रघुगंगा गाउँपालिका : प्रकृति, संस्कृति र इतिहासको अनुपम संगम

  • २८ जेष्ठ २०८३, बिहीबार
  • कमल खत्री
  • 3 पटक पढिएको

कमल खत्री
म्याग्दी, २८ जेठ । म्याग्दी जिल्लाको उत्तर–पूर्वी भूभागमा फैलिएको रघुगंगा गाउँपालिका प्रकृति, संस्कृति र इतिहासको अनुपम संगम हो । प्राकृतिक सुन्तरता र भौगोलिक विविधताले भरिपूर्ण यस गाउँपालिका मौलिक कला, संस्कृति, धार्मिक, ऐतिहासिक धरोहरले धनी छ । पवित्र कालीगण्डकी नदीको तीरदेखि विश्वको सातौँ अग्लो धौलागिरि हिमाल (८,१६७ मिटर) को पूर्वी मोहोडा सम्म फैलिएको यहाँको मनोरम भूगोलले जो कोहीलाई पनि मन्त्रमुग्ध बनाउँछ । राहुघाट र कालीगण्डकी नदीको संगमस्थलदेखि धौलागिरि आइसफल आधार शिविरसम्म फैलिएको रघुगंगाको नाम पनि धौलागिरिको काखबाट बग्ने रघुगंगा नदीबाट रहन गएको हो । मगर, छन्त्याल, थकाली, ठकुरी, बाहुन, क्षेत्री, दलित लगायतका विभिन्न समुदायको सहअस्तित्वले यहाँको सामाजिक संरचना जीवन्त बनेको छ । विविधतायुक्त संस्कृति, चालचलन र परम्पराले रघुगंगालाई केवल एउटा भूगोलको गाउँपालिका नभई जीवित सांस्कृतिक संग्रहालय बनाएको छ ।

प्रकृतिको अनुपम उपहार :

रघुगंगाको परिचय केवल पहाड र हिमालसँग मात्र सीमित छैन । यहाँका वनजंगल, झरना, तालतलैया, नदी, हरिया डाँडाकाँडा र गुराँसले ढाकिएका पहाडहरूले पर्यटकलाई डाकिरहेका छन् । धौलागिरि आइसफल पदमार्ग , धौलागिरि सेञ्चुरी पदमार्ग र टोड्के–धौलागिरी पानोरमा पदमार्ग यस क्षेत्रका प्रमुख पर्यटकीय मार्ग हुन् । यी पदमार्गले पर्यटकलाई हिमालको फेदीसम्म पु¥याउँदै प्राकृतिक सौन्दर्यको अद्भुत अनुभूति दिलाउँछन् ।

म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङ जोड्ने परम्परागत पदमार्ग सडक निर्माणसंगै विस्थापित बनेको अवस्थामा रघुगंगा मुस्ताङलाई ट्रेकिङ्ग टे«ल मार्फत जोड्ने ट्रान्जिटको रुपमा रहेको छ । यस गाउँपालिकाबाट सुरु हुने सेन्चुरी र पानोरमा ट्रेक समेत समेटिने आइसफल पदमार्ग मुस्ताङको लेते जोेडिने भएकाले यस क्षेत्रमा पूर्वाधार विकास गर्नुपर्ने ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताउनुभयो ।

‘‘रघुगंगामा पर्यटन विकासको सम्भावना अथाह छ, छोटो र लामो दुरीमा क्याम्पिङ्ग टे«किङ्ग नै गर्न सकिने ठाउँहरु पनि प्रशस्त छन, तर त्यसको लागि पदमार्ग, पर्यटन सुचनाबोर्ड, संकेत पोल, खानेपानी, आश्रयस्थल, सञ्चार लगायतका अत्यावश्यक पूर्वाधार बनाउनुपर्छ’’– आचार्यले भन्नुभयो । टोड्के–धौलागिरी पानोरमा र सेन्चुरी पदमार्ग समेत आइसफल पदमार्गमै जोडिने भएकाले धौलागिरी आइसफल पदमार्गका पर्यटकीय गन्तव्यहरुलाई समेटेर नक्साङ्कन गर्ने र विस्तृत अध्ययन प्रतिवेदनका आधारमा पूर्वाधार बनाउन जरुरी रहेको उहाँको भनाई छ ।

