड, घुम्ती मिलाउने, ग्याबियन, पलम पर्खाल निर्माण र एक ठाउँमा कजवे निर्माण छ । निर्माण व्यवसायिले यस योजनाको काम समयमै सम्पन्न गरिसकेका छन् । गाउँपालिकाको केन्द्र दरबाङदेखि वडा नम्बर १ को कार्यालय निस्कोट जोड्ने सडक स्तरोन्नती गरिएको छ । संघीय समानीकरण अनुदान तर्फ आर्थिक बर्ष २०७७÷०७८देखि गाउँपालिकाले रु ३ करोड ६० लाख बजेटबाट ठेक्का मार्फत अघि बढाएको यस सडक स्तरोन्नती योजना निर्माण व्यवसायिको ढिलासुस्तीको कारण यसै बर्ष मात्रै सम्पन्न भएको छ ।
सडकलाई पराकिलो बनाउने, ढलान, ग्याविन जाली, पलम र मेसीनरी पर्खाल लगाएर सडक स्तरोन्नती गरिएको छ भने निस्कोट गाउँदेखि ताराखोला जोड्ने गरी करिब साढे २ किलोमिटर नयाँ सडकको ट्याक समेत निर्माण भएको गाउँपालिकाका भौतिक तथा पूर्वाधार शाखाका प्रमुख सिनियर सब इन्जिनियर दिपक सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार, वडा नम्बर २ रुमको मुख्य गाउँलाई पालिकाको केन्द्रसंग सिधा सम्पर्क जोड्ने अदिभारा–टाक्से–रुम सडकलाई समेत स्तरोन्नती गरि सञ्चालनमा ल्याईएको छ । यस सडकखण्डको टाक्से खण्डमा पहिरोले सडक बगाएपछि वि.स. २०७७ सालदेखि बन्द भएको सडकखण्डलाई नयाँ ट्याक निर्माण र स्तरोन्नती गरेर सञ्चालनमा ल्याईएको हो । वि.सं. २०८१ पुस २५ गते रु दुई करोड ४८ लाख ८७ हजार छ सय छ मा विके कन्स्ट्रक्सनसँग सम्झौता भएको यस योजनाको करिब ८० प्रतिशत भौतिक प्रगति भएको गाउँपालिकाले जनाएको छ । ‘‘पहिरो गएको टाक्से खण्डमा साढे दुई किमी नयाँ मार्ग खनिएको छ, टेवा र पलम पर्खाल निर्माण, घुम्ती र ग्रेड सुधारको काम सकेर अप्ठेरो केहि ठाउँमा ढलान गर्ने तयारी छ’’–सब इञ्जिनियर सापकोटाले भन्नुभयो ।
पहिरोले सडक बगाएपछि विगत ६ बर्षदेखि रुमका स्थानीयले निस्कोट र अदिभाराबाट–स्याउलुङ–बेली–जेम भएर घुमाउरो बाटोबाट यात्रा गर्दै आएका थिए । सडक पुननिर्माण भएपछि अदिभारादेखि रुमको सडक यात्रा ६ किलोमिटरमा छोटिएको छ । जिल्लाको सबैभन्दा ठुलो जनसंख्या भएको वडामा पर्ने रुम गाउँको सडकलाई ढलान गरी स्तरोन्नती गर्ने काम भइरहेको छ । रुम–ताराखोला सडक योजना मार्फत रुम गाउँमा सडक ढलानको तयारी भएको हो । गण्डकी प्रदेश सरकारले रु. तीन करोड बजेटको स्रोत सुनिश्चितता गरेपछि पूर्वाधार विकास कार्यालय म्याग्दील वि.