टोड्के–धौलागिरी पानोरमा ट्रेक पर्यटकीय स्थल टोड्केबाट मालिकाधुरी, ठाडाखानी, कुइनेखानी,चौरखानी भएर घ्याँसीखर्क तथा धौलागिरी सेञ्चुरी पदमार्ग झिँ, पाखापानी, कोटगाउँ, रायखोर, मुलपानी हुँदै घ्याँसीखर्कमा आइसफल पदमार्गमा जोडिएको छ । घ्याँसीखर्क हुदै आइसफल आधार शिविर भएर कालीबराह ताल पुगेर मुस्ताङको लेते जोडिएको छ भने अर्कोतर्फ गायत्री मन्दिर, पिप्ले, भगवती, रुइसे, भेडिओडार, मुटुकाटे, सोवाङ धुरी हुदै आधार शिविर पुग्ने धौलागिरि आईसफल पदमार्गको पहिचान भएको छ । पाँच दिनदेखि दुई सातासम्मको लामो र छोटो दूरीमा पदयात्रा गर्न सकिने विकल्पसहित पहिचान भएको धौलागिरी आइसफल पदमार्गले रघुगंगा गाउँपालिकाको पिप्ले, भगवती, बेगखोला, दग्नाम, चिमखोला, कुईनेमंगले अन्नपूर्ण गाउँपालिकाको दोबा, भुरुङ, दानालगायतको ठाउँको उच्च पहाडी डाँडाको धुरी हुँदै मुस्ताङको लेते जोडिएको छ ।

२०६८ सालमा पहिलोपटक सम्भाव्यत्ता अध्ययन गरिएको धवलागिरि आइसफल पदमार्गको पूर्वाधार विकास र प्रवद्र्धनका लागि रघुगंगा गाउँपालिकाले विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । धौलागिरि हिमालको आधार शिविरलाई समेटिएको एक सय ८२ किलोमिटर लामो आइसफल पदमार्गको डिपीआर तयार गरी सङ्घीय र प्रदेश सरकारमार्फत पूर्वाधार बनाउन पहल थालिएको गाउँपालिकाका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, चिमखोला–घ्याँसीखर्क, हुँदै आइसफल आधार शिविर पुग्ने पदमार्गमा पर्यटन मन्त्रालय मार्फत पदमार्ग निर्माण भएपनि कोखेभिर र धौलागिरी हिल भ्यू पोइन्ट पहाडमा अझै पदमार्ग बन्न सकेको छैन । आधार शिविरदेखि कालीबराह हुँदै मुस्ताङको लेते निस्कने परम्परागत गोरेटोबाटो र भगवतीको रुइसेदेखि पछेत्राधुरी, सोबाङधुरी, लोसधुरी, दहबुकी, फेदी, सुगुरथला हुँदै ससलधारा क्षेत्रसम्म पहिचान गरिएको बाटोमा सिँढी चिनेर पदमार्गलाई स्तरोन्नति गर्नुपर्ने काम बाँकी रहेको छ ।

धवलागिरि र अन्नपूर्ण रेञ्जका दर्जनौँ हिमाललाई नजिकबाट अवलोकन गर्न सकिने यस पदमार्गमा डाँफे, मुनाल, कालिज, कस्तुरी, झारल, नाउर, घोरल, थार, रतुवा, हिमचितुवालगायतका जङ्गली पशुपंक्षी र बासस्थानलाई समेत प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । यस पदमार्गमा हिमालको हिउँ खसेको दृष्य (आइसफल) सँगै कालिबराह, लाटीबराह, निली बराह, सेती बराह र पहेँलीबराह ताल थप आकर्षणको रुपमा रहेका छन् । कुमारी पदमार्गको रुपमा रहेको धौलागिरी आइसफल पदमार्गलाई सञ्चालनमा ल्याउन सकेमा यसले रघुगंगा संगै म्याग्दी र मुस्ताङको पर्यटन विकासमा नयाँ आयाम सिर्जना गर्ने रघुगंगा गाउँपालिका–७ चिमखोलाका वडा अध्यक्ष थक बहादुर पाईजाले बताउनुभयो ।

यस गाउँपालिकामा लामो दुरीका ट्रेकिङ्ग ट्रेलका अलवा रुइसे, भेडिओडार, सोवाङधुरी, टोड्के, मालिका धुरी, रिखार, नांगीडाँडा, नेपालकै लामो पुलहरुको सूचिमा पर्ने बेग–बाँदुक जोड्ने पुल लगायतका छोटो दुरीमा रहेका पर्यटकीय गन्तव्यहरूको पर्यटन विकास र प्रचार प्रसारमा समेत जोड दिईएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले बताउनुभयो । ‘‘ गाउँपालिकाले पदमार्ग, भ्यूटावर, आश्रयस्थल, पार्क लगायतका पर्यटन पूर्वाधार बनाउने काम गर्दै आएको छ, पहिचान भएका गन्तव्यहरुको प्रचार प्रसार र प्रवद्र्धनको अभियानमा पनि गाउँपालिका जुटिसकेको छ, पर्यटन मार्फत रघुगंगाको समृद्धिमा अथाह सम्भावना छ’’– उहाँले भन्नुभयो । यस बर्ष धार्मिक पर्यटकीय स्थल मालिका धुरी र रिखार जाने पदमार्ग निर्माण भएको छ । यस गाउँपालिकाको वडा नम्बर ४ दर्मिजामा रहेको तातोपानीको कुण्ड प्राकृतिक चिकित्सालयको रुपमा परिचित छ ।
धार्मिक आस्थाका केन्द्रहरू :


धौलागिरि हिमशृङ्खलाको फेदीमा वडा नम्बर ८ मा अवस्थित रिखार धार्मिक र प्राकृतिक पर्यटनको दुर्लभ संगम हो । करिब ४,६०० मिटर उचाइमा रहेको यस पवित्र स्थलमा हरेक वर्ष हजारौँ श्रद्धालु पुग्ने गर्छन । तालमा रहेको डुङ्गा आकारको ढुङ्गामा बनेको मन्दिरले यस क्षेत्रको सौन्दर्यलाई अझ विशिष्ट बनाएको छ । जनैपूर्णिमा पर्वमा विशेष पूजाआजा हुने रिखारलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने सम्भावना छ । गायत्री मन्दिर, टोड्केको स्वर्गाश्रम, बेगको धौलेश्वर महादेव, भगवती कोत, नौलीबराह, नांगीदेवी, मालिका धुरी, मण्डली थान, कमलजैसी थान, भुमेथान लगायतका धार्मिक स्थलहरूले रघुगंगाको आध्यात्मिक पहिचानलाई बलियो बनाएका छन् । मुक्तिनाथ जाने पुरानो पदमार्गको प्रवेशद्वारका रूपमा रहेको गायत्री मन्दिरमा परापुर्व कालमा ऋषिहरुले तपस्या गरेर ज्ञान आर्जन गरेको मान्तयता छ । यस क्षेत्रमा कलात्मक र पौराणिक किसिमका मठमन्दिर छन् भने ध्यानआश्रमको लागि यो ठाउँ उपयुक्त मानिन्छ । त्यस्तै भगवती कोत म्याग्दीकै पुराना कोतमन्दिरमध्ये एक मानिन्छ । भगवती कोतले यस क्षेत्रको ऐतिहासिक विरासतलाई प्रतिबिम्बित गरेको छ । १७ औँ शताब्दीको विरासतसँग जोडिएको भगवती कोत मन्दिर धार्मिक पर्यटकीय स्थलको रुपमा चिनिन्छ । अहिले निकै चर्चामा रहेको पर्यटकीय स्थल रुइसे तत्कालिन बाइसे चौबिसे राज्यको पालामा शासन चलाएको ऐतिहासिक ठाउँको रुपमा पनि परिचित छ । यहाँ तत्कालिन राजाले बनाएको दरबारको भग्नाबशेष, आराम गर्ने ढुंगा, तत्कालिन समयमा प्रयोग गरेका पानीका कुवा, हात्ति बाध्ने ठाउँ लगायतका प्रमाणहरु अझै भेटिन्छन् । वडा नम्बर ३ को रानीपौवा ऐतिहासिक स्थल हो । बिक्रम सम्वत १८६३ मा तत्कालिन श्री माईली महारानी सुवर्ण प्रभा देवी शाह मुक्तिनाथको तिर्थयात्रा गर्न आउँदा तिर्थयात्रीको सहज बसोबासको लागि पिप्लेको रानीपौवामा पौवा निर्माण गरिएको थियो । दोस्रो विश्वयुद्धमा बेलायतको सर्बोच्च सैन्य पदक भिक्टोरिया क्रस प्राप्त गर्ने रघुगंगा गाउँपालिका–१ बादुँकका दिवंगत तुलबहादुर पुनको नामले यस गाउँपालिकाको चिनारीलाई अन्तराष्ट्रिय स्तरमा समेत चिनाएको छ । गाउँपालिकाले पुनको नाममा सङ्ग्राहलय बनाउने योजना अघि सारेको छ ।
मौलिक कला र संस्कृतिको आकर्षण :