स २०८२ असार ४ गते सोमरस निर्माण सेवासँग रु. दुई करोड ११ लाख ३० हजारमा ठेक्का सम्झौता भएको यो योजना मार्फत सात सय मिटर सडक ढलान हुने चरणमा छ । रुमको गाउँफाँटमा सडकलाई पराकिलो बनाई नाली निर्माण गरेर सडक ढलान हुन लागेकाले यसले गाउँभित्रको यातायात आवत जावतलाई सहज बनाउनुका साथै गाउँको पर्यटकीय आकर्षण बढाउन समेत सहयोग पुग्ने मालिका गाउँपालिका–२ का वडा अध्यक्ष उदयकुमार बुढाथोकीले बताउनुभयो । गाउँपालिकाको केन्द्र दरबाङदेखि वडा नम्बर ५ देविस्थान जोड्ने सडकखण्डमा संघीय सहकारी विकास मन्त्रालयबाट सडक स्तरोन्नती भइरहेको छ । चालु आर्थिक बर्षमा स्थानीय पूर्वाधार विकास आयोजना पोखराबाट रु ३ करोड बजेट परिचालन गरेर राजदाङ–पनथोक खण्डमा सडकलाई ग्रेड मिलाउने, ढलान गर्ने काम भइरहेको छ । गण्डकी प्रदेश सरकारबाट दरवाङ –बिम–दिच्याम सडक र अदिभारा– डाँडागाउँ–सोले–तमान–बुर्तीवाङ सडक समेत स्तरोन्नती भइरहेको छ । प्रदेश सरकारकै लगानीमा अदिभारा र छ्यारछ्यारेमा पक्की मोटरेवल पुल निर्माण भएपछि सवारी आवत जावतमा सहजता मिलेको छ ।
प्रशासकीय भवनको लागि जग्गा टुङ्गो लाग्न सकेन
मालिका गाउँपालिकाको प्रशासकीय भवन निर्माण नहुँदा भाडाको घरबाट सेवा प्रवाह हुँदै आएको छ । गाउँपालिकाले गाउँसभाबाट प्रशासकीय भवन निर्माणको लागि जग्गा व्यवस्थापनको लागि आबश्यक प्रकृया अघि बढाएको थियो । निःशुल्क रुपमा जग्गा प्राप्ती नभएपछि उपल्लो दरबाङमा जग्गा खरिद प्रकृया अघि बढाइएको भएपनि अख्तियारमा मुद्धा परेको कारण जग्गा खरिद हुन नसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार, अहिले पालिकाले भाडामा लिएर कार्यालय सञ्चालन गरिरहेको छ भने बार्षिक रुपमा ६ लाख घरभाडा दिदै आएको छ ।
भाडाको भवन साँघुरो भएकाले सेवा प्रवाहमा समेत समस्या हुँदै आएको छ । यस गाउँपालिकाले वडा स्तरमा वडा कार्यालय र स्वास्थ्य चौकीको भवन निर्माणलाई भने अघि बढाएको छ । वडा नम्बर ३ डाँडागाउँ र वडा नम्बर ५ देविस्थानमा वडा कार्यालय भवन निर्माण भएका छन् । वडा नम्बर २ रुममा स्वास्थ्य चौकी र वडा नम्बर ३ डाँडागाउँमा स्वास्थ्य इकाईको भवन निर्माण हुनुको साथै प्रसुती गृह भवन निर्माणधिन अवस्थामा रहेको छ । दरबाङमा रहेको आधारभूत अस्पतालको भवन निर्माण गर्न आगामी आर्थिक बर्षका लागि संघीय समानीकरण अनुदान तर्फ रु ९० लाख बजेट विनियोजन भएको गाउँपालिकाले जनाएको छ । पहिरोको जोखिममा परेको ओखरबोट माविको विद्यालय भवन निर्माणका साथै विभिन्न विद्यालयहरुमा भौतिक पूर्वाधार निर्माणमा गाउँपालिकाले जोड दिएको छ ।
(मालिका गाउँपालिकाको मिडिया फलोसिप लेखनको सहयोगमा तयार पारिएको सामाग्री)
default
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l