रघुगंगाको अर्को परिचय मौलिक कला र संस्कृति हो । यहाँका थालीनाच, पुख्र्यौली नाच, सोरठी, मादले मारुनी, यानीमाया, सिरफुले,साईलो भाका, सेदो भाका, रत्यौली, नौमती पञ्चेबाजा र भजन–कीर्तनले मौलिक कला र संस्कृतिलाई जीवन्त बनाएका छन् । विशेषगरी वडा नम्बर ७ चिमखोला थालीनाचको उद्गमस्थलका रूपमा परिचित छ । मौलिक नृत्यको रुपमा रहेको थाली नाच अहिले नेपाल मात्र नभई विश्वका विभिन्न देशमा लोकप्रिय बनेको छ । थाली नाचकी सर्जक चिमखोलामा जन्मनुभएकी हिरामाया श्रीष पुन जीवित इतिहासको रुपमा रहनुभएको छ । थाली नाच, पुख्र्यौली लगायतका मौलिक कला र संस्कृतिमा धनी मानिएको चिमखोलालाई गाउँपालिकाले सांस्कृतिक गाउँ घोषणा गरेर यसको संरक्षण र प्रवद्र्धनमा विशेष ध्यान दिएको छ । दग्नामको भूमेपूजामा हुने लिङ्गो जुधाउने परम्परा रघुगंगाको अर्को अनौठो सांस्कृतिक सम्पदा हो । करिब चार सय वर्ष पुरानो इतिहास बोकेको यो परम्परा प्रकृतिपूजासँग जोडिएको छ र अहिले पर्यटकको आकर्षणको केन्द्र बनेको छ । मगर समुदायको बाहुल्य बसोबास रहेका बाँदुक, बेग, दग्नाम, दर्मिजा, झिँ, पाखापानी, चिमखोला लगायतका ठाउँमा प्रकृति पूर्जाको रुपमा भूमेपूजालाई उत्सवका रुपमा मनाउने गरिन्छ । यस क्षेत्रमा भूमे पूजाले आन्तरिक पर्यटन प्रवद्र्धनको माध्ययम बन्ने गरेका छन् । म्याग्दीमा छन्त्याल समुदायको उद्गम थलोको रुपमा रहेको झिङखानी ऐतिहासिक थलोको रुपमा चिनिन्छ । आफ्नो पुर्खाहरुको उद्गम थलोमा रहेको झिङखानी भूमेथान यहाँका स्थानीयबासीको धार्मिक आस्थाको धरोहरको रुपमा रहेको छ ।

साहसिक पर्यटनको नयाँ गन्तव्य :


कुइनेमंगले , चिमखोला, पाखापानी, बेग, दग्नामलगायतका क्षेत्रमा गरिने परम्परागत भीर मह शिकार साहसिक पर्यटनको महत्वपूर्ण आधार हो । अग्ला चट्टानमा झुन्डिएर गरिने मह शिकारले विदेशी पर्यटकलाई विशेष आकर्षित गर्ने गरेको छ । यसलाई स्थानीय जीवनशैली, साहस र परम्पराको अनुपम मिश्रणका रूपमा हेरिन्छ । यसका अतिरिक्त विभिन्न बस्तीमा रहेका तामा खानी, घुम्ती गोठ, भेडाबाख्रा पालन, जडीबुटी संकलन र हिमाली जनजीवनको अध्ययन पनि रघुगंगामा पर्यटन विकासमा नयाँ सम्भावनाहरु हुन् ।

पर्यटनसँग जोडिँदै स्थानीय अर्थतन्त्र :
पर्यटन विकाससँगै गाउँपालिकाले स्थानीय आयआर्जन वृद्धि र जीवनस्तर सुधारलाई प्राथमिकता दिएको छ । झिँ, रायखोर, मौवाफाँट र रानीपौवामा होमस्टेहरू सञ्चालनमा आएका छन् । यि होमस्टेहरुलाई व्यवस्थित बनाउँदै पर्यटकलाई स्थानीय खानपान, संस्कृति र जीवनशैलीसँग प्रत्यक्ष परिचित गराउन सकेमा यसले यहाँका स्थानीयको आयआर्जन बृद्धि गराउन सहयोग पु¥याउनेछ । होमस्टेमा पुग्ने पाहुनाहरूलाई स्थानीय कला–संस्कृतिको प्रस्तुति गरिनुका साथै अर्गानिक कृषि उत्पादनबाट तयार गरिएका परिकारहरू खुवाउने परम्पराले पर्यटनलाई स्थानीय अर्थतन्त्रसँग जोड्नेछ ।

default       

????????????????????????????????????default 

 

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l